विजयपुर । लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरान–८ तिनकुनेबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सुन्दरहरैचा नगरपालिका–४ का २१ वर्षीय सिजन अधिकारी र फेदाप गाउँपालिका–३ का २० वर्षीय नविन कडेल रहेका छन् ।

इटहरीबाट धरानतर्फ आउँदै गरेको प्र १–०२–०५५ प ११३२ नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिई चेकजाँच गर्दा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट ५ सय ९० क्याप्सुल ट्रामाडोल र ५ सय ९० ट्याब्लेट डिकोलिक बरामद गरेको हो । मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।