विजयपुर। भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै पानीबोट सञ्चालन भएपछि यो पर्यटनको रोजाइमा परेको हो ।

पर्यटकीय, धार्मिक तथा ऐतिहासिक महत्व बोकेको यस क्षेत्रलाई गाउँपालिकाले संरक्षणसँगै पर्यटकलाई लक्षित गरेर आवश्यक पूर्वाधार निर्माण गरेको छ । अहिले आन्तरिक पर्यटकको आकर्षण बढेको छ । पर्यटकलाई लक्षित गरेर दुई वटा साना पानीबोटसमेत सञ्चालनमा ल्याइएको छ । पर्यटकलाई लक्षित गरेर 'पञ्चकन्या स्मृति उद्यान (पार्क)' निर्माण गरिएको छ भने आउने पर्यटकका लागि अन्य संरचनासमेत निर्माण भएका छन् । यो क्षेत्रलाई दिगो पर्यटन पूर्वाधारका रूपमा विकास गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।

उद्यानलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न वृक्षरोपण, फलैँचा, विश्रामस्थल निर्माणलगायतका पूर्वाधार विकासका कामहरू निरन्तर रूपमा अगाडि बढाइरहेको छ । स्थानीय तहले पोखरी तथा उद्यानलाई आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनसँगै शैक्षिक अवलोकन स्थलका रूपमा पनि विकास गर्ने योजना बनाएको छ । पोखरी नजिकै रहेको पञ्चकन्या मन्दिर पुनःनिर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ ।

पोखरीको प्राकृतिक सुन्दरताको दृश्यावलोकन गर्न आन्तरिक पर्यटकहरू आउने गरेको स्थानीयबासी सावित्रा फुयालले बताइन् । परापूर्वकालमा च्याङ्ग्रा आएर पोखरीको पानी खाने र दिनभर आराम गर्ने भएकाले यसको नाम 'च्याङ्ग्रे पोखरी' नामाकरण गरिएको स्थानीयवासीको भनाइ छ । पोखरीको पानी खडेरीमा पनि नसुक्ने स्थानीयवासीको भनाइ छ ।

यही पोखरीको नामबाट यहाँ च्याङ्ग्रे बजारसमेत लाग्ने गरेको छ । विश्राम गर्न, घुम्न, डुल्न, तस्बिर लिन र दृश्यावलोकनको भरपुर आनन्द लिन आन्तरिक पर्यटक आउने गरेको स्थानीयवासी राम पुलामी मगरले बताए । विभिन्न पूजाआजामा पोखरीकै छेउको पञ्चकन्या मन्दिरमा भक्तजनको जमघट हुने गरेको छ ।रासस