विजयपुर । धरान उपमहानगरपालिकाका कार्यबाहक प्रमुख अइन्द्र विक्रम बेघाले अप्रशोधित र असंपादित सामग्री प्रकाशन, प्रशारण गर्दा समाज र राष्ट्र नै दुर्घटनामा पर्ने बताएका छन् ।

शनिबार धरानमा सम्पन्न निर्वाचन आचारसंहिता र सुरक्षित पत्रकारिता विषयक कार्यक्रममा कार्यबाहक प्रमुख बेघाले यूट्युब, फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालमा असंपादित, अप्रशोधित सामग्री प्रकाशन र प्रशारण गर्दा समाज र राष्ट्रलाई क्षति पुगिरहेको बताएका हुन् । कार्यबाहक प्रमुख बेघाले आधिकारिक समाचार छायाँमा परेको बताउँदै भने, 'छापा मिडियाको जमना सकियो भन्छन्, मलाई त्यस्तो लाग्दैन । छापा मिडियामा प्रमाणित गरेका तथ्यगत र वास्तविक सामग्री हुनाले दस्तावेजका रूपमा रहन्छ ।' उनले आफूले पनि गलत कार्य गरेमा तथ्यगत रुपमा बाहिर ल्याइदिन अनुरोध गरे । तर, उनले धरानमा गलत प्रचार बढि भइरहेको बताउँदै भने, 'प्रश्न नै पूर्वाग्रही हुन्छन् ।'

वरिष्ठ पत्रकार हर्ष सुब्बाले भने, 'नक्कली मिडियाले गर्दा मुलुक बिग्रने भयो ।' उनले पत्रकार आचारसंहिताबारे अद्यावधिक हुनुपर्ने बताए । उनले भने, 'राज्यका पहिलो, दोस्रो र तेस्रो अंग पक्षपातीपूर्ण हुने गरेको चर्चा हुन्छ । चौथो अंगले खबरदारी गर्नुपर्छ ।'

कार्यक्रम नेपाल पत्रकार महासंघ सुनसरी शाखाको आयोजनामा भएको हो । धरान उपमहानगरपालिकाको सहयोग र आर्थिक मामिला तथा कानून मन्त्रालय, कोशी तथा जिल्ला निर्वाचन कार्यालय, सुनसरी र नेपाल पत्रकार महासंघ कोशीको सहकार्यमा भएको हो । कार्यक्रमको सहजीकरण पत्रकार अमर खड्मा र देवेन्द्र कार्कीले गरेका छन् ।