विराटनगर । सुनवर्षी–६ का शङ्कर पासवान आइतबार दिउँसो निराश थिए । कोशी अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा जीवन र मरणको दोसाँधमा रहेकी श्रीमती सीतादेवीको चिन्ताले उनलाई पिरोलेको थियो नै, त्यसमाथि अस्पतालको गेटैमा रहेको औषधि पसलले गरेको ‘लुट’ ले उनको ढाड सेकेको थियो ।
पित्तथैलीको शल्यक्रियापछि भएको इन्फेक्सनले थलिएकी श्रीमती बचाउन शङ्करले जसोतसो १५ हजार रुपैयाँ जम्मा गरेर अस्पताल बाहिरको ‘रामराज फर्मा’ मा बुझाए । अस्पतालभित्रको फार्मेसीभन्दा बाहिर सस्तो पाइने आशामा उनी त्यहाँ पुगेका थिए । तर, उनको त्यो विश्वास तब उड्यो, जब १० हजारको बिल हातमा पर्यो ।
“यहाँ त औषधिको व्यापार होइन, बिरामीको बाध्यताको लिलामी हुँदो रहेछ”–उनले चिन्तित मुद्रामा भने । फार्मेसीले बढी मूल्य लिएको हुनसक्ने आशङ्का गरेर उनले छिमेकीमार्फत् औषधि व्यवस्था विभाग (डिडिए) मा गुनासो सुनाएका थिए । त्यसपछि डिडिएको टोली आएर छापा मार्यो ।
आइतबार डिडिए विराटनगरले उक्त फर्मामा छापा मार्दा शङ्करको आशङ्का सत्य सावित भयो । उनले किनेको ‘प्याराडिन’ र ‘एनी ओर्निडा’ नामक औषधिमा फार्मेसीले मनपरी मूल्य असुलेको भेटियो । एक एमजीको ‘प्याराडिन’ ४ वटाको ७ सय २० रुपैयाँका दरले दुई हजार आठ सय ८० रुपैयाँ मात्र लिनुपर्नेमा फार्मेसीले शङ्करसँग तीन हजार ७२ रुपैयाँ लिएको थियो । त्यस्तै पाँच सय मिलिग्रामको ‘एनी ओर्निडा’ (एन्टिबायोटिक) को एक सय ४८ रुपैयाँ तिर्नुपर्नेमा एक सय ९८ रुपैयाँ असुलिएको थियो ।
“मैले त प्रिन्ट रेटभन्दा कम गरिदिनू भनेको थिएँ” शङ्करले गुनासो सुनाउँदै भने, “तर, यहाँ त औषधिको मूल्यमाथि नै ठगी धन्दा चलाइएको रहेछ ।” रामराज फर्माको धन्दा आर्थिक ठगीमा मात्र सीमित छैन, यसले बिरामीको स्वास्थ्यमाथि नै गम्भीर प्रहार गरिरहेको अनुगमन टोलीले फेला पारेको छ । २ देखि ८ डिग्री सेल्सियसको स्थिर तापक्रममा फ्रिजमा राख्नुपर्ने संवेदनशील औषधिहरू फ्रिज नै बन्द गरेर राखिएको अवस्थामा भेटिएको अनुगमन अधिकारीहरूले जनाए । डिडिएका फार्मेसी निरीक्षक रामकुमार मग्रातीका अनुसार तापक्रम नमिलाई राखिएका यस्ता औषधिहरूले बिरामीलाई निको पार्नुको साटो उल्टै समस्यमा पार्ने बताए ।
“यो आर्थिक ठगी मात्र होइन, स्वास्थ्य मापदण्ड विपरीतको काम पनि होे” मग्रातीले भने, “हामीले पसलमा शिलबन्दी गरेर सम्पूर्ण खाता नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौँ ।” विराटनगरका औषधि पसलहरूमा देखिएको यो बेथिति कुनै नौलो भने होइन । यो त एउटा प्रतिनिधि घटना मात्र हो । केही दिनअघि मात्रै नोबेल शिक्षण अस्पताल आसपासका १४ फार्मेसीमा गरिएको आकस्मिक अनुगमनले विराटनगरको औषधिको कालोबजारी कति भयावह छ भन्ने छर्लङ्ग पारेको थियो ।
त्यसबेला डिडिएले सातवटा फार्मेसीमा ताला लगाएको थियो । सीताराम, छिन्नमस्ता, धनगढी माई मेडिकल, सुसंस्कृति, गोल्ड, मित्र र आविष्कार फार्मेसीले कानूनको धज्जी उडाएको प्रशासनको ठहर छ । कतै विना दर्ताका विदेशी औषधि बिक्री भइरहेका थिए भने कतै म्याद गुज्रिएका औषधि बिरामीलाई जबर्जस्ती भिडाइएको थियो ।
“बिरामी ठगिएको गुनासो यति धेरै आयो कि हामी एक्सनमा नउत्रिई सुखै भएन” डिडिएका सूचना अधिकारी दीपेन्द्र खड्का भन्छन्, “अधिकांशले न मूल्यको पालना गरेका छन्, न त औषधिको भण्डारण मापदण्ड नै । मित्र फार्मेसीले त बिरामीलाई आवश्यक नपर्ने औषधिसमेत थमाइदिएर ब्रह्मलुट मच्चाएको भेटियो ।” अस्पतालको गेटैमा बसेर बिरामीको उपचारमा सघाउनु पर्ने फार्मेसीहरू अहिले ‘कमिसन’ र ‘कालोबजारी’ को अखडा बनेका छन् । सरकारी संयन्त्रको आँखा छलेर फार्मेसीहरूले ऐनअनुसार काम नगरेको गुनासो व्यापक बढेको छ ।
































