पाँचथर / भाषा तथा संस्कृतिविद तेजमान आङदेम्बेको निधन भएको छ । पाँचथरको लुम्फाबुङ–३, ततिअक्पास्थित आफ्नै निबासमा बिहीबार साँझ ५ बजे तेजमानले संसार त्यागे । कमलपित्त (जन्डिस) का बिरामी उनी ५१ वर्षको अल्पायुमै सधैंका लागि अस्ताए । परिवार सँग गफ गर्दागर्दै अचानक उनले आँखा चिम्लिए । तेजमान लेखन मार्फत भाषा विज्ञान तथा लिम्बू संस्कृतिको क्षेत्रमा लामो समयदेखि क्रियाशील थिए । उनको निधनले भाषा–संस्कृतिको क्षेत्रमा अपुरणीय क्षति भएको भन्दै विभिन्न भाषिक तथा साँस्कृतिक अभियानका अभियन्ताहरुले दुःख व्यक्त गरेका छन् । यतिबेला स्व.तेजमान प्रतिको श्रद्धाञ्जलीका शब्द र तस्विरहरुले सामाजिक सञ्जालका भित्ता भरिएका छन् । अत्यन्तै सामान्य जीवनशैली, शालीन व्यक्तित्व र उच्च बौद्धिकताका कारण कुनै न कुनै रुपमा चर्चामा आइरहने तेजमानका ‘भाषा, संस्कृति र इतिहासका क्यानसरहरु’, ‘नेपाल उपत्यकामा किरात शासन र शासन समयको सवाल’, ‘द क्लासिकल लिम्बू ल्याङ्ग्वेज ः अ ग्रामण एण्ड डिक्नेरी अफ् अ किरात मुन्धुम’ जस्ता गहन कृतिहरु प्रकाशित छन् । त्यस बाहेक विभिन्न राष्ट्रिय–अन्तराष्ट्रिय पत्रपत्रिका, पुस्तक र जर्नलहरुमा भाषा विज्ञानको क्षेत्रमा शैद्धान्तिक महत्व राख्ने दर्जनौं लेखहरु प्रकाशति छन् । तेजमानको लिम्बू संस्कृतिका विभिन्न पक्षहरुबारेमा लेखिएका विचारोत्तेजक लेखहरु पनि उत्तिकै प्रिय र चर्चित छन् । तेजमानको निधनले भाषा विज्ञान र लिम्बू संस्कृतिको क्षेत्रमा ठूलो क्षति पुगेको याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्र कुमार जवेगु बताउँछन् । गाउँकै पाठशालादेखि हात्तिसार क्याम्पस धरान, महेन्द्र बहुमुखि क्याम्पस ताचाहल काठमाण्डौं र त्रिभुवन विश्वविद्यालय हुँदै नेदरल्याण्डको नाइडन विश्वविद्यालयसम्मको अध्ययन यात्रा तेजमानले गरे । नाइडन विश्वविद्यालयको तुलनात्मक भाषा विज्ञान विभागको प्रमोटरसँग भोट–बर्मेली भाषा विज्ञानको एउटा शैद्धान्तिक विवादका कारण विद्यावारिधि परित्याग गरी नेपाल फर्केका तेजमान पछिल्लो समय आफ्नै गाउँको लुम्फाबुङ माविमा अध्यापन गरी गाउँको शैक्षिक उन्नयनमा लागेका थिए । नेपालको विभिन्न सहरका नामी क्याम्पसहरुमा समेत अध्यापन गरेका तेजमानले रेडियो नेपाल राष्ट्रिय भाषा सामाचार डेक्समा लिम्बू भाषाको समाचार सम्पादक तथा वाचकको रुपमा समेत काम गरेका थिए । यसबारे बालकृष्ण माबुहाङले स्व.तेजमान प्रति श्रद्धाञ्जली दिंदै आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्– यताउती कतै नहेरी नेपाली भाषामा लेखिएका वा राससबाट प्रिन्ट भई आएका बासी समाचारका टुक्राहरु लिम्बू भाषामा सम्पादन गरिरहेका युवक मलाई आदरकासाथ दाई भन्थे । स्व.तेजमानबारे विश्व नेपाली साहित्य महासंघका अध्यक्ष विश्वासदीप तिगेलाले लण्डनबाट आफ्नो फेसबुक स्टाटसमा श्रद्धाञ्जली दिंदै लेखेका छन्– उहाँको नाम सुन्दै विषाल लाग्थ्यो, काम सुन्दा झन विषाल लाग्थ्यो । त्यस्तै कवि तथा लेखक धर्मेन्द्रबिक्रम नेम्बाङले तेजमान आफूले ज्यादै सम्मान गर्ने केही स्कलरहरुमध्ये एक भएको भन्दै फेसबुकमा लेखेका छन्– जति बाँच्नुभयो स्वाभिमानले बाँच्नुभयो म सधैं सम्झिरहनेछु । त्यस्तै सांस्कृतिक अभियन्ता डि.बि.आङबुङले पनि एक स्वाभिमानी स्रष्टाको असामयिक निधनले मर्माहत बनाएको भन्दै लेखेका छन्– गाउँमै भएको भए बिहानभर हिंडेर उहाँको पार्थिव शरीरसम्म पुगि एक थुङ्गा फूल र एक अञ्जुली माटो चढाउँथें, अब सम्झना र सपनाहरु मात्र बाँकि रहे । यता लिम्बू भाषाको आधारभूत तह (कक्षा ६–८) को पाठ्यक्रम निर्माणको काम गर्दै गरेका मलिसा याक्थुङ्बाले पनि भाषा–संस्कृतिको क्षेत्रमा एक होनहार हस्ती गुमाउँनु पर्दा बेहद पीडा भएको भन्दै भनेका छन्– हामीले एक कुशल मार्गनिर्देशक गुमाएका छौं, जसको पुरताल हुन त्यति सजिलो छैन । विशेष गरी भाषा विज्ञानको क्षेत्रमा गहिरो अध्ययन गरेका तेजमानले स्वदेश तथा विदेशका समेत विभिन्न गोष्ठीहरुमा भाषा विज्ञान सम्बन्धि कार्यपत्रहरुको प्रस्तोताको रुपमा सहभागि भएका थिए । वास्तवमा तेजमान एउटा विम्व अथवा किस्सा जस्तो आजिवको पात्र भएको सञ्चारकर्मी मंगल बेघा बताउँछन् । उनको निधनको खबर सुन्ने बित्तिकै उनको निवास लुम्फाबुङमा तेजमानको पार्थीव शरीरमा अन्तिम श्रद्धाञ्जली दिन र शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्न उनका सुभचिन्तक र आफन्तजनको भीड गालको छ । उनको अन्तिम दाहसंस्कार शनिबार बिहान उनकै निबास लुम्फाबुङमा गरिने पारिवारिक श्रोतले जनाएको छ । tejman