tailoringपाँचथर/ पाँचथर भारपाकी जेनी राई फिदिममा डेरा गरेर बस्छिन् । फिदिम उच्च मावि कक्षा ११ मा पढ्ने उनलाई बिहानको कक्षा सकिनसाथ कोठा पुग्ने चटारोले छुन्छ । कोठा पुगी खाना बनाएर खाइवरी दिउँसो १२ बजे हुलाकलाइनस्थित रचना एण्ड सुनिता टेलर्स ट्रेनिङ सेन्टर पुग्नुपर्छ उनले । त्यसपछि साँझ पाँच बजेसम्म कपडा, कैंची र मेसिनसँग खेलेर बित्छ उनको समय । भर्खरै किशोरावस्था छिचोल्दै गरेकी जेनीको यस्तो दैनिकी शुरु भएको दुई महिना भयो । सँगैका साथीहरु घुमघाम, हाँसखेल र रमाइलोमा फुर्सदको समय कटाउँछन् । जेनी भने राम्रो सूचिकार बन्ने सपना र साधनामा दिनभर ब्यस्त हुन्छिन् । ‘थोरै लगानीमा राम्रो कमाई गर्न सकिने भएकोले सिलाइकटाइको तालिम लिन थालेकी हुँ’, ट्रेनिङ सेन्टरमै भेटिएकी जेनीले तालिम लिनुको कारण खोलिन् । बितेको दुई महिनामा निकै कुरा सिकेको बताउँदै उनले तालिम लिइसकेपछि आपैmंले व्यवसाय शुरु गर्ने सोच रहेको बताइन् । जेनी एक प्रतिनिधि पात्र हुन् । अहिले फिदिम बजारमा खोलिएका सिलाइकटाइ ट्रेनिङ सेन्टरहरु तालिम लिने महिलाहरुले दिनभरीजसो भरीभराउ हुन्छन् । महिलाहरु सिलाइकटाइ पेशामा लोभिनुको एकमात्र कारण हो, थोरै पूँजीमा आकर्षक आम्दानी । तीन वर्षअघि रचना एण्ड सुनिता टेलर्स ट्रेनिङ सेन्टर खोलेकी बर्दियाकी सुनिता चौधरी अहिले आपूmले दैनिक १५ जना महिलालाई तालिम दिइरहेको बताउँछिन् । निर्माणाधीन तल्लो हेंवा हाइड्रोमा काम गर्न आएका पतिसँगै बर्दियाबाट पाँचथर आइपुगेकी सुनिताले तीन वर्षअघि ६० हजार लगानी गरेर शुरु गरेको यो व्यवसायले अहिले मासिक २० हजार रुपैयाँ आम्दानी दिइरहेको छ । ‘पहिले नै सिकेकी थिएँ, सीप हुँदाहुँदै किन त्यसै बस्नु भनेर व्यवसाय शुरु गरेको हुँ’, सुनिताले सुनाइन्, ‘हातमा सीप छ भने जहाँ गए पनि भोकै बस्नु पर्दैन, मसँग तालिम लिइरहेका दिदीबहिनीहरुलाई पनि यही कुरा भन्छु ।’ हुलाकलाइनमै रहेको ज्योति लेडिज टेलर्समा अहिले २५ जना महिलाले तालिम लिइरहेको सञ्चालक ज्योति गुरुङले बताइन् । शुरुमा चितवनदेखि व्यवसाय शुरु गरेकी ज्योती सिरहा हुँदै पतिको जागिरको सिलसिलामा पाँच वर्षअघि फिदिम आइन् । यहाँ पुनः एक लाख लगानी गरेर पुरानै व्यवसायलाई निरन्तरता दिइन् । जसबाट उनी अहिले मासिक १५ हजार रुपैयाँ बचत गर्छिन् । त्योसँगै आपूmजस्तै दर्जनौं महिलालाई तालिम दिएर आत्मनिर्भर बनाउन सकेकोमा गर्व समेत गर्छिन् ज्योती । उनीसँग सिकिरहेका सबै महिलाको साझा सपना हो, राम्रो सूचिकारसँगै सफल उद्यमी बन्ने । ‘त्यही सपना भेट्न दिनहुँ यहाँ आइरहेकी छु’, एक महिलाले भनिन् । दुई महिनादेखि रचना एण्ड सुनिता ट्रेनिङ सेन्टर धाइरहेकी लुङ्रुपाकी सुशीला लिम्बू वर्ष दिनपछि आपैmं मेसिन किनेर व्यवसाय शुरु गर्ने सोचमा छिन् । ‘सके भविष्यमा ट्रेनिङ सेन्टर नै खोल्ने सोच छ’, सुशीलाले भनिन् । उस्तै सोच छ लखनमार्गस्थित फिदिम मिनी मार्केटमा रहेको डाँफेमुनाल टेलर्समा तालिम लिइरहेकी पाँचथर सिवाकी दीपा तुम्रोककोे पनि । डाँफेमुनालमा पनि १२ जना महिलालाई तालिम दिइरहेकी छिन् सञ्चालिका नवीना लिम्बू । उनीहरु सबैले उही सूचिकार सपना पछ्याइरहेका छन् । उनीहरुलाई तालिम लिएबापत् ट्रेनिङ सेन्टरले मासिक एक हजारदेखि १५ सयसम्म शुल्क लिन्छ । सेन्टरको नियमअनुसार कपडा आपैmंले किन्ने वा त्यहीं उपलब्ध हुने हुन्छ । निरन्तर आए एक महिनामा सामान्य कपडा तयार पर्न सक्ने बनाइने डाँफेमुनालका प्रशिक्षक नवीना बताउँछिन् । आपैmंले व्यवसाय शुरु गर्न सक्ने बन्न भने ६ महिनादेखि १ वर्षसम्म लाग्ने उनको भनाइ छ । २०६१ सालमा काठमाडौंमा सिकेर झण्डै पाँच वर्षअघि ट्रेनिङ सेन्टर खोलेकी नवीनाले पनि आपूmले सिकाएका धेरै महिला अहिले आपैmं व्यवसाय गरेर बसेको बताइन् । यही व्यवसाय गरेर मासिक २० हजारसम्म आम्दानी गर्ने नवीना राम्रो अभ्यास गर्ने महिलाहरुले तयार पारेको कपडा पुरुषहरुले बनाउनेभन्दा कम गुणस्तरको नहुने दाबी गर्छिन् । दीपासँगै तालिम लिइरहेका फिदिमकी भूमिका भण्डारी र चोकमागूकी इन्दिरा अधिकारीको पनि उही सपना छ– तालिम सकिएपछि आपैmं व्यवसाय शुरु गर्ने । सिलाइकटाइको व्यवसाय शुरु गर्न १० देखि २० हजारसम्मको मेसिनसँगै अन्य केही आवश्यक उपकरण जोडेर एउटा सानो कोठा भए पुग्छ । कम लगानीमा व्यवसाय शुरु गर्न सकिने र आम्दानी पनि राम्रै हुने भएकाले यो क्षेत्रमा महिलाहरुको उपस्थिति बाक्लिँदै गएको डाँफेमुनालकी सञ्चालिका नवीनाको अनुभव छ । पहिले–पहिले दलित जातिका मानिसले मात्र गर्ने यो व्यवसायप्रति अहिले सबै जातिका मानिसको आकर्षण बढ्दै गएको छ । त्यसमा पनि खास गरेर महिलाहरुको । घरेलु तथा साना उद्योग विकास समिति पाँचथरको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा कार्यालयमा दर्ता भएका ४१ टेलरिङ सेन्टरमध्ये २४ वटा तालिम दिने उद्देश्यले दर्ता भएका थिए । तीमध्ये १२ वटा फिदिम नगरपालिकाभित्रका छन् । हाल एउटाको ठाउँसारी भएको बाहेक अन्य सबै सेन्टर सञ्चालनमा रहेको कार्यालयले जनाएको छ । यसरी तालिम केन्द्र सञ्चालनको लागि दर्ता भएका तीनवटा सेन्टर पुरुषका नाममा र बाँकी सबै महिलाको नाममा छन् । घरेलुको यो तथ्याङ्कले पनि सिलाइकटाइमा महिलाहरुको आकर्षणलाई प्रस्ट्याउँछ । यसले हिंसा र अपहेलनामा परेका महिलाहरुलाई समेत स्वरोजगार र आत्मनिर्भर बनाएको बताइन्छ । सानो पूँजीमा पनि गर्न सकिने, राम्रो आम्दानी हुने, योसँगै अन्य काम पनि गर्न सकिने र बसिबियाँलो काम भएकाले पछिल्लो समय सिलाइकटाइप्रति महिलाहरुको झुकाव बढेको देखिन्छ ।