धरान १२ स्थित पब्लिक हाई स्कुलमा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शुक्रबार रोटरयाक्ट क्लब अफ धरान घोपा, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कलेज अफ डेन्टल सर्जरीको जनस्वास्थ्य दन्त विभागको सहकार्यमा शिविर सम्पन्न भएको हो ।
शिविरमा विद्यालयका २ सय जना विद्यार्थीहरू लाभान्वित भएको जनसम्पर्क अधिकृत सरु राय क्षेत्रीले जानकारी दिए । कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूलाई सामान्य दन्त परीक्षण उपलब्ध गराउनु हो । मुख सम्बन्धि स्वास्थ्य सचेतना, सही दाँत माझ्ने विधि, हात धुने तरिका तथा महिनावारी स्वच्छतासम्बन्धी स्वास्थ्य शिक्षा प्रदान गरिएको थियो । शिविरमा प्रतिष्ठानका जनस्वास्थ्य दन्त विभागका रेसिडेन्ट, इन्टर्नहरू र रोटरयाक्ट क्लबका ९ जना रोटरयाक्टरको सहभागिता थियो ।
शिविरमा विद्यार्थीहरूलाई दन्त रोगबाट बच्ने उपाय, दिनमा दुई पटक सही तरिकाले दाँत माझ्ने विधि, फ्लोराइडको प्रयोग, मुख स्वच्छता कायम राख्ने तरिकाबारे व्यावहारिक जानकारी प्रदान गरिएको थियो । कार्यक्रममा अध्यक्ष अभिषेक प्रधान, सचिव जीवन ठाकुर र रोटरयाक्टर प्रशंसा ज्ञवालीको सहयोग रहेको थियो ।































