काठमाडौं/ अबदेखि रोजगारीका लागि भारत जान पनि सरकारसँग अनुमति लिनु पर्ने भएको छ । साथै वैदेशिक रोजगारीमा जानेहरूको बीमामा ५ लाखको घातक रोग बीमा थपिएको छ ।मङ्गलबार परराष्ट्रमन्त्री प्रकाशशरण महत र श्रममन्त्री सूर्यमान गुरूङलाई सँगै राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतलाई वैदेशिक रोजगारीमा राख्दै नयाँ व्यवस्था घोषणा गरेका हुन् ।अहिले पनि भारतमा लाखौं नेपाली रोजगारीमा जान्छन् । तर, वैदेशिक रोजगारीमा परेका थिएनन् । अब भने भारतमा गएर काम गर्ने नेपालीहरुलाई वैदेशिक रोजगारीको मान्यता दिने प्रधानमन्त्रीले बताए ।
उनका अनुसार भारतमा रोजगारीका लागि जाने नागरिकले सम्वन्धित जिल्ला प्रशासन कार्यालय वा सीमा जिल्लाको जिप्रकाबाट काम गर्न जाने अनुमति पत्र लिनु पर्नेछ ।यो अनुमतिपत्र दिनुअघि जिल्ला प्रशासन कार्यालयले बीमा र कल्याणकारी कोषमा सहभागी गराउँछ । यसका लागि एक महिनाभित्र छुट्टै कार्यविधि बनाएर लागू गरिने प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।यसरी जानेहरुको साढे १२ लाखको म्यादी जीवन बीमा हुनेछ । र, कामको सिलसिलामा मृत्यु भएमा पीडित परिवारले बीमाका साथै वैदेशिक कल्याणकारी कोषबाट सहित डेढ लाख पाउनेछन् ।प्रधानमन्त्रीले वैदेशिक रोजगारीका लागि जानेहरुको बीमामा ५ लाखको घातक रोग बीमा थप गरेको घोषणा गरे । हाल १० लाखको म्यादी जीवन बीमा छ ।
क्यान्सर, मृगौल फेल, हृदयाघात, प्यारालाइसिस लगायतका १५ रोगलाई घातक रोगको सूचीमा राखिएको छ । माघ १५ गतेदेखि लागू हुने गरी घातक रोग वापत् ५ लाख बीमाङ्क बराबर बीमा हुने व्यवस्था गरिएको प्रधानमन्त्रीले बताए ।अस्वस्थताको अवस्थामा पनि घातक रोग प्रमाणित भएमा पनि बीमा रकम पाइनेछ ।साथै घातक रोग लागेर मृत्यु नभएको तर शारीरिक रुपले मृत्युसरह मानिने अवस्था प्रमाणित भएमा क्रिया खर्च र शव ल्याउने खर्च बाहेक बीमाबाट १३ लाखसम्म पाउनेछन् । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट ३ लाख र घातक रोग बापत् ५ लाख गरी कूल १८ लाखसम्म पाउन सक्नेछन् ।
यसअघि नै बीमा गरिएको तर म्याद नसकिएकाहरुको हकमा घातक रोग बीमा र पछिल्लो व्यवस्थाबमोजिम रक्षावरणको सुविधा लिन चाहेमा समानुपातिक थप शुल्क बुझाएर लिन सकिने प्रधानमन्त्रीले जानकारी दिए ।खाडीसहितका सबै मुलुकहरुलाई वैदेशिक रोजगारीमा गएका नेपालीहरु सुरक्षित हुनुपर्छ भनेर सरकारले ठोस पहल गरिरहेको परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बताए ।