विजयपुर । रङ्गहरूको पर्व फागु पूर्णिमा (होली) काठमाडौँ उपत्यकासहित पहाडी तथा हिमाली जिल्लाहरूमा हर्षोल्लासका साथ मनाइँदै छ ।
होलीका अवसरमा सरकारले पहाडी जिल्लामा सार्वजनिक बिदा दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाका दिन पहाडी तथा हिमाली जिल्लामा होली मनाउने गरिन्छ ।
भोली तराई तथा भित्री मधेसका जिल्लाहरूमा होली मनाउने परम्परा रहेको छ । प्रशासनले होलीका नाममा उश्रृङ्खल गतिविधि नगर्न, जथाभाबी रङ र अबिर नदल्न तथा सार्वजनिक शान्ति भङ्ग हुने काम नगर्न सचेत गराएको छ । नियम उल्लङ्घन गर्ने विरुद्ध कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ । कन्सर्टका कार्यक्रममा नगर्न पनि प्रशासनले जनाएको छ ।
असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको तथा दुराचारमाथि सदाचारको विजयको प्रतीकका रूपमा मनाइने पर्वमा आपसी रिसराग बिर्सेर प्रेम, सद्भाव र आत्मीयतासहित एक–अर्कामा अबिर तथा रङ दलेर खुशियाली साटासाट गर्ने चलन छ । होलीलाई आपसी मेलमिलाप र सामाजिक सद्भाव सुदृढ गर्ने पर्वका रूपमा लिइन्छ । यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना सन्देश जारी गर्दै मर्यादित र सभ्य ढंगले होली मनाउन सबैमा आग्रह गरेका छन् ।





























