धरान । भारत बिहार मधुवनी जिल्लाका जगन्नाथप्रसाद साह बुबा चन्देश्वरप्रसाद साहको रगत बोकेर आइतबार बिहानै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ‘सेन्ट्रल ल्याव’ मा आइपुगे । वार्डबाट ल्याएको रगत तत्कालै लिने व्यवस्था भए पनि प्रतिष्ठानको कम्प्युटर नचलेपछि उनले बिहानभरि ल्यावकै कुर्सीमा बिताए ।
अहिले होला, भरे होला भन्दै घण्टौँ बितिसक्दा पनि नेटले काम नगरेपछि उनी हैरान देखिन्थे । हातमा रगतका नमुना बोकेर बसिरहेका थिए । उनले भने, “बहुत परेसान हुँ, नेट नहीँ काम कररहा हे । शुभे से बैठ बैठकर थक् गया ।” आइतबार मात्रै नभई शुक्रबार राति पनि उनले यस्तै समस्या भोगेका थिए । उनले थपे, “उस दिन (शुक्रबार) भि बहुत परेसान हुवा, रातको १२ बजे सर्भर आया था फिर चला गया ।”
जगन्नाथको झैं समस्या तेह्रथुम आठराई गाउँपालिका–२ का बिरु लिम्बूले पनि खेपे । भाइको ‘स्याम्पल’ बुझाउन ल्यावमा भेटिएका उनले शुक्रबार पनि समस्या रहेको बताए । “शुक्रबार बेलुका त पाँच–छ घण्टा नै त्यस्तो भएको थियो । त्यहाँ मान्छेको लाइन । साह्रै बिजोग नै थियो” सेन्ट्रल ल्यावमा भेटिएका उनले भने, “बिहानैदेखि यहाँ आएको अहिलेसम्म नेट नचलेर कुरेको कुरेकै छु । नेट छैन भन्छन् ।” बीपी प्रतिष्ठानमा शुक्रबारदेखि यो समस्या देखिएको छ । हाल सञ्चालन गरिरहेको ‘कम्प्युटर सिस्टम’ लाई अद्यावधिक (अपग्रेड) गर्ने नाममा बिरामी तथा बिरामीका आफन्तले सास्ती खेपिरहेका छन् ।
रगतको नमुना दिन नपाई फर्किंदै गरेका धरानका प्रकाश राईले भने, “ब्लड दिन आएको थिएँ । सर्भरले काम नगरेर बस्दा बस्दा गरेँ । अनि फर्किएँ ।” यो समस्या ओपिडीका बिरामीले मात्रै हैन, वार्ड, आकस्मिक कक्षका बिरामीहरूले पनि भोगिरहेका छन् । बीपी प्रतिष्ठानले शुक्रबार प्रतिष्ठानका सबै विभागमा सर्कुलर गर्दै ‘सिस्टम अपग्रेड” गर्ने जानकारी गराएको थियो । ल्यावका एक कर्मचारीका अनुसार शुक्रबार यतादेखि आकस्मिक कक्षमा सबैभन्दा बढी समस्या भएको छ । “न दर्ता भइरहेको छ, न त बिलिङ नै भइरहेको छ । शुक्रबार बनाउने भनेको थियो । शुक्रबार बनायो । फेरि गयो । शुक्रबारदेखिका स्याम्पलहरू राखेको छ । त्यो बिग्रेला भन्ने डर हुन थालिसक्यो । नयाँ बिल काट्न सकेको छैन” उनले भने, “बिरामीले धेरै दुःख पाए । यहाँ (ल्याव) मा हाटबजार नै लागेजस्तो छ ।”
प्रतिष्ठानका रजिष्ट्रार सूर्यप्रसाद सङ्ग्रौलाले आफू आउँदा कम्प्युटरमा समस्या देखेपछि सम्बन्धित कम्प्युटर सेक्सनलाई सोधेको बताए । उनले भने, “प्राविधिक पक्ष आफूले बुझिँदैन । समस्या छ । सबैलाई बोलाएर खबरदारी गरेको छु । धन्न बिरामीहरू धैर्य गरेर बसेका छन् विचराहरू ।” उनले अद्यावधिक गर्ने काम तिहारको बेला गरेको भए उत्तम हुने बताए ।
यता अस्पतालका सहायक प्रवक्ता डा. अभिजित कुमारले सिस्टम अपग्रेड गरिएकाले समस्या भएको बताए । “अनलाइन टिकट काट्ने अपग्रेड गर्दै छ । अहिले टाइम लाग्छ । एउटा सिस्टमबाट अर्को सिस्टममा जाँदा केही समस्या आएको हो ।” उनका अनुसार शुक्रबार ड्युटी अफ भएपछिबाट अद्यावधिक गर्ने भनी सूचना जारी गरेको र सोअनुसार गरेर पुनः सञ्चालन गर्दा सिस्टम ढिला भयो । त्यो कारण पत्ता लगाउनका लागि नै समस्या भएको उनले बताए । “अपडेट भएर काम गर्न थालिसकेको जस्तो लाग्छ । अरू बिरामीहरूको बिल काटेको जस्तो लाग्छ”–उनले फोनसम्पर्कमा भने ।
यता प्रतिष्ठानले आइतबार साँझ सर्भर अपग्रेडको विषयमा आधिकारिक विज्ञप्ति जारी गरी पर्न गएको असुविधाप्रति क्षमा मागेको छ । विज्ञप्तिमा भनिएको छ, “प्राविधिक गडबडीका कारण सेवाग्राहीहरूले खेप्नुपरेको सास्ती तथा अप्ठ्याराहरूका लागि प्रतिष्ठान हृदयदेखि नै क्षमाप्रार्थी रहेको व्यहोरासमेत सम्पूर्णमा जानकारी गराउन चाहन्छौँ ।” सह–प्रवक्ता डा. अभिजित कुमारद्वारा जारी विज्ञप्तिमा थप लेखिएको छ, “सिस्टम अपग्रेडपश्चात् दोस्रो दिन शनिबार सप्mटवेयर÷हार्डवेयर सिस्टममा सोचेअनुरूप तीव्रता नदेखिएपश्चात् त्रुटि पत्ता लगाउन शनिबार राति २ः३० बजेसम्म प्रोफाइलिङको कार्य गरियो र परिक्षणको क्रममा आइतबार बिहान पुनः सप्mटवेयर सिस्टम अचानक ढिलो तवरले चल्ने भएपश्चात् यथाशीघ्र आवश्यक कार्य गर्न थालियो । उक्त कार्य गर्दै जाँदा बेलुकी ४ बजे मात्र सिष्टमलाई दुरुस्त पार्न सकिएको छ ।”
































