धरान/झट्ट सुन्दा के होला मोबाइल खाजा घर भन्ने जो कोहीलाई पनि लाग्न सक्छ । विशेष गरी पश्चिमा देश र एसियाको थाइल्याण्डमा ‘मोबाइल खाजा घर’ प्रख्यात छ । धरानमा भने यो खाजाघरमा खाजा खानको लागि साँझको ५ बजेपछि भानुचौक पुग्नुपर्छ ।
[caption id="attachment_23184" align="alignnone" width="1024"]

एमसी कफी आवरले सञ्चालन गरेको मोबाइल एमसी फुड कोर्टको साथमा सञ्चालक राई । तस्बिरःब्लाष्ट/भोजराज श्रेष्ठ[/caption]
भानुचौकमा हरेक साँझ ५ बजेपछि ‘एमसि फुड कोर्ट’ नामको मोबाइल खाजा घर लिएर सञ्चालक पूर्ण राई आइपुग्छन् । धरानमा मात्रै हैन, यो खाजाघर पूर्वमै नौलो लाग्छ । पश्चिमा देश युरोप तथा अमेरिका पुग्ने साथै थाइल्याण्डका गल्ली चहार्नेको लागि सायदै नौलो नहोला । एमसी कफी आवरको सहायक व्यवसायको रुपमा रहेको यो व्यवसाय देखिन थालेको धेरै भएको छैन् । ‘लगभग ५ महिनाको हाराहारी भयो होला’, सञ्चालक राई भन्छन् ।
विदेशको लामो अनुभव बटुलेकै कारण राईले धरानमा पनि यो व्यवसाय चल्ला भन्ठानेर फुड कोर्ट सञ्चालनमा ल्याएका हुन् । त्यसअघिसम्म त्यही मोबाइल फुड कोर्टमा विभिन्न स्वादका जुसहरु प्राप्त हुन्थे । तर, जाडोको समयमा जुस आइटमहरु नचल्ने देखेपछि त्यही मोबाइल जुसलाई उनले फुड कोर्टमा बदले । ‘झण्डै तीन महिना भानुचौकमा आफ्नो तरिकाले गरेको रिसर्चले चल्छ भन्ने लागेर खोलेको हुँ ।’ राई भन्छन्, ‘जाडोमा त जुस चल्दैन्, के गरौं भनेर सोच्दासोच्दै यो आइडियो फुर्यो । तीन महिनालाई सदुपयोग गर्न थालेको अव कन्टिन्यु होला जस्तो छ ।’
राईलाई पहिलेदेखि नै लाग्थ्यो, नयाँ–नयाँ तरिकाले व्यवसाय गर्नुपर्छ अनी मात्रै चल्छ । त्यही सिलसिलामा भक्तपुरको सल्लाघारीमा लागेको औद्योगिक प्रदर्शनीमा मोबाइल व्यवसाय निक्कै राम्रो लाग्यो । ‘धरानमा पनि चल्छ होला भनेर ल्याएँ ।’ उनी भन्छन् । गाडीसहित १२ आइटमका जुसको स्वादको सोडा मेसिन २२ लाख रुपैयामा ल्याए । २९ साउन २०७२ देखि करिव एकवर्ष सोडा मेसिन सञ्चालन गरेपछि जाडोलाई लक्षित गर्दै फुड कोर्ट सञ्चालनमा ल्याए । धरानमा मोबाइल खाजा घर यतिखेर प्रख्यात हुँदै गएको छ ।
दैनिक ढेडसयको हाराहारीमा ग्राहकहरु फुड कोर्टमा आइपुग्छन् खानको लागि । साँझ ६ बजेदेखि १० बजेसम्म फुडकोर्ट चल्छ । तीनजनाले रोजगार प्राप्त गरेका छन् फुडकोर्टमा । एउटा कुक, एकजना सहयोगी र सञ्चालक राई गरी तीनजना खटिन्छन् । गाडीको स्ट्यान्डर्डलाई हेरेर केही महंगो होला भन्ने धेरैलाई लाग्न सक्छ । तर, उनको फुड कोर्ट सामान्य पसल झै सस्तो र गुणस्तरीय छ ।
८० रुपैयादेखि माथि एकसय ६० रुपैयासम्मका खाजाहरु प्राप्त हुन्छन् । १७ आइटमका खानेकुराहरु पाइन्छन् । ग्राहकको स्वाद अनुसारको खानाहरु पाइन्छन् । ‘यहाँ मजदुरले खाने एउटा, मालिकले खाने अर्को चालम हुदैन् । सबैका लागि बराबर ।’ राईले थपे । खानेकुरामा चिकेन चिल्ली, सेजन राईस, ससेस चिल्ली, मम चिल्ली, ड्रमेष्टिक, आइसकोल्डदेखि लिएर रेष्टुरेन्टमा पाउने आइटमहरु पाइन्छन् । यो देखेपछि कतिपय भारतीय पर्यटक तथा आन्तरिक पर्यटकहरुले ‘धरानमा यस्तो खाल्को व्यवसाय पनि हुँदो रै’छ’ भनेर धेरैले राम्रो रेस्पोन्स दिएर जाने गरेको उनी बताउँछन् ।
यो व्यवसाय गर्नुको पछाडी अन्य पनि कारण छन् उनका । उनले यो पुस्ताको लागि मात्रै हैन, आउने पुस्तालाई पनि केही नयाँ गर्नुपर्छ भन्ने सोच विकास गर्नको लागि खोलेका हुन् रे । भन्छन्, ‘धरानमा व्यवसाय भनेपछि रक्सी र मासुको मात्रै बिक्छ भन्ने परम्परा छ । त्यो परम्परालाई तोड्न पनि यो व्यवसायमा हात हालेको हो ।’ ६ वर्षदेखि एमसी कफी आवर चलाएर बसेका छन् । त्यसबाट उनी सन्तुष्ट छन् । उनले कोरियामा सिकेको कुरालाई प्रयोगमा मात्रै ल्याइरहेको बताउँछन् ।
‘यही व्यवसायले ८ जनालाई रोजगार दिन सकेको छु ।’ उनी भन्छन् । कफी आवरमा इटहरीको कलेजबाट विद्यार्थीहरुसमेत सिक्नको लागि आइपुग्छन् । एकढेड महिना कक्षा लिएर उनीहरु सर्टिफिकेट लिएर जाने गरेका छन् ।