इनरुवा । सुनसरीका ५९ वटा मतदानस्थल अति संवेदनशील सूचीमा परेका छन् । अधिकांशजसो भारतसँग सीमा जोडिएका स्थानीय तहका मतदानस्थल अति संवेदनशील सूचीमा परेका हुन् ।
जिल्ला सुरक्षा समितिले तयार पारेको विस्तृत सुरक्षा योजनाअनुसार १२ वटा स्थानीय तहमध्ये सुनसरीको बर्जु, हरिनगर, देवानगञ्ज, कोशी र भोक्राहा गाउँपालिकालाई सुरक्षाको हिसाबले अति संवेदनशील ठानिएको छ ।
सीमावर्ती भेगमा पर्ने उक्त पालिकाका सबै मतदानस्थल सुरक्षाका हिसाबमा अति संवेदनशील रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
सुनसरीमा दक्षिणी भेगका अलावा दुहबी नगरपालिकाको ६ वटा मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको छ ।
त्यसैगरी गढी गाउँपालिकाको ३ वटा मतदान स्थल, इनरुवा–९ को ४ वटा मतदान स्थल र धरान–५ को हिमाली मा.वि.देउराली मतदानस्थल अति संवेदनशीलको सूचीमा परेका छन् ।
सुनसरी प्रशासनले निर्वाचन लक्षित सुरक्षाका हिसाबले विशेषगरी जिल्लाको दक्षिणी खुला नाकालाई नै मुख्य सुरक्षात्मक चुनौतीका रूपमा हेरेको छ ।
सोही अनुसार भारतीय समकक्षीसँगको समन्वयमा सीमा नाकामा कडाइ थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नाकाबाट हुने आवतजावत लक्षित गरी दुईतर्फी चेकजाँच बढाइएको प्रशासनले जनाएको छ । नाकाबाट हुनसक्ने शङ्कास्पद गतिविधि र आपराधिक प्रवृत्ति भएकाहरूबाट हुनसक्ने थ्रेटलाई मध्यनजर गर्दै सतर्कता बढाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताएका छन् ।
विशेषगरी जेन जी मुभमेन्ट र पुराना दलबीच देखापर्न सक्ने तिक्ततालाई मध्यनजर गर्दै आचारसंहिता कार्यान्वयन र सुरक्षा बन्दोवस्तीमा जोड दिइएको सुनसरी प्रशासनले जनाएको छ ।
जिल्लामा धार्मिक सद्भाव कायम राखिरहने, अबाञ्छित कार्य हुन नदिनेजस्ता कुरालाई ध्यानमा राखी निरन्तररूपमा सर्वपक्षीय र सर्वदलीय बैठकसमेतको आयोजना गरिरहेको प्रशासनले जनाएको छ ।
समग्र जिल्लाको शान्ति सुरक्षाका लागि नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगै निर्वाचन प्रहरी ड्युटीमा परिचालित भैसकेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
सुनसरी प्रहरीले समेत समग्र जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गर्दै जनशक्ति परिचालन थालिएको एसपी केशवकुमार थेवेले जानकारी दिएका छन् ।
चारवटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको सुनसरीमा फागुन २१ को निर्वाचनका लागि १ सय ६६ मतदानस्थल तोकिएका छन् । ५ सय ९१ मतदान केन्द्र कायम गरिएका छन् । ५९ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा समावेश रहँदा ६५ वटा संवेदनशील र ४२ मतदानस्थललाई सामान्य प्रकृतिका मतदानस्थलका रूपमा वर्गीकरण गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय सुनसरीका अनुसार फागुन २१ को निर्वाचनमा मत खसाल्न योग्य जिल्लाको कुल मतदाता सङ्ख्या ५ लाख ८० हजार ९ सय ४५ रहेको छ । निर्वाचन कार्यालयले निर्वाचन प्रयोजन लक्षित तयारी र बन्दोबस्तीको कार्यलाई तीव्र गतिमा अघि बढाइएको जनाएको छ ।
































