विराटनगर । मोरङको जहदा गाउँपालिका–४ सोहल टोलमा एक महिलामाथि आफ्नै श्रीमान् र परिवारका सदस्यहरूले अमानवीय ढङ्गले कुटपिट गरेका छन् ।
२७ वर्षीया सविता मण्डललाई निर्घात कुटपिट गरेको आरोपमा उनका श्रीमान् ३५ वर्षीय अमित मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।
पीडित पक्षका अनुसार गत बिहीबार राति अमितले सविताको मुखमा कपडा कोचेर क्रूरतापूर्वक कुटपिट गरेका थिए । कुटपिटका कारण सविताको नाकको हड्डीमा गम्भीर चोट लागेको छ । उपचारपछि अहिले उनी माइती घरमा रहे पनि नाकबाट रगत बग्ने समस्या नरोकिएको आफन्तले बताएका छन् ।
सवितामाथि श्रीमान् अमितले मात्र नभई परिवारका अन्य सदस्यहरूले पनि आक्रमण गरेको खुलेको छ । घटनामा जेठाजु सन्दीप मण्डल, देवर रविशङ्कर मण्डल तथा सासू–ससुराको समेत संलग्नता रहेको पीडितकी बहिनी मधुकुमारी मण्डलले आरोप लगाइन् । “दिदीमाथि यसअघि पनि पटक–पटक हिंसा हुँदै आएको थियो, यसपटक त मुख थुनेर ज्यानै लिने उद्देश्यले कुटपिट गरियो” मधुकुमारीले भनिन्, “भागेर ज्यान बचाउन सफल भइन्, नत्र जे पनि हुनसक्थ्यो ।”
घटनापछि पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी उजुरी दिएका थिए । सोही उजुरीका आधारमा कुटपिटमा संलग्न श्रीमान् अमितलाई आइतबार पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले जानकारी दिए । डिएसपी चौधरीका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ र दोषीमाथि कानूनी कारबाही अघि बढाइनेछ ।
जहदा–६ ढेकीटोल माइती भएकी सविताका ५ र २ वर्षका दुई साना छोरीहरू छन् । श्रीमान् र घरपक्षको लगातारको शारीरिक र मानसिक यातनाका कारण उनी अहिले दुई सन्तानसहित माइतीको शरणमा छिन् ।
कोशी अस्पतालमा प्रारम्भिक उपचार गरिए पनि उनको स्वास्थ्य अवस्था अझै पूर्ण रूपमा सुध्रिएको छैन । समाजमा पटक–पटक दोहोरिने यस्ता घरेलु हिंसाका घटनाले सुरक्षा व्यवस्था र सामाजिक चेतनामाथि नै प्रश्न उठाएको छ । पीडित पक्षले घटनामा संलग्न अन्य सदस्यहरूलाई पनि तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।
































