धरान । धरान उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले कसरी अदालतको आदेशको अवज्ञा गरेका थिए भन्ने घटना हालै बाहिरिएको छ ।
सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको चुनाव लडिरहेका निवर्तमान नगर प्रमुख राईले आफ्नो कार्यकालमा भएको एउटा घर भाडा विवाद प्रकरणमा अदालतको आदेशको अवज्ञा गरेको घटना बाहिरिएको हो । घटना अनुसार धरान–८ स्थित आकाश मार्गमा घर भएकी रोशनी ताम्राकारले आफ्नै घरमा ४ वर्षदेखि डेरा गरी बस्दै आएकी पदमा राईलाई घर खाली गर्न आग्रह गर्दा सुरु भएको विवाद अदालतबाट टुङ्गिएको थियो । तर अदालतको आदेशको कार्यान्वयन गर्नमा निवर्तमान नगर प्रमुख राईले भूमिका नखेल्दा पीडित परिवार थप पीडित बनेका थिए ।
घर खाली नगरेपछि वडा कार्यालय, धरान उपमहानगर पालिकाको न्यायिक समिति हुँदै सुनसरी जिल्ला अदालतमा मुद्दा दायर गरेको ताम्राकारले बताइन् । जिल्ला अदालतलगायत सबै निकायले आफ्नो पक्षमा फैसला गरेपछि उक्त निर्णय पुनरावेदन हुँदै सर्वोच्च अदालतसम्म पुगेको उनले बताइन् । अन्ततः अदालतले आफ्नो पक्षमा नै फैसला गरेको उनले बताइन् । यद्यपि अदालतबाट अन्तिम आदेश आए पनि कार्यान्वयन प्रक्रिया अघि नबढेको पीडित ताम्राकार बताउँछिन् ।
तत्कालीन नगर प्रमुख राईले पूर्वाग्रह राख्दै नगर प्रहरी परिचालन नगर्दा अदालतको आदेश कार्यान्वयन हुन नसकेको उनको जिकिर छ । “वडा कार्यालयदेखि सर्वोच्च अदालतसम्म धाइयो, तर आदेश कार्यान्वयन भएन, अब हामीलाई कसले न्याय दिने ?”–ताम्राकारकी दिदी भूमिता ताम्राकार भन्छिन् । यस प्रकरणमा धरान उपमहानगरपालिकाको नगर कार्यपालिकाबाट २०८० साउन २५ गते “घर खाली गर्ने सम्बन्धमा” शीर्षकको पत्र जारी भएको देखिन्छ । उक्त पत्रमा सम्बन्धित व्यक्तिलाई घर खाली गर्न नगर प्रहरीलाई निर्देशन दिँदै आवश्यक परे प्रहरी प्रशासनको सहयोग लिन सकिने उल्लेख गर्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले पत्र लेखेका थिए ।
त्यसअघि वडा नं. ८ कार्यालयले पनि २०८० पुस १९ गते एक महिनाको अन्तिम म्याद दिँदै सूचना जारी गरेको थियो । तर आदेश जारी भए पनि कार्यान्वयन नभएको विषयले स्थानीयस्तरमा प्रश्न उठाएको छ । कानून व्यवसायीका अनुसार अदालतको अन्तिम आदेश कार्यान्वयन गर्नु सम्बन्धित निकायको दायित्व हो । यस घटनाले स्थानीय तहमा कानूनी शासन र प्रशासनिक निष्पक्षतामाथि प्रश्न उठाएको छ ।
यस विषयमा निवर्तमान नगर प्रमुख राईले औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन् । उल्टो उनले न्याय माग्न गएकी रोशनी ताम्राकारकी दिदीभेनाजुलाई पत्रकार लिएर किन आएको भन्दै उल्टै हप्काएर पठाएको भिडियो तत्कालीन समयमा सार्वजनिक भएको थियो । पीडित पक्षले अदालतको आदेश कार्यान्वयन गरी न्याय दिलाइदिन सम्बन्धित निकायसँग पुनः माग गरेको छ । यस विषयमा कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाले यस विषयमा चाँडै पीडित पक्षलाई न्याय दिलाइने बताए । उनले अदालतको आदेशलाई कार्यान्वयन गर्न स्थानीय निकाय सधैँ कटिबद्ध रहेको बताए ।

































