विजयपुर । स्वर्गीय भूपेन्द्रराज (भूवन) मोक्तानको कविता सङ्ग्रह 'प्रतिज्ञा' लोकार्पण गरिएको छ ।
शनिबार धरान-७ स्थित भूपेन्द्रराज मोक्तान ज्येष्ठ नागरिक स्मृति पार्कमा साहित्यप्रेमी, परिवारजन तथा स्रष्टाहरूको उपस्थितिमा मरणोपरान्त कृतिको औपचारिक लोकार्पण गरिएको हो । मोक्तानका छोरा असिम मोक्तानले बुवाको सम्झनामा कृति सार्वजनिक गरेको बताए । उनका अनुसार भूवनको साहित्यिक नाम 'भोटे साइला (रोगी)' थियो ।
ब्लाष्ट दैनिकका प्रधान सम्पादक राजकुमार कार्कीले भूवनसँगको बाल्यकालीन मित्रता सम्झँदै भने, 'हामी एउटै थालमा खाना खान्थ्यौँ ।' उनले भूवनलाई क्रान्तिकारी स्वभावका, सहयोगी र धरानको ऐतिहासिक दस्तावेजजस्तै व्यक्तित्व भएको बताए । विमोचन कार्यक्रममा कवि बम देवानले भूवन राणाकालीन समयदेखि नै धरानमा बसोबास गरेको बताए । उनले धरानको विकासमा मोक्तान परिवारको महत्त्वपूर्ण योगदान रहेको बताए । उनले भने, 'भोटेपुल नाम पनि मोक्तान परिवार बसोबास गरेपछि रहन गएको हो ।' उनका अनुसार भूवन वामपन्थी राजनीतिबाट प्रभावित थिए । 'भूवन नरहे पनि 'प्रतिज्ञा' मरेको छैन', देवानले भने ।
भूवनका दाजु बल्छीराज मोक्तानले साहित्य लेखनमा राजकुमारको प्रेरणा रहेको बताए । उनले भने, 'भूवन उग्र कविता लेख्थे ।' उनले नेपाली समाजले व्यक्तिका नकारात्मक पक्ष मात्रै सम्झिने प्रवृत्ति रहेको उल्लेख गर्दै सकारात्मक पक्षबाट प्रेरणा लिनुपर्ने धारणा राखे । कार्यक्रममा सुदीप पाख्रिनले भूवनलाई विद्रोही कविका रूपमा चित्रित गरे । कार्यक्रमका वक्ताहरूले मोक्तानको साहित्यिक योगदान, सामाजिक चेतना र मानवीय संवेदनालाई कृतिमा प्रभावकारी रूपमा अभिव्यक्त गरिएको बताए । परिवारजनले मोक्तानको अधुरो सपना पुस्तकका रूपमा साकार भएको बताए ।
'प्रतिज्ञा' कविता सङ्ग्र्रहमा कल्पना गरेजस्तो होइन जिन्दगी, याद, मानवभित्रका दानवहरू, तिमीले मलाई अस्वीकार गरिदिए, मौलिकता र संस्कृतिको पर्खाइमा भानुभक्त, राजलाई गुनासो, प्रेम रोग, म मान्छे, खै के भयो सन्चो भएन, मुखियासाब, ठगिएकी बिचरी मनु, रितिएकी आँखाहरू र माया मेरो कविता लगायतका रचना समावेश छन् । २०७४ मा वडाध्यक्ष निर्वाचित भुवनको २०७५ साल जेठमा मृत्यु भएको थियो ।

























