विजयपुर । सरकारले मध्यपूर्व क्षेत्रका नेपालीलाई सुरक्षा निर्देशन पालना गरी सुरक्षित रहन आग्रह गरेको छ ।
मध्यपूर्व क्षेत्रमा पछिल्लो विकसित घटनाक्रमपछि नेपालीलाई सम्बन्धित मुलुकको सुरक्षा निर्देशन पालना गर्न सरकारले आग्रह गरेको हो । परराष्ट्र मन्त्रालयमार्फत सरकारले नेपाली नागरिकको सुरक्षा उच्च प्राथमिकतामा रहेको जनाउँदै सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको हो ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले भने, 'हालसम्म त्यस क्षेत्रमा नेपाली नागरिक सुरक्षित छन् । नेपाल सरकारले घटनाक्रम नजिकबाट हेरिरहेको छ । सम्बन्धित मुलुकले जारी गरेको सुरक्षासम्बन्धी सूचना जानकारी लिई त्यसको पालना गर्न आग्रह गर्दछौं ।' मन्त्रालयले '¥यापिड एक्सन टिम' गठन गर्न लागेको सहसचिव ढकालले जानकारी दिए । संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि संयुक्त सैन्य आक्रमण गरेको र इरानले त्यसको प्रत्याक्रमण गरेपछि मध्यपूर्वको स्थिति तनावपूर्ण बनेको छ ।
मध्यपूर्व र आसपासका इरानमा छ जना, इजरायलमा छ हजार ५००, इजिप्टमा ५००, ओमानमा २५ हजार, कतारमा तीन लाख ५७ हजार, कुवेतमा एक लाख ७५ हजार, जोर्डनमा तीन हजार, बहराइन २८ हजार, साउदी अरबमा तीन लाख ८४ हजार ८६५, संयुक्त अरब इमिरेट्समा चार लाख ७८ हजार १४४, लेबनानमा एक हजार ५००, इराकमा ३० हजार र साइप्रसमा १७ हजार गरी हाल कुल १७ लाख २९ हजार २८८ जना नेपाली नागरिक रहेको मन्त्रालयले जनाएको छ ।
पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपालीको सुरक्षाका लागि सरकारले आवश्यक काम र पहल गरिरहेको बताए । उनले नेपाली नागरिकलाई घरभित्रै सुरक्षित रहन, सूचना पालना गर्न, अफ्ठ्यारो परेमा दूतावास र मन्त्रालयसँग सम्पर्कमा रहन आग्रह गरे । मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुख रामकाजी श्रेष्ठले नेपाली नागरिकको सुरक्षाका लागि आठ दूतावास र दुई कन्सुलर सेवाबाट सूचना जारी गरी समन्वय भइरहेको बताए ।





























