विजयपुर । राष्ट्रिय मानव अधिकार आयोगले युद्धप्रभावित क्षेत्रमा रहेका नेपालीको सुरक्षा र उद्धारमा ध्यान दिन सरकारलाई आग्रह गरेको छ ।

आइतबार आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा इरानमाथि इजरायल-अमेरिकाले गरेको आक्रमणपछि मध्यपूर्वका विभिन्न देशमा उत्पन्न अन्योलपूर्ण अवस्थाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

आयोगले युद्धका कारण त्यस क्षेत्रमा रहेका नेपाली नागरिकमा पर्न सक्ने सम्भावित जोखिमप्रति चासो र चिन्ता व्यक्त गरेको हो । आयोगद्वारा जारी विज्ञप्तिमा राज्य आफ्ना नागरिकको अभिभावक भएकाले विश्वका जुनसुकै देशमा रहेका नेपालीको सुरक्षा, संरक्षण र आवश्यकताअनुसार उद्धार गर्नु सरकारको दायित्व भएको स्मरण गराएको छ ।

विषम परिस्थितिमा सरकारले युद्धग्रस्त तथा प्रभावित देशहरूमा रहेका नेपाली नागरिकको यथार्थ तथ्याङ्क सङ्कलन गरी पछिल्लो अवस्थाबारे निरन्तर जानकारी लिनुपर्ने आयोगको धारणा छ । यस्तै, जोखिममा रहेका नागरिकको उद्धार गरी स्वदेश फर्काउन तत्काल पहलकदमी लिन आग्रह गरेको छ । विदेशस्थित कूटनीतिक नियोगहरूको प्रभावकारी परिचालन गर्न तथा सम्बन्धित देशमा क्रियाशील गैरआवासीय नेपाली संघ-संस्थासँग समन्वय र सहकार्य गर्न आयोगले सरकारलाई आग्रह गरेको छ । आयोगले विशेषगरी अतिप्रभावित क्षेत्रमा रहेका नेपालीको अवस्थाको मूल्याङ्कन गरी आवश्यक परे सुरक्षित स्थानान्तरण र उद्धारको व्यवस्था गर्न जोड दिएको छ ।