विजयपुर । धरान उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख हर्कराज राईले कर नलिन निर्देशन दिएपश्चात स्थानीय थप मारमा परेका छन् ।

२०८२ बैशाख ३ गते राईले वडा नं. १३ को कार्यालयलाई 'निर्णय कार्यान्वयन नगर्ने' पत्र पठाउँदै एकीकृत सम्पत्ति कर नउठाउन निर्देशन दिएका थिए । धरान १३ अन्तर्गत पर्ने साविक बाभंगरा ९(क) र घोपा ७ (घ) र (ङ) का जग्गाहरुको एकीकृत सम्पत्ति कर संकलन तथा अन्य घरबाटो लगायतका सिफारिसहरू प्रदान गर्दा कर लिने सम्बन्धी विषयमा निर्णय कार्यान्वयन नगर्न पत्राचार गरेका थिए ।

धरान १३ का स्थानीय टिका राई सर्दु जलाधार जग्गामा नपरेका जग्गा रोक्का हुँदा समस्या भएको बताए । उनी भन्छन्, 'हाम्रो सर्दु जलाधारको प्रक्रियामा नपरेको जग्गा रोक्का गरेपश्चात समस्या भएको हो ।' उनका अनुसार निवर्तमान नगर प्रमुख राईले एकीकृत सम्पत्ति कर नलिन पत्राचार गरेपश्चात थप समस्या भएको हो । उनले भने, 'घर निर्माण, घर नक्सा पास, बैंकिङ कारोबार हुँदैन ।' जग्गाको सम्पत्ति देखाएर अध्ययन गर्न विदेश जान नपाएको तथा बैंकिङ ऋण नवीकरणसमेत नभएको स्थानीयको भनाई छ ।

धरान १३ वडाध्यक्ष नेत्र प्रसाद काफ्लेले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भूमि सुधार मन्त्रालयको रायअनुसार एकीकृत कर उठाइरहेको बताउँदै भने, 'निवर्तमान मेयरले रोक्का कर नलिन पत्राचार गरेपश्चात थप समस्या भएको छ ।'

पत्रमा 'सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले जलाधार क्षेत्र के कति र कहाँसम्म भनी सीमाङ्कन यकिन भइनसकेको, यकिन गराउनु भनी कुनै अदालती आदेश प्राप्त नभएको हुँदा माथि उल्लिखित जग्गा जलाधार क्षेत्र भनी बुझिने मानिने क्षेत्रका जग्गाको कुनै पनि कर नलिन' जानकारी गराएका छन् । 'अन्यथा कर लिने व्यक्ति स्वयं कानूनी दण्ड सजायको भागीदार हुने र सम्पूर्ण घटनाको जवाफदेही हुने व्यहोरासमेत जानकारी गराइन्छ ।' पत्रमा भनिएको छ ।