विजयपुर । सुनसरी निर्वाचन क्षेत्र नं. १ का भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले सूर्यबहादुर भट्टराई (मनोज) लाई आगामी निर्वाचनमा सहयोग गर्ने बताएका छन् ।

शनिबार नेपाल बसोबास बस्ती संरक्षण समिति, धरान उपमहानगर समितिले पत्रकार सम्मेलन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार भट्टराईलाई समर्थन गर्ने जनाएको हो । समितिद्वारा जारी विज्ञप्तिमा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या नेकपाको घोषणापत्रमा स्पष्ट रूपमा समेटिएको र समाधानका लागि प्रतिबद्धता व्यक्त गरेकाले नेकपा उम्मेदवारलाई समर्थन गरेको जनाइएको छ । संरक्षण समितिका सुनसरी अध्यक्ष थाम्सेर लिम्बूले भने, 'नेकपाले सुकुम्बासीका मुद्दा ल्याएको छ । सरकारमा गएमा दीर्घकालीन समाधान गर्ने भनेकाले समर्थन गरेका हौं ।'

समितिका संस्थापक सदस्य राजकुमार राईले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले सुकुम्बासीलाई गरिखान नदिएको बताउँदै भने, 'नेकपाले हाम्रो मुद्दा बोकेको छ ।' उनले रास्वपालाई कुनै ठाउँमा मतदान नगर्न सुकुम्बासीलाई अनुरोध गरे । उनले भने, 'सबै ठाउँमा मतदान नगर्न आग्रह गर्छु । रास्वपाले जितेमा हाम्रो उठिबास गराउँछन् ।' उनले आफूलाई समितिको केन्द्रीय अध्यक्ष कुमार कार्कीले पत्रकार सम्मेलनमा पठाएको बताउँदै भने, 'राष्ट्रव्यापी रुपमा नेकपाका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेका छौँ ।' कार्की नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' सँग सहमति गरेर पत्रकार सम्मेलन गर्ने तयारीमा रहेको उनले बताए ।


विज्ञप्तिमा २०५७ सालदेखि सुनसरी जिल्लामा भूमिहीन तथा अव्यवस्थित सुकुम्बासीहरूको भूमि सहितको सुरक्षित बसोबास अधिकारका लागि साझा रूपमा आवाज उठाउँदै आएको संगठन रहेको उल्लेख छ । प्रजातन्त्रपछिका सात निर्वाचन, ३३ सरकार र १९ वटा सुकुम्बासी आयोग गठन हुँदा समेत राज्यले समस्या दीर्घकालीन रूपमा समाधान गर्न नसकेको विज्ञप्तिमा जनाइएको छ । समितिले बसोबासको आधारमा 'फास्ट ट्र्याक'बाट लालपुर्जा वितरण गर्ने नीति निर्माण गर्न माग गरेको छ । उक्त नीतिअनुसार भोगाधिकारका आधारमा स्थानीय तहको सिफारिसपछि जिल्ला नापी कार्यालयबाट नापजाँच गरी मालपोत कार्यालयमार्फत लालपुर्जा उपलब्ध गराउने व्यवस्था सुनिश्चित गर्न माग गरेको छ । सुनसरी-१ मा करिब १४ हजार घरपरिवार भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी रहेका छन् ।