विजयपुर । धरानका दलित अधिकारकर्मीहरूले ११ संगठनले दलित अधिकार ऐन निर्माण गरी कार्यान्वन गर्न धरान उपमहानगरपालिकामा माग गरिएको छ ।
कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघालाई संगठनसम्बद्ध 'दलित ऐन निर्माण परामर्श समिति' ले ज्ञापनपत्रसहित ध्यानाकर्षण गराएको हो ।
'स्थानीय सरकार सञ्चालन ऐनको दफा १०२ का आधारमा तत्काल धरान उपमहानगरपालिकामा दलित अधिकार ऐन निर्माण गरी कार्यान्वन गर्न धरान उप-महानगरपालिकामा कार्यरत राजनीतक दलका भातृ संगठन, जातीय संघ संस्था तथा सामाजिक संस्थाको सहभागितामा कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघासमक्ष ध्यानाकर्षण पत्र पेश गर्दछौं ।' ध्यानाकर्षणपत्रमा भनिएको छ ।
दलित समुदायको सामाजिक, आर्थिक सशक्तीकरण साथै सर्वाङ्गीण विकासका लागि कानूनी व्यवस्था गर्न संविधानत: व्यवथा गरिएको छुवाछूतविरुद्धको हक धारा २४, दलितको हक धारा ४०, सामाजिक न्यायको हक धारा ४२ र स्थानीय सरकार सञ्चालन ऐनअनुसार ऐन निर्माण गर्न आवश्यक रहेको ध्यानाकर्षणपत्रमा जिकिर गरिएको छ ।
ध्यानाकर्षणपत्र बुझ्दै कावा मेयर बेघाले ऐन बनाउने विषयमा आफू सकारात्मक रहेको भन्दै तोक लगाए । प्रशासन प्रमुखलाई तोक लगाउँदै उनले 'दलित अधिकार ऐन निर्माण प्रक्रिया प्रारम्भ गर्नू' भनेका छन् ।
यसअघि २०८० जेठ ३२ गते दलित विकास समिति गठन, समानुपातिक सहभागिता तथा प्रतिनिधित्वको व्यवस्थापन, परम्परागत कला, ज्ञान, सीप श्रम तथा दक्षतासम्बन्धि व्यवस्थालगायत मुद्दा समावेश ‘दलित सशक्तीकरण ऐन’ निर्माणका लागि धरान उपमहानगरपालिकालाई ड्राफ्ट बुझाइएको थियो ।



























