विजयपुर । सुनसरी जिल्लाका छुट्टाछुट्टै स्थानबाट लागू औषधसहित दुई जना पक्राउ परेका छन् ।
बिहीबार इटहरी उपमहानगरपालिका-४ स्थित आईतबारे टोलबाट उर्लाबारी नगरपालिका-१० का १९ वर्षीय आकाश कार्की पक्राउ परेका हुन् । उनी इटहरीमै कोठा भाडामा बस्दै आएका थिए । प्रहरीले उनको कोठामा खानतलासी गर्दा ३ दशमलव ५८ ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ । त्यसैगरी धरान उपमहानगरपालिका-१५ का २३ वर्षीय दिनेश राईलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनको कोठाबाट ट्रामाडोल २१८ क्याप्सुल र स्पास्पेन २१८ ट्याब्लेट बरामद भएको प्रहरीको भनाइ छ ।
लागू औषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।




























