विजयपुर । प्रधानमन्त्री सुशीला कार्कीले देशवासीको नाममा सम्बोधन गरेकी छन् । सम्बोधनमा उनले सबै मतदातालाई निर्वाचनमा सरिक भइदिन आग्रह गरिन् ।

सोमबार सम्बोधनमा प्रधानमन्त्री कार्कीले भनिन्, 'अब मेरो पहिलो आग्रह तपाईँ मतदाताहरूसँग छ । देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि सबै मतदाता आगामी निर्वाचनमा सरिक भइदिनुहोस् ।'

उनले चुनावको सबै तयारी पूरा भएको बताइन् । 'भोट हाल्नु भनेको केवल चुनाव चिह्नमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र होइन, यो त तपाईँले आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो,' प्रधानमन्त्री कार्कीले भनिन्, 'तसर्थ, फागुन २१ गते बिहीबारका दिन अरू काम छाडेरै भए पनि आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुहुन म हार्दिक अपिल गर्दछु ।'

उनले जटिल, संवेदनशील र चुनौतीपूर्ण परिस्थितिमा आफूले जिम्मेवारी सम्हालेको स्मरण गरिन् । उनले शान्ति र अमनचयन कायम राख्न सबै पक्षलाई अनुरोध गरिन् । उनले भनिन्, 'चुनावमा स्वस्थ प्रतिस्पर्धा हुन्छ, फरक विचार हुन्छ, तर हामीबीच मनमुटाव र वैमनस्य हुनुहुँदैन ।' उनले राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई धन्यवाद दिँदै भनिन्, 'तपाईँहरूको सक्रियताले नै हाम्रो लोकतन्त्र जीवित रहने हो ।' प्रधानमन्त्री कार्कीले निर्वाचन निष्पक्ष, स्वच्छ र भयरहित रूपमा सम्पन्न गर्न नेपाल सरकार र आयोग पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारिन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलले खेलेको अभिभावकीय भूमिकाप्रति कृतज्ञता ज्ञापन गरिन् । उनले मुलुकमा कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय दिने काम नहुने बताइन् ।

प्रधानमन्त्री कार्कीले मध्यपूर्वी क्षेत्रमा युद्धको संकट गहिरिएको बताउँदै इरान र वरपरको तनावले चिन्तित बनाएको उल्लेख गरिन् । 'विकसित घटनाक्रमलाई नेपाल सरकारले सूक्ष्म रूपमा नियालिरहेको छ । त्यहाँ रहनुभएका हाम्रा नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरूको सुरक्षा हाम्रो ठूलो चासोको विषय हो'- प्रधानमन्त्री कार्कीले भनिन् । उनले परराष्ट्र मन्त्रालयले सघन अनुगमन गरिरहेको बताउँदै भनिन्, 'हामी हरदम तपाईँहरूको साथमा छौँ । नेपाली जहाँ रहे पनि प्रत्येक नागरिकको व्यक्तिगत सुरक्षा र हितको रक्षामा यो सरकार कटिबद्ध छ ।'

उनले इतिहासकै यो कठिन मोडमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेर देशलाई नेतृत्व दिनुलाई आफ्नो मातृभूमिप्रतिको जिम्मेवारीका रूपमा लिएको बताइन् । उनले सधैँ न्याय र निष्ठाको पक्षमा उभिएर काम गर्ने प्रयास गरेको उल्लेख गरिन् । उनले अब केही दिनमा देशको बागडोर जनताले नै चुन्ने प्रतिनिधिहरूको हातमा पुग्ने बताइन् ।