विजयपुर । झापा जिल्लामा चैते धानको रोपाइँ सुरु भएको छ ।
कृषि ज्ञान केन्द्रका अनुसार कचनकवल गाउँपालिका क्षेत्रबाट रोपाइँ थालिएको हो । चैतको दोस्रो सातासम्म जिल्लाभर रोपाइँ सम्पन्न हुने अनुमान गरिएको केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । उनका अनुसार परम्परागत खेती प्रणालीभन्दा मेसिनको प्रयोग बढ्दै जाँदा जिल्लामा धानखेती गर्ने तरिकामा परिवर्तन आएको छ । रोपाइँका लागि कतै बीउ तयार भइसकेको छ भने कतै बीउ राख्ने काम भइरहेको छ । जिल्लाका विभिन्न स्थानमा हाल १० वटा धान रोप्ने मेसिन (ट्रान्सप्लान्टर) सञ्चालनमा रहेका छन् ।
गत वर्ष झापामा करिब २० हजार हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएको थियो । तर, यस वर्ष किसानहरूको आकर्षण मकैखेतीतर्फ बढेकाले धानखेतीको क्षेत्रफल १५ देखि २० प्रतिशतसम्म घट्ने केन्द्रको अनुमान छ ।
गत वर्ष चैते धानको मूल्य प्रतिमन (४० केजी) रु ७०० मात्र रहेकाले किसानले उचित प्रतिफल पाउन सकेनन् । कम मूल्यका कारण धेरै किसान वैकल्पिक बालीतर्फ मोडिएको प्रमुख विष्टले बताए । 'गत वर्षको मूल्यकै कारण किसानको चैते धानखेतीतर्फ खासै ध्यान गएन', उनले भने । बीउ आपूर्ति गर्ने कम्पनीहरूले समेत यस वर्ष अपेक्षित रूपमा बीउ बिक्री हुन नसकेको बताएका छन् ।
जिल्लामा विशेषगरी 'हर्दिनाथ-१' जातको धान बढी लगाइँदै आएको छ । यसपटक भने मोरङस्थित आरजु राइस मिलले 'हर्दिनाथ-६' जातको धान प्रतिमन १ हजारमा खरिद गर्ने पूर्वसहमति गरेपछि किसानको आकर्षण उक्त जाततर्फ पनि बढेको छ । बिक्रीको सुनिश्चितता र तुलनात्मक रूपमा राम्रो मूल्य पाइने भएपछि 'हर्दिनाथ-६' तर्फ चासो बढे पनि धेरैजसो किसानले अझै 'हर्दिनाथ-१' लाई नै प्राथमिकतामा राखेका छन् ।
यसैबीच, कृषि ज्ञान केन्द्रको सहयोगमा जिल्लामा 'छरुवा धान' प्रविधिलाई पनि प्रोत्साहन गरिएको छ । केन्द्रले हरेक वर्ष नयाँ स्थान पहिचान गरी किसानलाई यो प्रविधि अपनाउन प्रेरित गर्दै आएको छ भने पुराना किसानले यसलाई निरन्तरता दिएका छन् ।रासस






























