विजयपुर । कुवेतस्थित नेपाली राजदूतावासले कुवेत र इराकमा रहेका नेपाली नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।
दूतावासका अनुसार नेपाली नागरिकहरूले कुवेत र इराक सरकारद्वारा जारी गरिएका सुरक्षा सतर्कता सम्बन्धी निर्देशन र सूचनाहरू कडाइका साथ पालन गर्न अनुरोध गरेको छ । दूतावासले नेपालीहरूलाई 'सकेसम्म घरभित्रै बस्न, अत्यन्त जरुरी नपरेसम्म यात्रा नगर्न, सतर्क रहन र आफ्नो समुदायसँग नियमित सम्पर्कमा रहन' अनुरोध गरेको छ । साथै, दूतावासले हाल कुवेतको हवाई क्षेत्र बन्द भएकाले कुवेतबाट बाहिरिने वा प्रवेश गर्ने यात्रुहरूले सम्बन्धित एयरलाइन कम्पनीसँग सम्पर्क गरी आफ्नो यात्राको स्थिति सुनिश्चित गर्न भनेको छ । दूतावासले स्थानीय समाचार, अलर्ट, सरकारी आधिकारिक निर्देशन, सुरक्षित रहने उपाय, र आफ्नो कम्पनीको सुरक्षा निर्देशनसम्बन्धी नियमित जानकारी राख्न पनि आग्रह गरेको छ ।


























