श्रीमान्को वियोगबाट प्रताडित नारीले आफ्नो दुःखलाई बिसाउन ‘पालाम’ लाई आधार बनाएको फिल्म हो–मिःम्लेनफुङ अर्थात् प्रेमफूल । वियोगी नारी झोलुङ्गे पुलमा बसेर आकाश चियाइरहेको अवस्थाबाट फिल्म सुरू हुन्छ ।
जसलाई देखेर समाजले थुक्छ । अपवित्र मान्छ । समाजबाट तिरस्कृत बनेकी पात्र हो हरि अर्थात् हरिमाया मादेन । कारगिल युद्धमा श्रीमान् मारिएका कारण उनलाई समाजले ‘पोइ टोकुवा’ ‘अलच्छिन’ जस्ता उपनामहरु दिएका छन् । एउटा विधुवा नारी समाजमा बाँच्न कति कठिनाइ हुन्छ भन्ने सन्देशलाई केन्द्रमा राखिएको छ ।
असफल प्रेम
फिल्ममा ‘कस्मेटिक’ प्रेम छैन । गाउँघरको अर्ग्यानिक प्रेम छ । तर ती प्रेम सफल छैनन् । केन्द्रीय पात्र हरिको प्रेम मात्रै असफल छैन । उनलाई मन पराउने तीनताले ठूले (जीवन केदेम) को प्रेम पनि असफल छ । उनले फिल्मको समापनमा भन्छन्, “यालाङ, केलाङ, हाक्पारे र ख्याली साम्लोमा कहिल्यै पछि परिन तर यो प्रेम चाहिँ हारेँ ।” हेन्छेबुङकी हरि सोल्टिनीलाई बाल्यकालदेखि नै बाँसुरी र यालाङको धुनले आकर्षित गर्न पुगेको छ । तर उमेर बढ्दै जाँदा त्यो प्रेमले सार्थकता पाउँदैन ।
हरिको पल्टने बुबाले विवाहका लागि पहिल्यै एक नम्बरीको छोरासँग गरेको वाचाले कथाले अन्तै मोड लिन पुग्छ । उनले आफ्नै सहपाठी छेवाङ तामाङसँग भागी बिहे गर्न पुग्छिन् । भारतीय सेनामा कार्यरत छेवाङको कारगिलमा मृत्यु भएपछि उनको प्रेम पनि असफल भएको देखाइएको छ ।
विधुवाको पीडा
हाम्रो समाजले विधुवालाई अझै पनि तिरस्कार गर्ने गरेका उदाहरणहरु देखिन्छन् । यहाँ पनि हरिले सानो उमेरमै विधुवा भएपश्चात् समाजबाट पाएको तिरस्कारको कथा बुनिएको छ । यतिसम्मकि लिम्बू संस्कृतिमा ‘बूढा टोकुवा’ भन्ने कुप्रथा नरहेको अवस्थामा सामाजिक अन्तरघुलनले त्यसलाई पनि भित्र्याएको र लिम्बू समाजमा त्यस्ता कुप्रथाले जरा गाड्न थालेको देखाइएको छ । निर्देशक रनवीर लिम्बू सेर्मा भन्छन्, “लिम्बू समाजमा विधुवा नारीले जतिजनासँग पोइल गए पनि हुन्छ । तर नयाँ सामाजिक अन्तरघुलनले कुप्रथाहरु लिम्बू समाजमा पनि आउँदै छ भन्ने देखाउन खोजिएको हो ।”
स्थानिक र लिम्बू परिचय
नेपाल बहुभाषिक देशमध्ये एक हो । यो फिल्ममा लिम्बू भाषाको अधिक प्रयोग छ । नयाँ पुस्ताका लिम्बूहरुका लागि पनि यो फिल्म नौलो हुन्छ । अझ अन्य भाषिकाका लागि त नौलो नै छ । फिल्मका संवादहरु तथा पालामहरु सबै लिम्बू भाषामै छन् भने त्यसलाई नेपालीमा अनुवाद गरेर राखिएको छ ।
ताप्लेजुङ सिकैचा–कुन्जारी, पाङभे, हेन्छेबुङ र वरुक्पा क्षेत्रमा फिल्म छायाङ्कन गरिएको छ । फिल्ममा लिम्बू संस्कृति, रहनसहन, चालचलन, पहिरनलाई देखाउन खोजिएको छ । कलाकारको पृष्ठभूमिमा आउने घरहरु, घरमा कोरिएका चित्रहरु, रातो माटोको प्रयोग आदिले फिल्ममा लिम्बू बिम्ब तथा प्रतीकको व्यापक प्रयोग देख्न सकिन्छ । अझ रमाइलो पक्ष भनेको कथानक, चरित्र, परिवेशहरु बिस्तारै अगाडि बढेको छ ।
लिम्बूको धाननाच, च्याब्रुङनाच, पालामहरुको गति एकदमै सुस्त हुन्छ । फिल्ममा ती पक्षहरुलाई निर्देशकले एकदमै ध्यान दिएका छन् । यी पक्षहरु लिम्बूको परिचय पनि हो । लिम्बूमा रहेको कुजात अर्थात् अन्तरजातीय बिहेलाई हत्तपत्त स्वीकार नगर्ने चलनलाई फिल्ममा देखाउन खोजिएको छ । निर्देशक सेर्मा भन्छन्, “लिम्बू त अधिक जातिवादी हुन्छ । छोरीचेलीले कुजातसँग बिहे गरो भने भित्री मनबाट स्वीकार गर्दैन हौँ ।”
रिदम नै पालाम
असफल प्रेम नै यो फिल्मको ‘रिदम’ हो । याक्थुङ जनजीवनमा प्रेम, सामाजिक बन्धन र आत्मसम्मानबीच चलेको सङ्घर्षलाई देखाउन खोजिएको छ । तीनताले ठूलेले चिठीमार्फत आमन्त्रण गरे पछि हरिमाया फेरि नजिकिएको देखाइन्छ । विगतको स्मृतिमा यालाङमा यसरी पोखिएको छ :
नाःकन्ना निःवा मेम्बेक्नाबा,
मिम्जिरे तु?क्खे मेन्धेःक्नाबा ।
(वर र पर मन नजावस है, मायाले दुःख छेक्दैन है ।)
चुँजिक्केन एच्छा साआमेम्बी,
तुम्मेन्दुम तुरुक्खे चाआमेम्बी ।
(जीवनमा एक्लै विधवा भएँ, नपाउनु दुःख साह्रै पाएँ ।)
यस्ता पीडाहरुलाई पोख्ने थलो बनेको छ–मेलाबजार । यसै पनि याक्थुङ जातिको पालाम अङ्कुराउने थलो नै मेलाबजार मानिन्छ । उनीहरु एकअर्काप्रति पालाममार्फत नै नजिकिन्छ । बिहे गर्नेसम्मको निर्णयमा पुग्छन् । तर पुरानो मान्यतामा अडान रहेकी तीनताले ठूलेकी आमाले पोइ मरेकी केटीलाई घरको बुहारी मान्न तयार नभएको वचनसँगै कथानकले ट्वीस्ट लिएको छ ।
पुनर्मिलनको सम्भावना जीवित रहेको बेला तीनताले ठूलेकी आमाको वचनले हरिमायाको आत्मसम्मानमा चोट पुग्दछ र जीवनभर बिहे नगरी बस्ने निर्णयमा पुगी फिल्म अन्त्य हुन्छ ।
केही कमजोरी
फिल्म कुन समय र कालखण्डको हो भनेर छुट्याउन दर्शकलाई गाह्रै पर्छ । यो फिल्मको नकारात्मक पक्ष हो । दशर्कलाई फिल्म हेरिरहँदा करिब ३०–४० दशकतिरको कथा हो कि भन्ने भान पर्न सक्छ । तर निर्देशक सेर्माका अनुसार फिल्म ६५ को दशकको सयमक्रमलाई लिइएको हो । यस्तै फिल्ममा लिम्बू समाजमा विधुवालाई अपवित्र मान्ने कुप्रथा कसरी भित्रियो ? भन्ने कुरालाई देखाउन सकिएको छैन । पात्र वा चरित्र, परिवेशहरुबाट पनि त्यो खुल्दैन । कारगिल युद्धमा मारिएको प्रसङ्ग आउनु र कथानकको समयक्रम फरक भएकाले दर्शकहरु झुक्किने सम्भावना अधिक छ ।
रैथाने कथा
गाउँघरमा हुने प्रेम, असफलता, सङ्घर्ष नै मिःम्लेन्फुङ्को कथानक हो । जहाँ मौलिकतालाई प्राथमिकतामा राखेर फिल्म निर्माण गरिएको छ । पहिलो पटक पर्दामा देखिएका पात्रहरु भए पनि अभिनयमा खारिएका झैँ लाग्छन् । मुख्य पात्र हरिले सशक्त भूमिकामा देखिएकी छन् । यस्तै तीनताले ठूलेको भूमिकामा देखिएका जीवन केदेमको अभिनय पनि खारिएको छ । उनी बाँसुरी बजाएर प्रेमको आमन्त्रण दिन्छन् । बाँसुरी प्रेमको प्रतीकको रुपमा उभ्याइएको छ । यसै पनि हिन्दू धर्मशास्त्रमा बाँसुरीसँग कृष्णको लीला जोडिएको छ । फिल्मको अन्य कलाकारहरुमा रेन्सा आङ्खेवा लिम्बू, कृष्ण लिम्खिम, कुमार लक्सम्वा, कमिता तुम्बापो, सनबहादुर मादेन, आइतरानी मादेनलगायत कलाकार छन् ।
































