विजयपुर । धरान–६ पानबारी, सेहरा सूचना बस्तीकी इरा परियार हिउँदमा केही खुसीले बिताउँछिन् । तर बर्खा सुरु हुन लागेपछि उनका रात तनावपूर्ण बन्छन् । कतिबेला खोलामा बाढी आउला र घरसँगै बगाउला ! भन्ने चिन्ताले भरिन्छ । 

खोलातर्फ देखाउँदै उनी भन्छिन्, “समस्या त के सुनाउनुपर्छ र ? देखिएकै छ ।” सेहरा सूचना बस्तीमा करिब १५–२० घर छन् । निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूको आउजाउ बाक्लिँदै छ । यस पटक पनि विगतमा जस्तै आश्वासन दोहोरिएको छ, “खोलामा तटबन्ध हालिदिने, धनीपुर्जा दिलाउन पहल गर्ने ।” तर, परियारलाई उम्मेदवारका आश्वासनमा विश्वास लाग्न छाडेको छ । उनी भन्छिन्, “निर्वाचनमा सुकुम्बासीका समस्या समाधान गर्छौं भन्ने सुन्दै आएको दशकौं बित्यो ।” अभाव र बाध्यताले खोलाको छेउमा बस्नुपरेको उनको दुःखेसो छ । “चुनावका बेला काम भइहाल्छ है भन्छन्; त्यसपछि फर्केर आउँदैनन्”–उनी गुनासो गर्छिन् ।

धरान–६ पानबारी चारपाटे आहालका बासिन्दाका समस्या पनि उस्तै छन् । “धनीपुर्जा दिन्छौँ भन्छन्, निर्वाचित भएपछि फर्केर आउँदैनन् । मत माग्न आउँदा धनीपुर्जा दिलाउँछौँ भन्ने सुन्न थालेको धेरै भयो” स्थानीय टेकबहादुर मग्राती भन्छन्, “अब त आश छैन ।” धरान–११ का सुकुम्बासी बस्तीको अवस्था पनि फरक छैन । धरान–११ बानडाँडाकी दिलकुमारी विश्वकर्मालाई कहिले बस्तीबाट उठाइन्छ कि भन्ने चिन्ता छ । “धनीपुर्जा त परै जाओस्, निस्सा पनि आएको छैन । उठाउँछन् भन्ने पनि सुन्छु”–उनी भन्छिन् । 

धरान–१७ की सुर्जमाया राई सडक अव्यवस्थित हुँदा हुने सास्ती सुनाउँछिन् । “बर्खामा ड्रेनले बगाएर लैजाला जस्तो लाग्छ । हिउँदमा धुलोको समस्या । घर नम्बर त दिएको छ” धरान–५ की अमृता राई भन्छिन्, “खोलाको तटबन्ध छैन । निर्वाचनमा आउँदा सबै गर्दिन्छौं भन्छन्, तर फर्केर आउँदैनन् ।” धरान–६ देवीथान मार्गकी इन्द्रकला तामाङको समस्या अर्कै छ । “यहाँ बाँदरको समस्या धेरै छ । घरभित्रको खाना नै लग्छ । बारीको कमाइ सबै खाइदिन्छ”–उनी भन्छिन् । यसपटकका उम्मेदवारहरूले पनि आफ्नो स्थानीय प्रतिबद्धता पत्रमा सुकुम्बासी समस्या समाधान गर्ने उल्लेख गरेका छन् । 

नेपाली काङ्ग्रेसका उम्मेदवार सुजेन्द्र तामाङले ‘भूमिहीन सुकुम्बासीलाई भूमिपति बनाउन पहल’ गर्ने उल्लेख गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङ (सरिन) ले ‘भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबास भएकाहरूको पहिचान गरी सुरक्षित र उचित व्यवस्थापनमा नीतिगत पहल र यथाशक्य कार्यान्वयन’ गर्ने वाचा गरेकी छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार सूर्यबहादुर (मनोज) ले ‘भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबास व्यवस्थापन’ गर्ने उल्लेख गरेका छन् । नेकपा (एमाले) का उम्मेदवार टिकाराम लिम्बूले पनि सुकुम्बासी समस्या समाधान गर्ने उल्लेख गरेका छन् । श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राईले सुकुम्बासी समस्या समाधान र धनीपुर्जा वितरणका लागि पहल गर्ने उल्लेख गरेका छन् ।

भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न २०१३ सालदेखि हालसम्म २४ वटा आयोग गठन भइसकेका छन् । २०४६ सालपछि साढे तीन दशकमा मात्रै सरकारले १९ वटा आयोग गठन गरिसकेको छ । तर समस्या हल हुन सकेको छैन । आयोग राजनीतिक दलको भर्ती केन्द्र बनेको नेपाल बसोबास बस्ती संरक्षण समितिका अध्यक्ष कुमार कार्कीको दाबी छ । 

धरान नगरभित्रका करिब साढे १४ हजार जनालाई निस्सा वितरण गरेको छ भने करिब ४ हजारलाई दिन बाँकी छ । अहिले केन्द्रबाटै निस्सा भर्ने प्रणाली बन्द भएको छ । नेपाल सरकारको तथ्याङ्कअनुसार देशभर ११ लाख ८० हजार ७ सय ६१ भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी रहेका छन् । अध्यक्ष कार्कीका अनुसार ११ लाख ८० हजार ७ सय ६१ तथ्याङ्क वास्तविक छैन । कार्की भन्छन्, “तथ्याङ्कमा काठमाडौँ, भक्तपुर र ललितपुरको विवरण समावेश छैन । सुकुम्बासीलाई भोट बैङ्कका रूपमा प्रयोग गर्छन् ।” सुकुम्बासीलाई लालपुर्जा वितरण प्रक्रिया छिटो बनाउन आयोग खारेज गर्नुपर्ने उनको धारणा छ ।