विजयपुर । उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका-७ अधेरी जोगी टोलमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
सोमबार दिउँसो कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२५७ नम्बरको बस दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता निरञ्जन थापाका अनुसार दुर्घटनामा १५ जना घाइते भएका छन् ।
प्रवक्ता थापाले घाइतेमध्ये ६ जनालाई न्यूरो अस्पताल बिराटनगर रेफर गरिएको छ भने अन्यको जिल्ला अस्पताल उदयपुरमा नै उपचार भइरहेको बताए ।
त्रियुगा नगरपालिका ५ कुमारी चोककी २१ वर्षीया जेसिका बस्नेत, २३ वर्षीय रेशमा बस्नेत घाइते भएका छन् । उदयपुरगढी गाउपालिका ८ का १९ वर्षीय पवित्रा श्रेष्ठ, रौतामाई ७ का हरि बहादुर बस्नेत र उनका छोरा १७ वर्षीय तिलक बस्नेत घाइते भएका छन् । कटारी ४ का ५५ वर्षीया सोममाया परियार, कटारी ५ का ७८ वर्षीया दल बहादुर तामाङ घाइते भएका छन् । ताप्ली गाउपालिका ५ रुपाटरका २८ का सुवास नेपाल घाइते भएका छन् । ताप्लिकै २२ वर्षीया मनिका मगर, कटारी ४ सिम्लेका ३५ वर्षीया अनिता चौधरी घाइते भएका छन् । यस्तै, उदयपुरगढी ५ का ७३ वर्षीया सोम माया तामाङ, उनकी नाति १० वर्षीय दिपेश तामाङ घाइते भएका छन् । कटारी ४ का १५ वर्षीय प्रेम तामाङ, ताप्ली ५ का ४० वर्षीय घाइते भएका छन् । कटारी ४ सिम्लेका १५ वर्षीय सुजन तामाङ घाइते भएका छन् ।
बसका सहचालक कटारी नगरपालिका ३ का २७ वर्षीय नितेस बुढाथोकी घाइते भएका छन् ।
प्रवक्ता थापाका अनुसार सडकबाट करिब ५० मिटर तल खसेको थियो । उनले भने, 'चालक नियन्त्रणमा लिइएको छ । ब्रैक फेल भई अनियन्त्रित भएर दुर्घटना भएको भनेका छन् । अनुसन्धान बाँकी छ ।'
































