धरान / समय र दुःखलाई नजिकबाट चिनेकी धरान–२२ देउरालीकी ३० वर्षीया भावना राईलाई ‘संर्घषको पर्याय’ भन्दा फरक पर्दैन् । सानै उमेरमा बैबाहिक बन्धनमा बाधिइन् उनी । जतिखेर उनी कक्षा ८ मा पढ्दै थिइन् । त्यही बेला झागिएको प्रेम विहेमा परिणत भयो ।

त्यसपछि सुरु भएको दुःखको भारी अहिले विसाउने तरखरमा छिन् । पारिवारिक सुख खोज्ने उनी देशमा मात्रै हैन, विदेशमासमेत आफ्नो पौरख खर्चिइन् । तर, विदेशले उनलाई राहत दिनुको सट्टा थप पीडा दियो । दुबई जाने हुँदा ८ महिना भारतमा त्यसै बिताउनु पर्यो एजेन्टको कारण । ८ महिनापछि बल्ल दुबइ झरेकी उनले न त भनेजति तलव पाइन् न त अन्य सुविधा नै । भनेजस्तो सुविधा नहुने र भनेको भन्दा फरक कामसमेत लगाउन थालेपछि उनी बुबाको सहयोगमा ढेड दुई महिना पछि नै नेपाल फर्किइन् । तर, दुबइ जानको लागि फसाएको १ लाख १० हजार रुपैया एजेन्टबाट फिर्ता हुने चाँजोपाजो मिलाउनको लागि झण्डै ५–६ महिना कुर्नु प¥यो । तर, दुबइले उनलाई समयको महत्व र दुःख सिकायो । मिनेट–मिनेटको महत्व सिकायो ।

गाउँघरमा त्यसै खेर फाल्ने समयलाई सदुपयोग गर्न सिकायो । २४ घण्टामा झण्डै १८ घण्टा काम गर्दा कामको महत्व त थाहा पाइन नै । अर्कोतिर दुःखको अनुभूतिसमेत पाइन् । ‘यति गर्दा मेरै गाउँमा पनि यहाँ भन्दा धेरै कमाउँछु जस्तो लागेर आयो ।’ उनी भन्छिन् । पार्लर सिकेर त्यही कामका लागि पुगेकी उनलाई त्यहाँ तीन महिना प्रशिक्षण गराइन्छ भनेर एजेन्टले भनेका थिए । तर, त्यो अनुसार भएन् । उनलाई सिधै काम लगाइयो ।

जसले गर्दा सहज भएन् । प्रशिक्षण विना सिधै काम गर्दा उनी केही अनभिज्ञ बनिन् । एकातिर भाषाको समस्या अर्कोतिर दक्षताको अभावका कारण पनि उनलाई केही सकस भयो । त्यो सकसलाई काममा लगाउने मालिकले बुझ्ने कुरा भएन् । तर, पनि आँट हारिनन् । आफ्नो खुवी देखाइन् । तर, जे पायो उही काम गराउन थालेपछि उनी छाडेर फर्किएको बताइन् । यहाँ आएपछि उनलाई सहज थिएन् । एकातिर रकम डुब्यो भने अर्कोतिर विदेशका कारण घरपरिवारमा पनि राम्रो वातावरण बनेन् । मानिसक तनावबाट गुज्रिए पनि उनी हारिनन् । ‘विदेशबाट खाली हात फर्किएको एकातिर पीडा थियो भने अर्कोतिर परिवारहरु रुष्ट थिएँ ।’ उनी भन्छिन् ।

उनले त्यो समयमा दाउरा बोकेर रक्सी बनाउने कामसमेत गरिन् । आफूसँग भएको व्युटिपार्लरसम्बन्धी ज्ञानलाई यथावत राख्नका लागि पार्लर खोल्ने सोच बनाइन् । विदेश जाँदा एजेन्टहरुसँग भएको सम्झौताका कारण उनले ९० हजार रुपैया फिर्ता पाइन् । त्यही ९० हजार रुपैयाले व्युटिपार्लरमा लगानी गरिन् । तर, सिजनमा मात्रै काम हुने एकादुई मात्रै काम हुने हुँदा त्यसबाट घरगर्जो टार्न उनलाई धौं–धौं पर्न थाल्यो । उनले इटहरीको दुर्गा बचत तथा ऋण सहकारी संस्थामा रकम संकलन गर्ने काम गर्न थालिन् । व्युटिपार्लरलाई समय दिँदै उनले रकम संकलन गर्थिन् ।

त्यसबाट सुरुको महिना उनले ढेड सय रुपैया मात्रै थापिन् । र, पनि हिम्मत हारिनन् । क्रमशः संकलन बढ्दै गयो । अहिले उनी मासिक ६ लाख रुपैया संकलन गर्छिन् भने त्यसवापत उनले १७ हजार रुपैया मासिक कमाउँछिन् । पसलबाट मासिक १५ हजार रुपैया बचत गर्छिन् । अहिले उनले देउरालीमा भावना व्युटिपार्लरबाट आम्दानीसँगै केहीलाई कामसमेत दिने गरेकी छन् । २०६५ सालदेखि व्युटिपार्लर खोलेर जिविकोपार्जन गर्न थालेकी भावना अहिले सूर्य लाइफ इन्स्युरेन्समा ढेडवर्षदेखि काम गर्दै आइरहेकी छन् । श्रीमान बैदेशिक रोजगारीको क्रममा कतारमा छन् । श्रीमानश्रीमतीले कमाएको पैसाले अहिले जग्गा किनेर देउरालीमा दुईवर्ष अघि २१ लाखको लागानीमा एकतले घरसमेत ठड्याएका छन् भने १० धुर जग्गा किन्न सफल भएकी छन् ।

दुबईले उनलाई समय र दुःख नसिकाएको भए सायद आज उनी यो ठाउँमा नआउने बताउँछिन् । यो श्रेय उनी एउटा मार्केटिङ कम्पनीलाई दिन्छिन् । जसले उनलाई ढुंगासमेत बेच्न सक्ने तालिम प्रदान गरिदियो । एसएलसीको परीक्षा दिएपछि बचेको समयमा उनले मार्केटिङ कम्पनीमा केही समय काम गर्ने अवसर प्राप्त गरेकी थिइन् । उनलाई त्यो कम्पनीले बोल्ने तालिम प्रदान गरेको थियो । जसका कारण आज उनी आफ्नो प्रतिभा देखाउँदै छिन् । मासिक ३० हजार रुपैया बचत गर्ने उनी थप अवसरको खोजीमा दिनरात खटिन्छिन् ।