इलाम/दुई दिन परेको तुषारोले अलैँची नष्ट भएपछि किसानहरू चिन्तित भएका छन् ।यस वर्ष सधैँको तुलनामा चिसो बढेपछि प्याङ गाविस– १, ५, ६, ७, ८ र ९ मा तुषारोका कारण बगानमा अलैँचीका बोट डढ्न थालेपछि बोट उखेल्ने कि राख्ने भन्ने दोधार रहेको किसानहरू बताउँछन् । बढी आम्दानी हुने आशामा आलु, मकै, गहुँ, तरकारीलगायतका खेती मासेर उनीहरूले अलैँची रोपेका छन् ।
खेतीयोग्य जमीनमा सबै किसानले अलैँची रोप्न थालेपछि अलैँचीको भाउमा दिनदिनै गिरावट आउन थालेदेखि नै किसानहरू चिन्तित थिए । तुषारोले बोट नै सखाप पारेपछि उनीहरू थप चिन्तित बनेका छन् ।बारीमा खेतीसमेत मासेर अलैँची लगाएपछि दिनदिनै भाउ घटिरहेको अवस्थामै जाडो महिनामा तुषारोले बोट नष्ट भएको प्याङ–७ का किसान टीका अधिकारीले बताए । उनले भने, ‘हजारौँ खर्च गरेर बिरुवा किनेर ल्याइयो, खेतीसमेत मासियो । अब आशलाग्दो अवस्थामा निराश बनाएपछि कृषि क्षेत्रमा निराश आउनेछ ।’
दुई वर्षअघि अलैँचीको भाउ प्रतिमन एक लाखको हाराहारीमा आएपछि प्याङका किसानले प्रतिगोटा २० रुपैयाँका दरले किनेर रोपेको अलैँची तुषारोका कारण नष्ट भएको हो । प्याङमा २०५२ साल पुस ४ गते पनि तुषारोले गाउँभरिकै स्थानीय जातको अलैँची नष्ट भएको थियो । टुसालाई जोगाएर पुनः बिरुवा उत्पादन हुर्किएका अलैँची डढुवा रोगका कारण २०६५÷६६ मा फेरि पूर्णरूपमा सखाप भएपछि अहिले किसानले भार्लाङ जातको अलैँची उत्पादन गरिरहेका छन् ।प्याङ गाविसका वडा नम्बर २, ३ र ४ मा दुई वर्षयता भार्लाङ, सलकपुरे जातका अलँैची उत्पादन हुन थालेपछि कृषकहरूले मनग्ये आम्दानी गर्न थालेका छन् ।
कृषकले कृषियोग्य भूमिमा अलैँची रोप्न थालेपछि अन्य तरकारी, फलपूmललगायतका कृषि उपज उत्पादनमा ह्रास आएको छ । कम तापक्रम भएको क्षेत्रमा यस जातको अलैँची कम मात्र फस्टाउने गरेका कारण तुषारोले बोट सखाप भएको किसानहरूको भनाइ छ ।इलाम सदरमुकामबाट नजिकको गाविस भए पनि वर्षात्को समयमा सवारी साधन अवरुद्ध हुने भएपछि प्यारूका किसानहरूले उत्पादित तरकारी बजारसम्म पु¥याउन पाएका छैनन् ।
अन्य नगदे बालीबाट आम्दानी हुन छाडेपछि आर्थिक उपार्जन गर्न अलैँची रोप्न थाले पनि कहिले फुर्के, कहिले डढुवा रोग र कहिले तुषारोले बोट मर्न थालेकाले उनीहरूमा निराशा छाएको छ ।