विजयपुर  । निर्वाचन नजिकिँदै जाँदा विभिन्न दलका नेता तथा उम्मेदवारहरू आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय देखिन थालेका छन् । जनता समाजवादी पार्टी (नेपाल) का अध्यक्ष तथा विघटित प्रतिनिधि सभा सदस्य अशोक कुमार राई पनि आफ्नो क्षेत्रमा आएका छन् ।

उनी सुनसरी क्षेत्र नं. १ मा आफ्नो पार्टीबाट उम्मेदवार बनेका नगेन्द्रबहादुर लिम्बू (पारघरी) को चुनावी माहोल बनाउन आएका हुन् । उम्मेदवार लिम्बूको पत्रकार भेटघाट कार्यक्रममा सोमबार धरानमा राई उपस्थित भएका थिए । उनी यस क्षेत्रका निवर्तमान सांसद भएकाले प्रश्नको घेरामा परे । उनलाई 'निर्वाचित भएपछि निर्वाचनमा मात्रै आइपुग्नुभएको हो?' जवाफमा अध्यक्ष राईले सामाजिक सञ्जालमा आफूलाई खोज्नेहरूलाई सङ्केत गर्दै भने, 'अशोक सामाजिक सञ्जाल स्टण्टबाजी गर्ने व्यक्ति होइन । आफूलाई सामाजिक सञ्जालमा खोज्ने भनेको रातदिनसँगै राख्न चाहनेहरू हो । रातदिनसँगै राख्न मिल्ने भए जनताले काठमाडौँ पठाउनु हुँदैन थियो ।' उनले थपे, 'जनताले मलाई काठमाडौँ पठाएको हो । त्यसैले म त्यहीँ बसेर काम गरेँ ।' प्रचार र 'स्टण्टबाजी'मा विश्वास नगर्ने बताउँदै उनले भने, 'म महिनामा एक पटक निर्वाचन क्षेत्रमा आएको छु । सायद म मिडियामा नआएको होला । मैले सेवा गर्नुपर्ने जनताबीच महिनामा एक पटक आइरहेको छु । कुनै बेला तीन महिनासम्म ढिलो भएको छ तर तीन महिनाभन्दा बढी ढिलो गरेको छैन ।'