विजयपुर/धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाडजोर्नी विभागका केही डाक्टर र प्रतिष्ठान हाताबाहिर सञ्चालनमा रहेको सुजिता फार्मेसीको मिलोमतोमा कालोबजारी हुने गरेको प्रमाण फेला परेको छ । सुजिता फार्मेसीले सुजिता अर्थो केयरको नाममा समेत अवैध कारोबार गर्ने गरेको खुलेको छ ।
केही डाक्टर र सुजिता फार्मेसी सञ्चालकको मिलोमतोमा हाडजोर्नीका बिरामीहरुमा प्रयोग हुने ‘इम्प्लान्टस’ (स्टीलका सामान) बिक्री गर्दा बिरामीबाट अवैध तरिकाले चर्को मूल्य लिने गरिएको तथ्य फेला परेको हो । फार्मेसीले आफुहरुलाई ठगी गरेको थाहा पाएर ‘इम्प्लान्टस’ को मूल्यसूची उपलब्ध गराउन माग गरेपनि मूल्यसूची नदेखाएको मोरङको केराबारी–४ का खमन सुब्बाले बताएका छन् । डाक्टर र फार्मेसीबीचको मिलोमलोको विषयमा अस्पताल प्रशासनले समेत वास्ता नगरेको उनले बताए ।प्रतिष्ठानमा आउने हाडजोर्नीका बिरामीहरुलाई ग्रिन, शक्ति र सिग्नोर कम्पनीका ‘इम्प्लान्टस’ प्रयोग गरिँदै आएको छ ।
सुजिता फार्मेसीले आफुहरुलाई सिग्नोर कम्पनीको ‘इम्प्लान्टस’ को आधिकारिक बिक्रेता बताउने गरेपनि सोही कम्पनीका इम्प्लान्टसहरु बिक्री गर्दा बिरामीसँग कालोबजारी गर्ने गरेको हो । फार्मेसीले ग्रिन र शक्ति कम्पनीले बेच्ने गरेको ‘इम्प्लान्टस’ को मूल्यभन्दा सिग्नोर कम्पनीको इम्प्लान्टसको मूल्य डेढ गुनासम्म बढी लिएको प्रमाण ब्लाष्टसँग सुरक्षित छ । फार्मेसीका प्रोप्राइटर शरदकिशोर यादवलाई ‘सिग्नोर’ कम्पनीको खरिद तथा बिक्री मूल्यको विवरण उपलब्ध गराउन पटक–पटक आग्रह गर्दापनि अटेर गरे ।ब्लाष्टलाई प्राप्त प्रमाणअनुसार हाडजोर्नीका बिरामीमा प्रयोग गरिने ग्रिन र शक्ति कम्पनीको ‘इरीजोरो हाफ रिङ’ लाई १७ सयदेखि १८ सयसम्म पर्दछ । तर सिग्नोर कम्पनीको सोही ‘इलीजोरो हाफ रिङ’ सुजिता फार्मेसी उर्प सुजिता अर्थोकेयरले ३४ सय ६५ रुपैयाँमा बिक्री गरेको छ । यसैगरी ग्रिन र शक्ति कम्पनीको एलिजोरो ५÷८ रिङ २३ सय रुपैयाँसम्ममा पाइन्छ । तर, सिग्नोर कम्पनीको सोही इम्प्लान्टसलाई सुजिताले ३६ सय ५० रुपैयाँमा बिक्री गरेको छ । ग्रिन र शक्ति कम्पनीले ३१ सयदेखि ३३ सयसम्म बिक्री गर्दै आएको टेलोस्कोपिक रड सुजिताले ५५ सय रुपैयाँमा बिक्री गरेको छ ।
१२ सय ५० पर्ने सिसी स्क्रुपलाई सुजिताले ३१ सय रुपैयाँमा बेचेको छ ।कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा १ को २ नम्बर बँुदाअनुसार यसरी बजार मूल्यभन्दा बढीमा सामान बिक्री गर्नु कालोबजारी गर्नु हो । यस ऐनमा यसरी कालोबजारी तथा नाफाखोरी गर्नेलाई जरिवाना सहित ५ वर्षसम्म सजाय हुने व्यवस्था छ । सुजिता फार्मेसीका सञ्चालक शरदकिशोर यादवले आफुहरु कुनैपनि गल्ती नगरेको दाबी गरे । उनले आफुहरुल गरेको कारोबार सही छ भन्ने प्रमाण पनि देखाउन सकेनन् । ‘यो विषयमा म अभिभावकसँग कुरा गरेर मात्र केही भन्न सक्छु’, यादवले भने ।हाडजोर्नीका इम्प्लान्टसहरु नेपालमा उत्पादन नहुने भएकाले भारतबाट ल्याउने गरिएको ग्रिन कम्पनीका इन्प्लान्टस बिक्री गर्दै आएका अर्थोवल्ड सर्जिकल धरानका प्रोपाइटर वीरेन्द्र गुप्ताले बताए । ‘हामीले भन्सारबाट लिएको प्रज्ञापनपत्रमा उल्लेख गरिएको मूल्यमा २० प्रतिशतसम्म नाफा राखेर इम्प्लान्टसहरु बेच्ने गरेका छौं, यसको बिक्री, खरिद र स्टक खाता आन्तरिक राजश्व कार्यालयले उपलब्ध गराएको खातामा उल्लेख गर्नुपर्ने हुन्छ, हामीले त्यसै गरिरहेका छौं ।’सुजिता फार्मेसीले भने इम्प्लान्टसम्बन्धी कुनैपनि वैधानिक कागजात देखाउन सकेन । स्रोतका अनुसार सुजिता फार्मेसीले प्रतिष्ठानको हाडजोर्नी विभागका केही डाक्टरलाई इम्प्लान्टसको बिक्री मूल्यबराबरनै कमिशन दिने गरेको छ । स्रोत भन्छ, ‘बिक्री मूल्यबराबर कमिशन दिएपछि त्यसको ठीक डबल बिल बनाएर बिरामीसँग रकम लिने गरेको छ ।’
प्रतिष्ठानका हाडजोर्नी विभागका प्रमुख प्रा. डा. गुरु खनालले यस विषयमा आफुहरु गम्भीर रहेको भन्दै आगामी दिनमा यस्ता गुनासाहरु आउन नदिन प्रयास गरिरहेको बताए ।सुनसरीका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले यस विषयमा अनुसन्धान गर्ने बताएका छन् । अत्यावश्यक बस्तुमा बढी मूल्य लिइएको भए जसरी पनि कारवाहीको दायारमा ल्याउने उनले बताए । ‘विषयविज्ञसहितको टोली लिएर हामी अनुगमन गर्छौं’, उनले भने, ‘यसअघि बढी मूल्य लिइएको प्रमाण फेला परेपनि कारवाहीको दायरामा ल्याइन्छ ।’