विद्यार्थी राजनीतिदेखि नै सक्रिय र स्थापित नाम हो सूर्यबहादुर भट्टराई (मनोज) । दुई कार्यकाल धरान–१७ का वडाध्यक्षमा निर्वाचित भई कार्यसम्पादन गरिसकेका भट्टराई स्थानीय तहको नेतृत्व र जनसेवाको अनुभव बोकेका नेता हुन् । वडाध्यक्षको दोस्रो कार्यकालमा धरानका तत्कालीन नगर प्रमुखका नीतिविपरीतका निर्णय तथा अन्यायका विरुद्ध निरन्तर आवाज उठाए । आवाज उठाएकै कारण भट्टराईलाई सामाजिक सञ्जालमा विभिन्न उपनाम दिँदै दानवीकरण मात्र गरेनन्, भौतिक आक्रमण गर्ने प्रयाससमेत गरे । अन्याय, अत्याचार र नीतिविपरीतका कार्यविरुद्ध आवाज उठाउँदै आएका भट्टराई स्पष्ट विचार र सक्रिय भूमिकाका कारण छुट्टै राजनीतिक पहिचान बनाउन सफल बनेका छन् । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नं. १ बाट विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तीमध्ये भट्टराई फरक सोच, स्पष्ट एजेन्डा र स्थानीय अनुभवका आधारमा बलियो दाबेदारका रूपमा प्रस्तुत भएका छन् । हाल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका भट्टराईका चुनावी एजेन्डा, प्राथमिकता र जितका आधारबारे ‘ब्लाष्ट’ ले गरेको कुराकानीको सम्पादित अंशः
मेरो उम्मेदवारी सैद्धान्तिकरूपमा मुख्यतः भूगोल र मनलाई जोड्ने हो । यसको लागि नीतिगत तहमा उपस्थितिको आवश्यकता पर्न जान्छ । सुनसरी १ बाट निर्वाचित भएँ भने उक्त नीतिगत निर्णय गर्ने तहमा हुने मेरो उपस्थिति भूगोल र मन जोड्ने दिशामा केन्द्रित रहनेछ ।
यो कसरी सम्भव छ ?
अरूले असम्भव भन्दै आएको कुरालाई हाम्रो नेतृत्वले सम्भव बनाएको कुरा भनिरहनु पर्ने विषय होइन । मुख्यतः रणनीति र कार्यनीतिको सवाल हो । हामीले तयार पारेको रणनीतिअनुसार सुनसरी १ को भूगोल र मनलाई जोड्ने दुई आधार छन् । पहिलो ‘फिजिकल्ली’ र दोस्रो ‘स्पिरिचुवल्ली’ । अर्थात्, सुनसरी १ को भूगोललाई एकापसमा जोड्ने मुख्य नाकाहरुको पूर्वाधार विकास गर्ने र सुनसरीमा रहेका आस्थाका केन्द्रहरूलाई एउटा योजनामा हालेर प्रवद्र्धन गर्ने । यी दुई कुरामा ध्यान दिन सकियो भने भूगोल र मन दुवै जोडिन्छ ।
तपाईंले भनेको कुरा विकासको गतिविधि भएन र ?
यो निर्वाचन त विकास गर्नको लागि त होइन । – तपाईंले भनेको कुरा ठीक हो । यो विकासको गतिविधि नै हो । यद्यपि, यो निर्वाचन विकास निर्माण गर्ने निर्वाचन होइन । नीतिगत निर्णय गर्ने थलोमा जाने निर्वाचन हो । तर, यसो भनिरहँदा हामीले विकासको कुरालाई अस्वीकार गरेको भने होइन, हामीले उठाएको सवाल भनेको नीतिगत संरचनामा आधारित विकास कुरा हो । बजेट छरेरमात्र विकासको कल्पना गर्न सकिन्न, नीति बनाएर संरचनागत हिसाबले अगाडि बढ्नु पर्छ । त्यसैले विकास गर्नको लागि विकासको मोडेल तथा स्थानीय जीवनलाई पार्ने प्रभावहरुलाई नीतिमा ढाल्नु पर्छ र विकास निर्माणलाई अगाडि बढाउनु पर्छ । ल मतदाताले तपाईलाई किन विश्वास गर्ने ? – पहिलो कुरा त म यहाँको रैथाने हुँ । कुनै अन्य स्थानमा बसोबास भएर निर्वाचनको लागि मात्र आएको होइन । रैथाने भएपछि स्वभाविकरूपले राजनीति केन्द्रितमात्र मेरो दैनिकी छैन । यहाँको अर्मपर्म, बिहेबटुलो, मराउपराउ वा यस्तै समाजिक जीवनसँग दैनिकरूपले बाँचिरहेको छु । अर्काे कुरा, म रैथाने भएकोले मैले गरेको प्रतिबद्धता पूरा नगरे तपाईंले मलाई बाटोमा वा चिया पसलमा भेटेर पनि प्रतिबद्धता के भयो भनेर सोध्न सक्नुहुन्छ । अथवा, घरैमा आएर सोध्न सक्नुहुन्छ । रैथाने हुनु भनेको समाजको दैनिकीसँग जोडिनु हो, रैथानेलाई प्रश्नबाट भाग्न सजिलो छैन ।
तपाईको निर्वाचन क्षेत्र सुनसरी १ का विशेषता के के हुन् ?
सुनसरी १ को विशेषता भूगोलको हिसाबले पहाडी र मधेसी मूलको बस्ती छ । जातीय वा सांस्कृतिक हिसाबले हेर्दा आदिवासी र खस आर्य समुदायको बसोबास रहेको छ । जस्तो कि धरानलाई हेर्ने हो भने पहाडी आदिवासी समुदाय हुनु यसको विशेषता हो भने वराहनगरपालिकाका क्षेत्रहरूमा पहाडी खस आर्य समुदायको वर्चश्व छ । यसैगरी रामधुनीका क्षेत्रहरूमा तराईमूलका आदिवासीहरू छन् । अर्थात्, आदिवासी र खस आर्य समाजको मिश्रण छ । तीन स्थानको साझा चरित्र भनेको तीनै स्थानमा नाम चलेका धार्मिक आस्थाका केन्द्रहरू हुनु हो । यो फरक विशेषताबीच भएका साझा चरित्रलाई सम्पत्तिको रूपमा विकास गरेर लान सकिन्छ । फरक भूगोलमा भएका फरक जातीय समुदायबीच सांस्कृतिक सद्भावमा जोड दिन आवश्यक छ ।
तपाईले आफ्नो निर्वाचन क्षेत्रमा गर्नै पर्ने कामहरु के के देख्नुभएको छ ?
यो पनि भूगोलअनुसार काम गर्नैपर्ने कुराहरू फरक छन् । जस्तो धरानमा मुख्यतः खानेपानी र सुकुम्बासी व्यवस्थापनको समस्या हो । यसमा भन्नै पर्ने अर्काे कुराचाहिँ धरान–२० पहाडी भूगोल भएकोले यसको विशेषता अलि फरक छ, यहाँ सडक सञ्जालको स्तरोन्नति र विस्तार गर्न आवश्यक छ । वराहक्षेत्रको लागि धरान हुँदै चतरा जाने सडक र नडाहा जाने सडक निर्माण गरिहाल्नु पर्ने अवस्था छ । यसैगरी चतराबाट सूर्यकुण्ड, चियाबारी, विष्णुपादुका हुँदै धरान जोड्ने सडक सञ्जाल बनाउन आवश्यक छ । वराहक्षेत्रको कतिपय स्थानमा पनि पानीको समस्या छ भने रामधुनीतिर डुबानको समस्या छ । रामधुनीमा मुख्यगरी भेडीगाउँ, मैनी, बक्लौरी, पञ्चायन, हरियाली हुँदै धरान जोड्ने बाटो प्रमुख देखिन्छ भने सेउती करिडोर र सेउती तटबन्धनको कार्य प्रमुख हो । यसैगरी वराहक्षेत्र र रामधुनी भएका जलस्थलहरूलाई व्यवस्थित गर्ने र पर्यटकीय क्षेत्रको रूपमा विकास गरेर लान पर्ने अवस्था छ । पछिल्लो समयमा हात्तीको आतङ्क छ, यो समस्यालाई पनि गम्भीर ढङ्गले लिएको छु ।
तपाई धरान–१७ को वडाध्यक्ष हु“दा गरेका उल्लेख्य कामहरु के के छन् ?
तपाईंले सोधिहाल्नु भो, मैले गरेको काम मैले भन्नुभन्दा पनि धरान–१७ वडावासीले अनुभूत गर्ने कुरा हो । मुख्यगरी मैले वडा–१७ वासीको आन्तरिक जीवनलाई भावनात्मकरूपले एकताबद्ध गराएको छु । यही कारणले मैले दुई पटक निर्वाचन जितेको हुँ । अनि पूर्वाधार विकासको कुरा गर्ने हो भने धरानमा पहिलो बगैंचासहितको चार लेनको सडक मेरो कार्यकालमा बनेको हो । धरानमा रहेको एकमात्र सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र मेरो कार्यकालमा धरान–१७ मा स्थापना भएको हो । हराईजन क्लबले आयोजना गर्ने राष्ट्रिय स्तरको बास्केटबल प्रतियोगिता गर्ने मेरो वडा हो, धरानको गहना बनिरहेको गोधुली फुटबल प्रतियोगिताको आयोजक मेरो वडा हो, वडामा दुई ठाउँ सार्वजनिक शौचालय बनाउने वडा मेरो वडा हो । मैले व्यक्तिगत पहलमा धरान–१७ को एकल तथा दलित महिला जानुका विकको घर बनाइदिएको छु । किरात राई समुदायको संस्कृतिसँग जोडिएको साकेला पार्क मेरो वडामा पर्छ, जहाँको भौतिक पूर्वाधारमा वडाको लगानी रहेको छ । करिब ६ करोडको योजना रहेको सरस्वती ढल तथा करिडोर निर्माण, कोभिडको समयमा सचेत नागरिक समाज धरान–१७ को नेतृत्वसँग वडाले सहकार्य गरेर खाद्यान्न वितरण गर्ने, धरान–१७ मा क्वारेन्टाइन राख्ने र अप्ठ्यारोमा परेकाहरूलाई दैनिक ३ सय ५० जनालाई ४६ दिन खाना खुवाएको जस्ता थुप्रै कार्यहरू छन् । सानातिना कामहरूको त लामो सूची नै बन्छ, म त्यतातिर जान चाहिनँ ।
अन्त्यमा केही भन्नु छ ?
यो निर्वाचन खासमा भूगोल र मन जोड्ने उपयुक्त अवसर हो । म भूगोल र मन जोड्न सक्ने खाकासहित उम्मेदवारको रूपमा उपस्थित भएको छु । तपाईं सम्पूर्ण मतदाताको भावनालाई सम्मान गर्न सक्ने उम्मेदवारको रूपमा छु । तसर्थ, आफ्नो अमूल्य मत ‘तारा’ चिन्हमा लगाएर मलाई अनुमोदन गरिदिनु हुन सबैमा हार्दिक आग्रह गर्छु ।





























