काँकरभिट्टा/ भारतमा उत्पादित सूर्तिजन्य तथा मदिराजन्य पदार्थ नेपाली बजारमा नियमविपरीत बिक्री भइरहेका छन् । प्रशासनकै अगाडि मापदण्डविपरीत बिक्री हुँदा प्रहरी प्रशासनले केही नगरेको सर्वसाधारणको गुनासो छ । इलाका प्रहरी कार्यालयकै वरपर यस्ता सयौँ पसल छन् तर प्रहरीले भने देखेर पनि नदेखेभैmँ गर्ने गरेका छन् । यस्ता वस्तु आयात–निर्यात गर्दा भन्सार शुल्क बढी लाग्छ । अन्तःशुल्कका कारण पनि अवैध रूपम आयात–निर्यात हुने गरेकाले भन्सारको अभिलेखमा आयात–निर्यात कम देखिएको छ । आयात थोरै भए पनि बजारमा भने भारतमा उत्पादित मदिरा तथा सूर्तिजन्य पदार्थहरू छ्याप्छ्याप्ती पाइन्छन् । यसलाई नियन्त्रण गर्न प्रहरी–प्रशासन मौन रहनु ठूलो विडम्बना भएको सर्वसाधारण बताउँछन् । गुट्का, राजनीगन्धाजस्ता वस्तुको उत्पादन नेपालमा नभए पनि नेपालका सबैजसो बजारमा यो सजिलै पाइन्छ । मेची भन्सार कार्यालय तथा त्यसअन्तर्गतको छोटी भन्सार कार्यालयहरूबाट रजनिगन्धालगायतका गुट्काहरूको आयात भएको अभिलेखमा छैन । यस्ता पदार्थ चोर नाका हुँदै भित्रिन्छन् । पूर्वी नाका काँकडभिट्टा, भद्रपुर, बाहुण्डाँगी, नकलबन्दालगायतबाट तस्करहरूले ल्याउने गरेको र बरामद भएका सूर्तिजन्य पदार्थ सम्बन्धित कार्यालयमा बुझाउने गरेको काँकडभिट्टाको इलाका प्रहरी कार्यालयका डीएसपी दुर्गाराज रेग्मीले बताए । सशस्त्र प्रहरी बलको यहाँस्थित राजस्व तथा भन्सार सुरक्षा गुल्मले आर्थिक वर्ष २०७३÷७४ को हालसम्ममा ७८ हजार मूल्यबराबरका रजनीगन्धा, ५५ हजार मूल्यबराबरका निधि, ४६ हजार मूल्यबराबरका सूर्ति र मदिराजन्य पदार्थ दुई सय लिटर बरामद गरेको छ । त्यस्तै मेची भन्सार कार्यालयले ४० हजारबराबरका सूर्ति तथा काँकडभिट्टा इलाका प्रहरीले ४० हजारबराबरका सूर्ति, ४१ हजार बराबरका गुट्का तथा २० हजारका मदिरा बरामद गरेको छ । बजारमा उपलब्धताका आधारमा नेपालमा भित्रिएमध्ये करीब ५ देखि १० प्रतिशतमात्र बरामद भएको जानकारहरू बताउँछन् । सूर्ती तथा मदिराजन्य वस्तुमा अन्तःशुल्क लाग्ने व्यवस्था छ । यस्ता वस्तु राजस्व कार्यालयको अनुमतिपत्रविना बिक्री–वितरण, ओसार–पसार र भण्डारण गर्न नमिल्ले मेची भन्सार कार्यालयका प्रमुख भीम अधिकारी बताउँछन् । सार्वजनिक स्थान, स्वास्थ्य चौकी र विद्यालयको सय मिटर हाताभित्र मदिराजन्य तथा सूर्तिजन्य वस्तुहरू बिक्री गर्न नपाइने कानूनी व्यवस्था छ तर काँकरभिट्टा र आसपासको क्षेत्रमा स्कुलसँग भित्ता जोडिएका तथा क्याम्पसहरुले नै भाडामा लागाएका कोठाहरुमा यसको अनाधिकृत रूपमा खुलेआम बिक्री वितरण भएको पाइएको छ । काँकरभिट्टा क्याम्पसले भाडामा लागाएका ३ वटा होटलमा तथा क्याम्पस अगाडि गेटमै खुलेआम रूपमा यसको मोलमोलाई हुदाँ न क्याम्पस प्रशासन बोल्छ न प्रहरी नै । यसरी कानुनलाई मिचेर व्यक्तिगत फाइदाका लागि प्रशासन मुख दर्शक हुँदा स्थानीय चिन्तित बनेका छन् । उता काँकरभिट्टा उच्च माविको परिसर भित्रै घरेलु मदिरा बनाईन्छ, रक्सीका डिलर र होटलमा त्यसरी नै मदिरा बिक्री वितारण हुने गरेको छ । काँकरभिट्टा माविको १ सय मिटर हाता भित्र करिब यस्ता २० बढी होटलहरु सञ्चालनमा छन् । प्रहरीको फितलो अनुगमन तथा क्यम्पसको लाचारीपनाले गर्दा व्यापारी तथा तस्करीहरुले प्रसय पाइरहेका छन् भने विद्यार्थीहरू कुलतमा फूूूूस्दै गइरहेका छन् । काँकरभिट्टाका अधिकांश विद्यालयहाता भित्रै यस्ता गतिविधि हुन्छन् तर नियन्त्रणका लागि हालसम्म कुनै प्रयासहरू भएको छैन । विद्यालय प्रशासनले गरेको गतिविधिले आजित भएको बताउनुहुन्छ काँकरभिट्टा माविका शिक्षक मोहन शर्मा गौतम बताउनु हुन्छ । यसरी प्रतिबन्धित तथा जनताको स्वास्थ्यसँग प्रत्यक्ष रूपमा नकारात्मक प्रभाव पार्ने यस्ता वस्तुहरूको मापदण्ड अनुसार व्यवस्थापनमा सरोकारवालाहरुको ध्यान जान अतिआवश्य देखिन्छ । आफ्ना क्षणिक निजी स्वार्थका लागि कानुनलाई वेवास्था गर्ने हो भने भविष्यले सबैलाई पिरोल्ने निश्चित छ ।