विराटनगर / बजारमा प्रयाप्त पेट्रोलियम पदार्थ भएपनि व्यवसायिहरुले जवरजस्ती अभाव सृजना गर्दा पूर्व क्षेत्रको जनजीवन आक्रान्त बनेको छ । बजारमा चरम विकृति देखिएपनि त्यसलाई निरुत्साहित गर्न र तस्करी नियन्त्रण गरी वितरण प्रणाली सहज बनाउन जिल्ला प्रशासन कार्यालयले प्रभावकारी कमद चालेको छैन । विहीवारदेखि सोमवारसम्म निगम क्षेत्रीय कार्यालय विराटनगरले ४० लाख लिटर डिजल र पेट्रोल व्यवसायिहरुलाई उपलव्ध गराइसकेको छ । यति ठूलो परिमाणमा इन्धन आपुर्ती हुँदा पनि पूर्वका सतप्रतिशत पेट्रोल पम्पहरुमा ताल्चा झुण्डिएको छ । व्यवसायिहरुबाट नियोजितरुपमा भइरहेको पेट्रोलियम पदार्थ तस्करीमा निगम व्यवस्थापनको पनि सहयोग र सहभागिता रहेको आशंका गरिएको छ । इन्धन लिएर बिक्री नगर्ने पम्पहरुमाथि कारवाही नगर्ने उसको रवैयाले त्यही कुराको पुष्टि हुने नेकपा माओवादी केन्द्र विराटनगर नगर संयोजक नमिता न्यौपानेले बताईन । नेकपा माओवादी केन्द्र विराटनगर समितिले मंगलवार जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापन पत्र बुझाउँदै इन्धन कारोवारमा भइरहेको कालाबजारी अन्त्य गर्न माग गरेको छ । निगमबाट आवश्यक भन्दा धेरै परिमाणमा इन्धन लिएर पनि पम्पमा नबेची सिधै भारतीय बजारमा पु¥याउने धन्दा चलेकोले त्यसलाई तत्काल नियन्त्रण गर्न र दोषिलाई कारवाही गर्न माग गरिएको छ । ‘भारतबाट पेट्रोल आउँथ्यो, तर अहिले नेपालबाट भारत जाँदैछ भन्ने सुनेका छौं,’ नेकपा माओवादी केन्द्रकी विराटनगर संयोजक नमिता न्यौपानले भनिन, ‘ट्यांकरका ट्यांकर पेट्रोल तस्करी भएको सूचना हामीलाई आएको छ ।’ अब तस्करी नरोकिने र आम उपभोक्ता हितको पक्षमा प्रशासनल ध्यान नदिने हो भने पार्टीकै सक्रियतामा आफैं इन्धन तस्करलाई नियन्त्रणमा लिने र पम्पहरुबाट जवरजस्ती इन्धन वितरणको काम गर्न वाध्य हुने उनले चेतावनी दिईन । गत बिहीबार र शुक्रवार मात्र आयल निगम क्षेत्रीय कार्यालयले २० लाख लिटर इन्धन वितरण गरेको थियो । शनिवार बिदा भएकोले वितरण नभएको तर शनिवार व्यवसायिहरुले पनि पम्प बन्द राखेर इन्धन बिक्री गरेका थिएनन् । आइतवार २ लाख लिटर डिजल र १ लाख ५० हजार लिटर पेट्रोल वितरण गरेको निगमले सोमवार करिव ५ लाख लिटर इन्धन बिक्री गरेको थियो । कोशी र सगरमाथा अञ्चलमा दैनिक ४ लाख लिटर वइन्धनको माग भएपनि पछिल्लो पाँच दिनमा निगमले ४० लाख लिटर इन्धन बिक्री गरिसकेको छ तर बजारमा चरम अभाव छ । सबै पम्पहरु बन्द छन् । यसले इन्धन तस्करी संस्थागत भइरहेको र त्यसमा निगमकै क्षेत्रीय पदाधिकारीहरुको मिलेमतो रहेको आरोप लाग्न थालेको छ । स्रोतका अनुसार निगमका प्रमुख कर्मचारीले प्रति लिटर २ रुपैंया अतिरिक्त रकम लिएर तस्करी गर्ने व्यवसायिहरुलाई मागजति परिमाणमा इन्धन उपलव्ध गराइरहेका छन् । जसले गर्दा व्यवसायिहरु कसैलाई नटेरी तस्करीमा लागिपरेका छन् । सहज तरिकाले ९० प्रतिशत पेट्रोलपम्पले इन्धन बिक्री नगर्नु र आयल निगमबाट पर्याप्त पेट्रोल गएको तथ्यांक दिँदा पनि अभाव सिर्जना हुनु तस्करी भएको पब्लिक फोरम विराटनगरका अध्यक्ष उत्तम ढुंगेलले बताए । उपभोक्ताहरू इन्धन अभावमा छट्पटिएको लामो समय हुँदा पनि इन्धन बिक्री नगर्नुको कारण सरोकारवालाले खोजि गरेका छैनन् । निगमलगायत सरोकारवाला निकायहरु मौन बस्दा यतिबेला ठूलो परिमाणमा नेपालबाट भारततर्फ इन्धन तस्करी भइरहेको सर्वत्र आशंका छ । जसले गर्दा यहाँका उपभोक्ताहरु कालोबजारीमार्फत महंगोमा इन्धन किन्न बाध्य छन् । हरियो घाँसमा व्यवसायी लोभिए ः सहायक प्रजिअ इन्धनको व्यापक तस्करी हुँदा पनि प्रशासन मौन भएको भन्दै मंगलबार जिल्ला प्रशासन पुगेका माओवादी केन्द्रका नेतालाई मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषराज पौडेलले घुमाउरो पाराले तस्करी भइरहेको स्वीकार गरे । ‘हरियो घाँस देखेपछि गाई लोभिनु स्वभाविक हो,’ पौडेलले भने, ‘हामी त्यसलाई रोक्ने प्रयास गर्छौं ।’ उनले आयल निगम आफूहरुको मातहत नभएको कारण समस्या समाधानमा पहल गर्न नसकेको बताए । ज्ञापन पत्र लिएर पुगेका माओवादी विराटनगर संयोजक नमिता न्यौपानेले भने आफूहरुले उठाएका माग पुरा नभए तत्कालै कडा आन्दोलन गर्ने चेतावनी दिए । इन्धनको चरम अभाव हुँदा पनि प्रशासन टुलुटुलु हेरेर बसिरहेको र समस्या समाधानका लागि एक अर्काको कार्यक्षेत्र भन्दै पन्छिने गरेको भन्दै न्यौपानेले आयल निगम र प्रशासननै तस्करीमा संलग्न भएको हो कि भन्ने प्रश्न समेत गरे ।