आफ्नै ठाउँमा स्वरोजगार सिर्जना गर्दै पुख्र्यौली पेसाको संरक्षणमा युवा पुस्ता सक्रिय हुन थालेका छन् ।
विदेशिने लहर बढिरहेका बेला भोजपुर नगरपालिका–५ बोखिमका ज्ञानेन्द्र विश्वकर्मा भने गाउँमै बसेर खुकुरी बनाउने कालिगड पेसामा लागेका छन् ।
बाबु–बाजेबाट सिकेको सीपलाई निरन्तरता दिँदै उनले यो पेसा अँगालेका हुन् । स्नातक तहसम्म अध्ययन गरेका विश्वकर्मा राम्रो अवसरको खोजीमा विदेश जाने सोचमा थिए । तर, पुख्र्यौली पेसा संकटमा पर्न थालेको देखेपछि उनले यही क्षेत्रमा काम गर्ने अठोट गरेको उनले बताए ।
‘म पनि विदेश जाने तयारीमा थिएँ ।’ उनले भने, ‘तर हाम्रो पुख्र्यौली पेसा हराउँदै गएको देखेपछि यसलाई जोगाउने निर्णय गरें ।’ पेसाको संरक्षणसँगै स्वरोजगार बन्ने लक्ष्यका साथ काम सुरु गरेको उनले बताए । ‘अन्य क्षेत्रमा पनि काम गर्न सक्थें, तर संरक्षणकै लागि यही पेसा रोजेको हुँ ।’ –उनले थपे ।
उनले सिरुपाते, कोथीमोडा, बाँसपाते, बुदुना र तीनपाटा आकारका भोजपुरे खुकुरी निर्माण गर्दै आएका छन् । मागअनुसार तरबार, कट्टी लगायतका सामग्रीसमेत तयार पार्ने गरेका छन् । परम्परागत शैलीमा हातैले निर्माण गरिने भोजपुरे खुकुरीको बजारमा छुट्टै पहिचान रहेको उनको भनाइ छ ।
गुणस्तरीय फलाम प्रयोग गरी मिहिनेतपूर्वक तयार गरिएका खुकुरी देशका विभिन्न जिल्लासम्म पुग्ने गरेका छन् भने केही सामग्री व्यक्तिगत मागअनुसार विदेशसमेत जाने गरेका छन् ।
खुकुरी निर्माण प्रक्रियामा कडा परिश्रम र समय लाग्ने भए पनि त्यसमा गर्वको अनुभूति हुने विश्वकर्मा बताए । ‘यो केवल पेसा मात्र होइन, हाम्रो पहिचान हो ।’ उनले भने, ‘यसैबाट आम्दानी गर्दै पेसालाई जोगाउने अठोट गरेको छु ।’
उनका अनुसार नयाँ पुस्तामा सीप हस्तान्तरण गर्न सके मात्र पेसा दीगो रूपमा जोगिन सक्छ । त्यसका लागि तालिम, प्रविधि र बजार व्यवस्थापनमा सहयोग आवश्यक रहेको उनको भनाइ छ । गाउँमै सञ्चालन भइरहेको उद्योगबाट उत्पादित सामग्रीलाई सिधै बाह्य बजारसम्म पु¥याउने व्यवस्था भए आम्दानी अझ बढ्ने उनले बताए ।
हाल कच्चा पदार्थको अभाव, मूल्यवृद्धि तथा सीमित बजार पहुँचले समस्या सिर्जना गरेको उनको गुनासो छ । कच्चा पदार्थको सहज उपलब्धता, आधुनिक उपकरण, सीप विकास तालिम तथा बजारीकरणमा राज्यको सहयोग भए कालिगड पेसा अझ व्यवस्थित र आकर्षक बन्ने उनको विश्वास छ ।
पुख्र्यौली सीपलाई निरन्तरता दिँदै नयाँ पुस्तालाई यसतर्फ आकर्षित गर्ने लक्ष्यसहित उनी निरन्तर रूपमा सक्रिय छन् । रासस
































