धरान/धरानबाट तीन किलोमिटर पूर्वाेत्तरमा रहेको ठिंगाबारी, जो हाल धरान–२२ मा पर्छ । अढाइ सयभन्दा बढी घरधुरी रहेको यहाँका हरेक परिवारको बारीमा लटरम्मै गोलभेंडा फलेको देखिन्छ ।भदौ अन्तिमदेखि रोप्न थालिएको टमाटर यतिबेला पाकेर बजारमा पुग्न थाल्छ । धरान बजारमा यतिबेला अधिकाङ्श गोलभेंडा ठिंगाबारीबाटै आउने गरेको छ । प्रत्येक घरमा एक–दुई कठ्ठादेखि ५–७ कठ्ठासम्म टमाटर रोपेर त्यहाँका कृषक आत्मनिर्भर मात्रै बनेका छैनन्, आर्थिक रुपमा सबलसमेत बनिरहेका छन् । ‘यहाँ गाउँभरी गोलभेंडामात्रै रोपिन्छ’, स्थानीय कृषक पुष्प कार्की भन्छन् ।

उनले पनि पाँच कठ्ठा जग्गामा टमाटर खेती गरेका छन् ।यहाँका वासिन्दाले न्यूनतम् ८–९ सय केजीदेखि ३ हजार केजीसम्म गोलभेंडा उत्पादन गर्ने गरेका छन् । जसबाट एक सिजनमा ६० हजार रुपैयाँदेखि दुई–अढाई लाखसम्म आम्दानी लिने गरेको कार्की बताउँछन् ।‘नहुँदा पनि एक–डेढ लाख रुपैयाँ कमाइ हुन्छ’, करीब १० वर्ष अघिदेखि हाइब्रिड गोलभेंडा खेती गर्दैआएकी झुममाया बोहोरा भन्छिन् । गत वर्ष मात्रै डेढ लाख रुपैयाँबराबरको गोलभेंडा बिक्री गरेको उनी बताउँछिन् । ठिंगाबारीमा कतिपय परिवारले धानखेतीसमेत गर्दैनन् । वर्षैभरी सब्जी खेती गर्ने चलन छ । ‘एक–दुई कठ्ठा हुनेहरुले अन्य खेती गर्दैनन् ।

वर्षैभरी सब्जी खेतीमात्रै गर्छन् ।’ बोहोरा सुनाउँछिन् । उनका अनुसार यो गाउँमा परम्परागत सब्जी खेतीको परम्परा ४०–५० वर्ष अघिदेखि नै शुरु भएको थियो ।त्यो बेलामा पनि गोलभेंडा खेती हुन्थ्यो । तर, स्थानीय जातको गोलभेंडा लगाउने चलन रहेको अर्का कृषक मीरा दाहालले बताइन् । विगत १०–१२ वर्षयतादेखि मात्रै हाइब्रिड गोलभेंडाले ठिंगाबारीमा अड्डा जमाएको छ । गत वर्ष आधा कठ्ठा माटोमा रोपेको गोलभेंडाले ६० हजार रुपैयाँभन्दा बढी आम्दानी दिएको दाहाल बताउँछिन् । यसपटक उनले झण्डै ढेड कठ्ठामा गोलभेंडा खेती गरेकी छन् । ‘यसपटक भाउ छैन’, उनले दुखेसो पोखिन् ।ठिंगाबारीमा हाइब्रिड गोलभेंडाको खेती शुरुवात सोमबहादुर बोहोराले गरेका हुन् । उनले करीब १२ वर्षयता हाइब्रिड गोलभेंडा रोप्न थालेका हुन् । त्यसपछि अहिले गाउँ नै हाइब्रिड गोलभेंडा खेतीमा तल्लीन छ । यसैबाट कतिपय घरपरिवारले जीविकोपार्जन गर्ने गरेका छन् ।आधा कठ्ठा गोलभेंडा लगाउनेलाई पनि सहजरुपमा जीविकोपार्जन हुने गरेको छ । अढाई कठ्ठा मात्रै जग्गा भएका स्थानीय भीमवरसिंह लिम्बूले वर्षैभरी सब्जी खेतीबाटै जीविकोपार्जन गर्ने गरेका छन् । उनले पाँचजनाको परिवार हुर्काएका छन् ।

‘घरखर्च चलेको छ’, उनी भन्छन्, ‘वर्षैभरी सब्जी खेती गर्ने गर्छौ ।’ गोलभेंडा खेती सकिएपछि फर्सी, घिरौंला लगायतका बाली लगाउने गरेको उनले बताए । आम्दानीको हिसाबले पनि राम्रै हुने गरेको उनी बताउँछन् । उनी मासिकरुपमा खुत्रुके, नियमित बचत गरेर झण्डै पाँच हजार रुपैयाँ बचत गर्ने गरेको बताउँछन् ।

गोलभेंडा खेतीबाटै अधिकांशको परिवार चलेको पुराना कृषक राजन राईले बताए । उनका अनुसार ठिंगाबारीमा प्रत्येक परिवारले गोलभेंडा खेतीबाटै जीविकोपार्जन गर्ने गरेका छन् । अहिले स्थानीय कृषकहरुको गोलभेंडा लगायत सब्जी सङ्कलन गर्ने केन्द्र बनाएका छन् । स्थानीय उत्पादनहरुलाई भण्डारण गरेर केही महङ्गो मूल्यमा किनबेच गर्न सकिने उद्देश्यले पनि सङ्कलन केन्द्र खोलिएको राईले बताए ।