विजयपुर । नेपाली कांग्रेसबाट सुनसरी क्षेत्र नं. १ का उम्मेदवार सुजेन्द्र तामाङले धरान उपमहानगरपालिकाका निवर्तमान प्रमुख हर्कराज राईले खानेपानी परियोजना अस्वीकार गर्नु धरानवासीप्रति धोका भएको बताएका छन् ।
सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै तामाङले ६ अर्ब रुपैयाँको खानेपानी आयोजना अस्वीकार गरिनु दुर्भाग्यपूर्ण भएको बताए । निवर्तमान नगर प्रमुख राईले एडीबीको ऋण-अनुदान सहयोगमा सञ्चालन हुन लागेको परियोजनालाई पत्र पठाएर अस्वीकार गरेका थिए । पत्राचार गरेका कारण आयोजना अघि बढ्न नसकेको हो । तामाङले धरानको दीर्घकालीन विकासका लागि पूर्वाधार विस्तार अपरिहार्य रहेको बताए । कोशी राजमार्गको समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाए । साथै, धरान-लेउती बहुउद्देश्यीय सुरुङमार्ग निर्माणका लागि आफूले विशेष पहल गर्ने बताए । उनले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधानलाई प्राथमिकतामा राख्ने बताउँदै गाँस, बास र कपासको सुनिश्चितता गर्ने प्रतिवद्धता व्यक्त गरे । जलाधार क्षेत्रको सिमाङ्कन गरी जलाधार क्षेत्रमा नपर्ने तर रोक्का रहेका जग्गा फुकुवाका लागि पहल गर्ने उनको भनाइ छ । धरानबाट व्यवसायी पलायन भइरहेको उल्लेख गर्दै तामाङले व्यवसायीमैत्री वातावरण सिर्जना गर्न आफू प्रतिबद्ध रहेको बताए ।
































