धरान । सुनसरीका विभिन्न स्थानबाट प्रहरीले करिब तीन सय केजी गाँजासहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सुनसरीको इटहरी र धरान क्षेत्रबाट २ सय ९३ केजी गाँजासहित दुई पक्राउ परेका हुन् । इटहरी उपमहानगरपालिका–१३ सोमबारेबाट प्रहरीले शनिबार साँझतिर २५ केजी गाँजासहित दुईलाई पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा कोशी प्रदेश लागूऔषध ब्युरो विराटनगर र प्रहरी चौकी खनारबाट खटिएको संयुक्त प्रहरी टोलीले दुई बोरामा प्याक गरेको अवस्थामा बरामद गरेको हो । पक्राउ पर्नेमा २४ वर्षीय आकाश पटेल र २७ वर्षीय रवि सरदार छन् । उनीहरूलाई इटहरी–१३ गणेश पेट्रोल पम्पअगाडि दुई वटा बोरा लिई बसिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

बोरा जाँच गर्दा प्याक गरिएको अवस्थामा २५ केजी गाँजा बरामद गरिएको र उनीहरूलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै धरानको जङ्गलबाट दुई सय ६८ केजी गाँजा बरामद गरेको हो । धरान उपमहानगरको सीमा क्षेत्रबाट प्रहरीले गस्ती गरिरहेको समयमा भरियाहरूले बोरा फ्याँकेर भागेपश्चात् जाँच गर्दा गाँजा बरामद भएको जनाएको छ । शनिबार राति साढे ११ बजेतिर धरान–१७ र २० को सीमा क्षेत्रमा रहेको चुम्पुले खोलाको जङ्गलबाट प्रहरीले गाँजा बरामद गरेको हो ।

गोप्य सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले जाँच गर्न पुग्दा भारी बोकेर आउँदै गरेका १०–११ जना भरियाहरू बोरा फालेर जङ्गलतर्फ फरार भएको प्रहरीले जनाएको छ । १० वटा बोरामा प्याक गरिएको अवस्थामा गाँजा बरामद भएको हो । प्रहरीले उक्त गाँजा इलाका प्रहरी कार्यालय धरानमा ल्याई राखेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्नहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।