विराटनगर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आज (सोमबार) बाट काठमाडौँमा सुरु हुँदै छ । पहिलो संस्करणको निराशालाई पछाडि पार्दै विराटनगर किङ्स यसपटक उपाधि जित्ने दृढ सङ्कल्पका साथ मैदानमा उत्रँदै छ ।
नयाँ रणनीति, विश्वस्तरीय खेलाडीको जमघट र बलियो व्यवस्थापनका साथ विराटनगर यस सिजनको प्रमुख दाबेदारका रूपमा प्रस्तुत भएको छ । यही मङ्सिर २७ गतेसम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा चल्ने प्रतियोगितामा ८ फ्रेञ्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन खेल आज (सोमबार) दिउँसो ४ बजे साविक विजेता जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबीच हुनेछ । विराटनगर किङ्सले भने आफ्नो अभियान भोलि (मङ्गलबार) पोखरा एभेन्जर्सविरुद्धको खेलबाट सुरु गर्नेछ ।
विराटनगर किङ्सको यो महŒवाकाङ्क्षा पछाडि टोलीका लगानीकर्ताको क्रिकेटप्रतिको गहिरो लगाव र दीर्घकालीन योजनाले काम गरेको छ । गतवर्ष करिब १० करोड लगानी गर्दा ४ करोडको घाटा बेहोरे पनि टिमप्रतिको विश्वास र भरोसामा कुनै कमी नआएको लगानीकर्ता सुयषराज प्याकुरेलले बताए । “क्रिकेटको विश्वव्यापी आकर्षणले नै हामीलाई यस क्षेत्रमा तानेको हो । हामीले कम्तिमा तीन वर्षसम्म नाफाको हिसाब गरेका छैनौं, यो हाम्रो लगानीको चरण हो” प्याकुरेलले भने, “यस वर्ष प्रायोजकहरू पनि पाइएको र वातावरण पनि सकारात्मक बन्दै गएकाले नोक्सानी कम हुनेमा हामी विश्वस्त छौँ ।”
घाटाबाट विचलित नभई, व्यवस्थापनले कोशी प्रदेशमा क्रिकेटको जग बलियो बनाउन ‘बी’ टिम निर्माण गर्ने योजनासमेत अघि सारेको छ । यो योजनाले नयाँ खेलाडी उत्पादन गर्न र स्थानीयस्तरमा खेल संस्कृतिको विकास गर्न मद्दत पुग्ने विश्वास प्याकुरेलको छ । यसपटक विराटनगरको टोली कागजमा मात्र होइन, मैदानमै बलियो देखिनेछ । नेपाली क्रिकेटका स्टार सन्दीप लामिछानेले नै टोलीको कप्तानी सम्हाल्नेछन् । उनलाई साथ दिन दक्षिण अफ्रिकाका पूर्वकप्तान फाफ डु प्लेसिस, न्युजिल्यान्डका विष्फोटक ब्याट्सम्यान मार्टिन गप्टिल, स्कटल्यान्डका जर्ज मुन्सी र दक्षिण अफ्रिकाकै तीव्र गतिका बलर मर्चेन्ट डी ल्याङ्गेजस्ता अन्तर्राष्ट्रिय स्टारहरू छन् ।
त्यस्तै लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, सूर्य तामाङ, नारायण जोशीजस्ता ऊर्जावान् नेपाली खेलाडीले टोलीलाई सन्तुलन प्रदान गरेका छन् । सबैभन्दा महŒवपूर्ण कुरा गत सिजन जनकपुर बोल्ट्सलाई च्याम्पियन बनाएका अनुभवी प्रशिक्षक पुबुदु दासानायके यसपटक विराटनगरको प्रशिक्षण सम्हालिरहेका छन् । एक च्याम्पियन प्रशिक्षकलाई आफ्नो टोलीमा अनुबन्ध गरेर विराटनगरले उपाधि जित्ने आफ्नो लक्ष्यलाई थप बलियो बनाएको छ । बलियो खेलाडी र सफल प्रशिक्षकको यो संयोजनले विराटनगर किङ्सलाई प्रतियोगिताको सबैभन्दा बलियो दाबेदारमध्ये एक बनाएको छ ।
































