तरहरा / सुनसरीको पर्यटकीय क्षेत्रमा जङ्गली हात्तीको आतङ्कका कारण पर्यटकहरू प्रभावित भएका छन् । कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्कने जङ्गली हात्तीको आतङ्कले त्यहाँ पुग्ने पर्यटकहरू निराश भई फर्कने गरेका छन् भने कर्मचारीहरू दिनभर हात्ती लखेट्नमै व्यस्त हुने गरेका छन् । केही दिनयता आरक्षवरपरको क्षेत्रमा जङ्गली हात्तीहरूको प्रवेशले आरक्षवरपरका बासिन्दा त्रसित भएका छन् । बिहीबार बिहानदेखि बेलुकासम्म दुईवटा जङ्गली हात्तीले त्रसित बनाए । कर्मचारीहरू कार्यालयको कामै छाडेर हात्ती लखेट्न व्यस्त रहेको आरक्षले जनाएको छ । जङ्गली हात्तीका कारण स्थानीयमा त्रास बढेको सो क्षेत्रमा होटल चलाइरहेका चन्द्र तिम्सिनाले बताए । बिहीबार हात्तीले आतङ्क मच्चाउँदा बारीमा काम गरिरहेका स्थानीयबीच भागाभाग मच्चिएको थियो । पर्यटन व्यवसायी वासुदेव बरालले जङ्गली हात्तीका कारण आरक्ष क्षेत्रमा पर्यटकहरूलाई समस्या भएको बताए । पर्यटकहरूलाई लिएर जङ्गल सफारीमा आरक्ष पुगेका उनले हात्ती–आतङ्ककै कारण पर्यटहरूलाई हात्तीमा घुमाउन नपाएको समस्या सुनाए । घुमघाम गर्न आरक्ष क्षेत्र पुगेका तरुण दलका सुनसरी अध्यक्ष सिजन गुरुङले जङ्गली हात्तीका कारण घुमघाम गर्ने नपाएको बताए । ‘दिनभर हात्ती खेदाउँदै बसियो ।’ उनले भने । आरक्षका वार्डेन श्यामकुमार शाहले जङ्गली हात्ती आरक्षवरपर घुमिरहेका कारण केही समस्या भएको बताए । पोथी हात्तीहरू आरक्षमा भएका कारण भाले हात्तीहरू आइरहेको उनले बताए । ‘लगातार बसेर ठाउँ नै छोडेको छैन’, उनले भने, ‘हामीलाई समस्या भयो ।’ रातभर नसुतेको उनले जनाए । वन्यजन्तुलाई चरण अभाव वन्यजन्तु संरक्षणका लागि आरक्ष क्षेत्र सानो भएर समस्या हुन थालेको आरक्षले जनाएको छ । आरक्ष क्षेत्रका अर्ना, जङ्गली हात्ती र चित्तलको आहारामा समेत कमी हुन थालेको आरक्षले जनाएको छ । थोरै क्षेत्रमा घरपालुवा तथा वन्यजन्तुहरूलाई आहारा कमी हुन थालेको आरक्ष प्रशासनले जनाएको छ । आरक्ष क्षेत्रमा अहिले पनि बग्रेल्ती चौपाया हुँदा अर्ना, जङ्गली हात्ती र चित्तलको आहारा सङ्कटमा परेर ती जनावरले मानव बस्तीमा प्रवेश गरी आतङ्क मच्चाउने गरेका छन् । भएका वनजङ्गल पनि नदीले प्रत्येक वर्ष काट्ने गरेको कारण क्षेत्र विस्तार आवश्यक रहेको आरक्षका वार्डेन श्यामकुमार शाहले बताए । नदीवरपरको क्षेत्रलाई नियन्त्रण गरेर संरक्षण गर्नु आवश्यक रहेको उनको भनाइ छ । आरक्ष क्षेत्र सप्तरी, उदयपुर र सुनसरी गरी एक सय ७५ वर्गकिलोमिटर क्षेत्रमा पैmलिएको छ । सुनसरीतर्पmका केही भागमा विद्युतीय घेराबेरा गरिए पनि पश्चिमतर्पm खुल्ला हँुदा बढी मात्रामा सप्तरी र उदयपुरमा हात्तीले विध्वंश मच्चाउने गरेको छ । आरक्ष क्षेत्रमा रैथाने रूपमा जङ्गली हात्तीको बसोवास छ ।