विराटनगर । मोरङ कटहरी–२ आदर्श टोलकी धनु साह जब भात खान बस्छिन्, चामलका सितासँगै थालमा धुलोको पातलो पत्र जमेको देख्छिन् । घरअगाडि चिल्लो र फराकिलो चार लेनको सडकमा गाडी गुड्ने सपना बुनेकी धनुका लागि अहिले त्यही सडक ‘अभिसाप’ बनेको छ ।

“घरका झ्यालढोका चौबीसै घण्टा बन्द हुन्छन्, तर धुलोलाई केले छेक्दो रहेछ र ? थालमा मात्र होइन, ओछ्यानमा समेत धुलोको तह हुन्छ” उनी दिक्क मान्दै भन्छिन्, “हामीले विकास मागेका थियौँ, तर रोग र सास्ती पायौँ ।” विराटनगरसँगै जोडिएको कटहरी गाउँपालिका अहिले निर्वाचनको सरगर्मीले तातिएको छ । उम्मेदवारहरू चिल्ला गाडी र दलबलसहित भोट माग्न घरदैलोमा पुग्दैछन् । तर, कटहरी–२ आदर्श टोलका गुलाम मुस्सिफालाई भने चुनावी नाराभन्दा बढी चिन्ता आफ्नो पसलअगाडिको धुलोले दिएको छ । उनी कटहरी बजारमा खसीको मासु व्यापार गर्छन् । सडक खनेर अलपत्र छाडिएपछि उडेको धुलो सिधै पसलभित्र छिर्छ ।

“बाटो भत्काउनुअघि दैनिक ३ देखि ५ वटासम्म खसी बिक्री हुन्थ्यो” गुलाम भन्छन्, “अहिले धुलोले गर्दा मासु हेर्नै नसकिने हुन्छ, ग्राहक आउनै छाडे । ७–१० केजी मासु बेच्न पनि मुस्किल छ ।” ६ वर्षदेखि सुरु भएको हाटखोला–रङ्गेली सडक निर्माण अलपत्र पर्दा आफ्नो रोजीरोटी नै सङ्कटमा परेको उनको गुनासो छ । कटहरी चोककै अर्को कुनामा ६० वर्षीय दिलीप साह ३५ वर्षदेखि खाजा पसल चलाउँछन् । कुनै समय दिनकै ८ हजारसम्मको व्यापार गर्ने दिलीप अहिले हजार रुपैयाँको बिक्री नहुँदा चिन्तित छन् । “बिहानभरि मिहिनेत गरेर खाजा बनायो, दिनभरिको धुलोले सबै बर्बाद गरिदिन्छ” उनी भन्छन्, “सडक नबन्दा हाम्रो त जीवनयापनकै आधार खोसियो ।”

हुलाकी राजमार्ग अन्तर्गत रतुवा खोलादेखि केसलिया खोलासम्मको ४४ किलोमिटर सडक विस्तारका लागि २०७६ सालमा ३ अर्ब ६० करोडमा ठेक्का लागेको थियो । कटहरी खण्डको ६ किलोमिटरको जिम्मा ७६ करोडमा श्रेष्ठ कन्स्ट्रक्सनले पाएको थियो । तर, सम्झौता सकिएको दुई वर्ष बितिसक्दा पनि काम जम्मा २७ प्रतिशत मात्रै सकिएको छ ।

यो सडकले धुलो मात्र दिएको छैन, ज्यान पनि लिइरहेको छ । पछिल्लो २८ महिनामा यस खण्डमा मात्रै सडक दुर्घटनामा परी १४ जनाले ज्यान गुमाएका छन् भने १ सय ३९ जना घाइते भएका छन् । सडक नबनेपछि स्थानीयले धान रोपेर र सडक ठप्प पारेर विरोध पनि जनाए । हालै जिल्ला प्रशासन कार्यालयको पहलमा ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ, तर स्थानीयको कष्ट भने घटेको छैन ।

नेतालाई मतदाताको प्रश्न

कटहरी चोकमा जुत्ता–चप्पल सिलाउने अशोक राम मोचे दिनभर मास्क लगाएर काम गर्छन् । मास्क नलगाए धुलोले सास फेर्नै गाह्रो हुने उनको अनुभव छ । “धुलोले लुगा र शरीर त बिग्रिन्छ नै, स्वास्थ्य पनि खत्तम भइसक्यो” उनले भने, “अहिले नेताहरू भोट माग्न आउँछन्, हामी यो सडक देखाउँछौँ । अब आश्वासन दिनेलाई होइन, काम गर्नेलाई मात्र भोट दिने हो ।”

कटहरी–१ की प्रमिलादेवी कामत पनि चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरूलाई सोध्ने प्रश्न ठिक्क पारेर बसेकी छन् । २ दशकदेखि खाजा पसल चलाएकी प्रमिला भन्छिन्, “सडक बनाउन आन्दोलन ग¥यौँ, कसैले सुनेनन् । अब उम्मेदवारहरूलाई सोध्छौँ–हाम्रो सडक किन बनाउनुभएन ?” यो क्षेत्र मोरङ ४ यतिबेला राजनीतिको ‘हटस्पट’ बनेको छ । यहाँ तीन प्रभावशाली नेताहरूबीच त्रिकोणात्मक भिडन्त छ । अघिल्ला दुई निर्वाचनमा वाम गठबन्धनबाट जितेका माओवादी केन्द्रका नेता अमनलाल मोदी यसपटक ‘ह्याट्रिक’ गर्ने दाउमा छन् । तर, यसपटक उनलाई काङ्ग्रेस र एमालेले एक्लाएक्लै चुनौती दिइरहेका छन् ।

नेपाली काङ्ग्रेसका महामन्त्री गुरुराज घिमिरे आफ्नो संसदीय यात्रा तय गर्न तल्लीन छन् । विद्यार्थी राजनीतिबाट आएका र प्रखर वक्ताका रूपमा चिनिएका घिमिरेका लागि यो चुनाव राजनीतिक पुनरागमनको परीक्षा पनि हो । अर्कातर्फ, नेकपा (एमाले) ले पूर्वमन्त्री जीवन घिमिरेलाई मैदानमा उतारेको छ । स्थानीय तहको मत परिणाम हेर्दा एमाले यहाँ बलियो देखिए पनि प्रदेश सभामा पराजित भएका घिमिरेका लागि त्यो मत जोगाउन मुख्य चुनौती छ ।

यही त्रिकोणात्मक भिडन्तका बीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सन्तोष राजवंशीले युवा र असन्तुष्ट मत काट्ने डर ठूला दलमा देखिन्छ । १ लाख १९ हजार २ सय ५५ मतदाता रहेको यस क्षेत्रमा हालै भएको ग्रामथान उपनिर्वाचनमा माओवादीले जित हात पारेपछि मोदी केही उत्साहित छन् । तर, काङ्ग्रेस र एमालेको बलियो सङ्गठन र रास्वपाको उदयले नतिजा कसको पक्षमा जान्छ भन्न कठिन छ ।

चुनावी सभाहरूमा नेताहरूले विकास र समृद्धिका ठूला कुरा गरिरहँदा कटहरीका बासिन्दा भने धुलोबाट कहिले मुक्ति पाइएला भन्ने पर्खाइमा छन् । उनीहरूका लागि संसद्को बहसभन्दा आफ्नै घरअगाडिको ६ किलोमिटर कालोपत्रे सडक बढी महŒवपूर्ण बनेको छ । कटहरीका गुलाम मुस्सिफा भन्छन्, “जसले बाटो बनाउँछ, भोट उसैलाई जान्छ । यसपालि कुराले होइन, कामले मात्रै भोट पाइन्छ ।”