-भोजराज श्रेष्ठ
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएको युनिफाइड कमान्डको कार्यक्रममा सर्वसाधारण उपस्थित भएको विषयलाई उल्लेख गर्दै “झापा गुञ्जयमान, केपी ओली महासागर जस्तो आमसभा ! अब कालो चस्मा लाउने केटाको केही नलाग्ने, जित पक्का !” भनी लेखेको फोटो भाइरल भएको छ ।
तर, हाम्रो तथ्य जाँचले उक्त फोटो डिजिटल रूपमा सम्पादन गरिएको र वास्तविक नभएको पुष्टि गरेको छ ।
के हो दाबी ?
२२ हजार फेसबुक फलोअर रहेका सुरेश बोहोरा (Suresh Bohora) नामक फेसबुक प्रयोगकर्ताले सोमबार (फेब्रुअरी २३, २०२६ सयम दिनको १९ः५३ बजे) एउटा फोटो पोस्ट गरेका छन् ।
हामीले तथ्य जाँच गर्दाको समयसम्म ४९ हजार रियाक्सन, ६ हजार आठ सय कमेन्ट र ३४३ पटक शेयर गरिएको छ ।
हेर्नुहोस् स्क्रिन सट :

उक्त फेसबुक पोस्टको लिङ्क र अर्काइभ लिङ्क ।
के हो तथ्य ?
यो दाबी जाँच गर्नका लागि सबैभन्दा सुरुमा गुगल रिभर्स इमेज सर्च प्रयोग गरी फोटोको स्रोत खोजी गर्यौँ । सोही फोटो प्रयोग भएका कयौँ अन्य फेसबुक पेज फेला पर्यो । सामान्य आँखाले हेर्दा पनि फोटो डिजिटल रुपमा सम्पादन गरेको हुन सक्ने अनुमान गर्दै एआई निर्मित फोटोहरु जाँच गर्ने एआई टुल्सको सहायता लियौँ । ट्रुथ स्क्यान डटकम (https://truthscan.com) एआई टुल्स प्रयोग गरी जाँच गर्दा ९४ प्रतिशत एआई निर्मित भनी पुष्टि गर्यो ।
हेर्नुहोस् स्क्रिन सट :

यसै गरी हाइभ मोडरेसन (https://hivemoderation.com) एआई टुल्सको प्रयोग गरी जाँच गर्दा २९.२ प्रतिशत सम्पादन भएको अनुमान गर्यो ।
हेर्नुहोस् स्क्रिन सट :

थप फोटोको मूल स्रोतको खोजी गर्दै जाँदा एक लाख ९ हजार फलोअर रहेको फेसबुक पेज इन डेप्थ स्टोरी (In-Depth Story) मा सोही स्थानको मूल फोटो फेला पार्यौँ । खासमा यो फोटो झापाको दमकमा नेसनल भोलेन्टियर फोर्स कोशी युनिफाइड कमान्ड घोषणासभा कार्यक्रमको हो । जहाँ अध्यक्ष ओली प्रमुख अतिथिका रुपमा उपस्थित रहेका थिए ।
हेर्नुहोस् स्क्रिन सट :

वास्तविक र एआई निर्मित फोटोको तथ्यलाई हेर्नुहोस् ।

निर्वाचनको बेलामा यस्ता डिजिटल रुपमा सम्पादित फोटोले मतदाताहरुलाई प्रभावित पार्न सक्ने भएकाले हामीले यसको तथ्य जाँच गरेका हौँ ।
तथ्य जाँच
दाबी : एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यक्रममा मानवसागर उपस्थिति भएको ।
दाबीकर्ता : सुरेश बोहोरा नामक फेसबुक प्रयोगकर्ता ।
तथ्य : भ्रामक । भाइरल फोटो वास्तविक होइन । ट्रुथ स्क्यान डटकम (https://truthscan.com)र हाइभ मोडरेसन (https://hivemoderation.com) एआई टुल्स प्रयोग गरी जाँच गर्दा डिजिटल रूपमा सम्पादन गरेको हाम्रो तथ्य जाँचबाट पुष्टि हुन्छ ।





























