विजयपुर । धरान-१० स्थित यूएन स्कुलमा 'विज्ञान, कला, शिल्प तथा खाद्य प्रदर्शनी महोत्सव सम्पन्न भएको छ ।
आइतबार विद्यार्थीहरूमा रहेको प्रतिभा प्रस्फुटन गराउने र प्रयोगात्मक शिक्षामा अभ्यस्त गराउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको स्कुलका प्रिन्सिपल सर्ण कुमार सम्बाहाम्फेले बताए । कार्यक्रममा विद्यालयका प्लेग्रुपदेखि कक्षा-१० सम्मका विद्यार्थीहरू र नवोदय विद्यामन्दिर इङ्लिस बोर्डिङ स्कुल, सुनाखरी एकेडेमी सेकेन्डरी स्कुललगायतका स्कुलका शिक्षक विद्यार्थीहरूको सहभागिता रहेको थियो । विज्ञान र प्रविधिमा विद्यार्थीहरूले आफैँले तयार पारेका हाइड्रोलिक ब्रिज, स्मार्ट सिटीको नमुना, ब्लड सर्कुलेशन, एसिड वेन्ड, सोलार सिस्टम, डे एन्ड नाइट मोडल, एट्मोस्फियर लेयर, हाइड्रो इलेक्ट्रिसिटी, ड्रोन, ज्वालामुखी विष्फोटको डेमो र वातावरण मैत्री ऊर्जाका स्रोतहरूजस्ता नवीन मोडेलहरू प्रदर्शन गरेका थिए ।
कला र शिल्पमा नयाँ तथा खेर भएर जाने सामग्रीहरूबाट बनाइएका सजावटका सामान, हस्तकला, चित्रकला र नेपाली संस्कृति झल्काउने विभिन्न शिल्पकलाहरू प्रदर्शनीमा राखिएको थियो ।खाद्य महोत्सवमा विद्यार्थीहरू आफैँले 'सेफ' को भूमिका निभाउँदै विभिन्न परम्परागत तथा आधुनिक खाजाहरूका स्टलहरू राखेका थिए । जसमा मःम, ससेस, लस्सी, चिकेन ललिपपलगायत स्थानीय स्वादका परिकारहरू राखिएको थियो । विद्यालयका प्रिन्सिपल सर्ण कुमार सम्बाहाम्फेले विद्यार्थीहरूलाई किताबी ज्ञानमा मात्र सीमित नराखी सृजनात्मक, व्यवस्थापन कौशल र वैज्ञानिक सोचको विकास गर्न प्रदर्शनीले सहयोग पुग्ने बताए ।
कार्यक्रममा अभिभावक, शिक्षाविद्, स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो । प्रदर्शनीले विद्यार्थीमा उद्यमशीलताको भावना जगाउनुका साथै भविष्यमा वैज्ञानिक र सफल उद्यमी बन्न प्रेरणा मिल्ने स्कुलका निर्देशक डम्बरकुमार तुम्बापोले बताए । धरान १० वडा सदस्य प्रमुख अतिथि रहेको कार्यक्रममा लियो क्लब अफ धरानका अध्यक्ष लियो मनिष मेहता र सदस्य कविता भुसालले अवलोकनकर्ताहरूको स्वास्थ्य परीक्षण गरेको शिक्षक राम बहादुर लिम्बुले जानकारी दिए ।





























