विजयपुर । इजरायल र इरानमा भएका नेपालीलाई सतर्कता अपनाउन सरकारले अनुरोध गरेको छ ।

मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको उल्लेख गर्दै इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई सावधानी अपनाउन अनुरोध गरेको हो । शनिबार परराष्ट्र मन्त्रालयले 'एडभाइजरी' जारी गर्दै इजरायल र इरानका सम्बन्धित निकायहरूले जारी गरेका सुरक्षासम्बन्धी निर्देशन तथा सूचना कडाइका साथ पालना गर्न आग्रह गरेको छ । एडभाइजरीमा, 'सकेसम्म घरभित्रै बस्नुहोस्, सतर्क रहनुहोस्, आवश्यक सावधानी अपनाउनुहोस् र आफू रहेको स्थानको नेपाली समुदायसँग नियमित सम्पर्कमा रहनुहोस् । सम्बन्धित निकायको पूर्वस्वीकृति बिना अनावश्यक यात्रा नगर्नुहोस् । काठमाडौँस्थित परराष्ट्र मन्त्रालय, तेल अविवस्थित नेपाली राजदूतावास तथा दोहास्थित नेपाली राजदूतावाससँग नियमित सम्पर्कमा रहनुहोस्' भनिएको छ । इजरायल वा इरान भ्रमण गर्ने योजना बनाइरहनुभएका नेपाली नागरिकलाई हालको अवस्था सामान्य नहुँदासम्म आफ्नो यात्रा स्थगित गर्नसमेत मन्त्रालयले अनुरोध गरेको छ । अन्य मध्यपूर्वी देशहरूमा बसोबास तथा कार्यरत नेपाली नागरिकलाई त्यहाँको अवस्थाबारे निरन्तर जानकारी लिँदै सम्बन्धित देशका निकायले जारी गरेका सावधानीका उपाय पालना गर्न मन्त्रालयको अनुरोध छ ।