धरान/वैदेशिक रोजगारका क्रममा बहराइन गएका ३६ वर्षीय पुष्पबहादुर कार्की मासिक ७० हजार रुपैयाँ तलब छाडेर गाउँमै तरकारी खेतीमा तल्लीन बनेका छन् । आठ वर्ष विदेश बसाइलाई चटक्कै त्यागेर उनले खेतीमै भविष्य खोज्न थालेका हुन् । एक वर्षअघि छुट्टीमा आएका उनले गाउँघरमा तरकारी खेतीमा सम्भावना देखेपछि भिसा सिध्याएर उनी सधैँका लागि फर्किएका छन् । आएलगत्तै कार्कीले श्रीमती सुजताले सम्हालेको तरकारी खेतीमा ध्यान दिन थालेका छन् । अहिले उनकै नेतृत्वमा गाउँमै तरकारी भण्डारण केन्द्र स्थापना गरिएको छ । ‘गाउँमै केही गरौँ भनेर आएको छु ।

ह्याभी ड्राइभिङ गर्ने मान्छे ६०–७० हजार मज्जाले हुन्थ्यो’, उनले भने, ‘विदेश बसेर पनि गाउँमा आउँदा सधैँ जिरोमै भइने रहेछ, त्यो भएर अब गाउँमै केही गर्ने हो ।’ धरान–२२ को ठिङ्गाबारी तरकारीका लागि प्रख्यात मानिन्छ । बाउबाजेले आर्जेको ३१ कठ्ठा माटो छ । अहिले उनकी श्रीमतीले त्यही माटोमध्ये ५ कठ्ठामा गोलभेंडा र दुई कठ्ठामा सिमी खेती गरिरहेकी छन् । अन्यमा मकै बाली छ । तरकारी खेती गर्नेहरुलाई नै उनले केही जग्गा लिजमा दिएका छन् । गाईपालनसमेत गरिरहेका छन् । यसैलाई निरन्तरता दिँदै कार्की आप्mनै माटोमा पौरख गर्ने सोचमा छन् । भन्छन्, ‘अर्काकोमा बसेर कति दिन काम गर्ने भन्ने भएर फर्किएँ । त्यहाँ बस्दा सधैँको नोकर मात्रै भइने रहेछ । आप्mनो माटो सुकाएर, अर्काकोमा लेबर भएर के गर्ने ?’ विदेशमा जतिञ्जेल बसे पनि जहिल्यै अवस्था शून्य हुने उनको अनुभव छ । अहिले उनले गाउँका युवासँग मिलेर एक लाख रुपैयाँको लगानीमा ठिङ्गाबारीमै सङ्कलन केन्द्र खोलेका छन् । स्थानीयद्वारा उत्पादित कृषिजन्य उत्पादनलाई सङ्कलन गरेर बजारसम्म पु¥याउने उनको तयारी छ । चालकसमेत भएकाले उनमा गाडी खरीद गरी बजारमा व्यवसायीलाई बेच्ने भाउमा गाउँमै तरकारी खरीद गरेर बजारसम्म पु¥याउने योजना छ । त्यसका लागि स्थानीय कृषकहरूसँग एक चरण छलफलसमेत गरिसकेको उनले बताए ।

गाउँमा वर्षैभरि सब्जीखेती भइरहन्छ । त्यसलाई भण्डारण गरेर बजारसम्म पु¥याउन सकियो भने बिचौलियाले खाने रकम कृषकको पोल्टामा आउने विश्वास उनको छ । बाउबाजेले गर्दै ल्याएको परम्परागत खेती प्रणालीलाई परिवर्तन गर्ने सोचमा छन् कार्की । त्यसो त श्रीमतीले गएको पाँच वर्षयता हाइब्रिड गोलभेंडा र सिमी खेती गरिरहेकी छन् । त्यसलाई निरन्तरता दिँगै माटो जाँच गरेर व्यावसायिक रूपमा तरकारी खेती गर्ने उनको सोच छ । ‘माटो जाँच गर्नुपर्ने देखिएको छ । पहिलाभन्दा अहिले उत्पादन घटेको परिवारबाट थाहा पाइयो’, उनले भने, ‘माटो बिग्रिँदै गएको छ ।

अब माटो जाँच गरेर त्यहीअनुसारको तरकारी खेती गर्ने सोच छ ।’ त्यसका लागि उनले कृषि समूह बनाएका छन् । समूहमार्पmत् माटो जाँच गर्ने तयारी भइरहेको उनले बताए । सामूहिक खेती गर्न सकेमा उत्पादन मात्रै हैन, सबै हिसाबले राम्रो र व्यवस्थित हुनेमा उनी ढुक्क छन् । उनी युवाहरू मिलेर सामूहिक खेती प्रणालीमा जाने सोचमा पनि छन् । श्रीमतीले लगाएको गोलभेंडा १५ सय केजीसम्म बिक्री गरिसकेको उनले बताए । तरकारी खेती गर्न सक्दा राम्रो उत्पादन हुने र त्यसका लागि प्राविधिक ज्ञानको जरुरी उनले देखेका छन् । ‘सब्जी खेतीमा राम्रो उत्पादन भइदियो भने एकदमै फाइदा हुन्छ ।’ उनी भन्छन् ।