जनता समाजवादी पार्टीका अध्यक्ष अशोक कुमार राईले धरान उपमहानगरपालिकाका तत्कालीन नगर प्रमुख हर्कराज राईले कोशीको खानेपानी परियोजना अस्वीकार गरेको बताएका छन् ।

सोमबार धरानमा पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष राईले निवर्तमान नगर प्रमुख राईले ऋणमा खानेपानी नल्याउने भन्दै अस्वीकार गरेको बताएका हुन् । कोशी खानेपानी परियोजनाका लागि करिब ६ अर्ब रुपैयाँ बजेट आवश्यक पर्छ । परियोजनाअनुसार कुल लागतको २० प्रतिशत रकम धरान उपमहानगरपालिकाले व्यहोर्नुपर्ने थियो । तर, परियोजना कार्यान्वयनको चरणमा पुगेका बेला तत्कालीन नगर प्रमुख राईले मन्त्रालयलाई पत्र पठाउँदै अस्वीकार गरेका हुन् ।

अध्यक्ष राईका अनुसार उक्त पत्रमा 'ऋण चाहिँदैन, खोलाखोल्सीकै पानी खुवाउँछौँ' भन्ने उल्लेख थियो । उनले भने, 'खानेपानी परियोजना चाहिँदैन भनेर पत्र पठाइसकेपछि मैले अर्को विकल्प खोज्नुप¥यो ।' उनले कोशी खानेपानी परियोजना कुनै नेताको प्रतिबद्धता मात्र नभई धरानको आवश्यकता भएको बताए । प्रदेश सांसदमार्फत प्रदेश सरकार र मुख्यमन्त्रीसँग पहल गरेको बताउँदै उनले भने, 'नगरले २० प्रतिशत रकम व्यहोर्न नसके प्रदेश सरकारले नै बेहोर्ने प्रतिबद्धता मुख्यमन्त्रीबाट आएको थियो ।' कोशी खानेपानी परियोजना कार्यान्वयन नहुँदा धरानलाई धोका भएन भन्ने जिज्ञासामा अध्यक्ष राईले तत्कालीन नगर प्रमुख हर्कराज राईलाई नै सोध्न अनुरोध गरे ।

अध्यक्ष राईले कोशी खानेपानी परियोजनाबारेमा प्राविधिक यथार्थ कल्पनाभन्दा फरक हुने बताए । उनका अनुसार तमोर नदीको पानी सुरुङ मार्गबाट ल्याउने परिकल्पना गरिएको भए पनि त्यो सम्भव नभएको निष्कर्ष निकालिएको छ । उनले भने, 'सुरुङ मार्ग बनाउन १२ अर्बभन्दा बढी बजेट आवश्यक पर्ने रहेछ । साथै धरानभन्दा तमोरको पानीको सतह (वाटर लेभल) तल रहेकाले पानीको सतह उठाउन बाँध बनाउनुपर्ने हुन्छ । तर तमोरमा बाँध निर्माण गर्नु सुरुङ मार्गभन्दा पनि धेरै खर्चिलो हुने देखियो ।' यी प्राविधिक र आर्थिक कारणले तमोरबाट पानी ल्याउने योजना सम्भव नभएको र त्यसको विकल्पका रूपमा कोशीबाट पानी ल्याउने निर्णय गरिएको उनले बताए ।