धरान । इलामको माङ्सेबुङ गाउँपालिकामा सञ्चालित माङ्मालुङ चिया बगानका सञ्चालकहरूले करोडौं रुपैयाँ हिनामिना गरेको भन्दै पीडित शेयरधनीहरूले अदालत जाने तयारी गरेका छन् ।
शेयरधनीहरूले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरी सञ्चालकहरूले गिरिबन्धु टि स्टेटमा झैं नीतिगत रूपमै ठूलो भ्रष्टाचार गरेको आरोप लगाए । माङ्मालुङ चिया बगान बचाउ अभियानका उपत्यका संयोजक हिमाल राईले कम्पनीका अध्यक्ष किरण राई, कार्यकारी निर्देशक केदार लामिछाने, सदस्यहरू केन्द्र प्रसाई र मनिकुमार भण्डारीलगायतले सयौं शेयरधनीको लगानी कुम्ल्याउने षड्यन्त्र गरेको आरोप लगाए । उनले आम्दानी र खर्चको हिसाबकिताब फरक फरक पठाउने गरेको पाइएको बताए । उनले फोनसम्पर्कमा भने, “कम्पनी रजिष्ट्रारको कार्यालयमा एउटा हिसाबकिताब पठाउँदो रहेछ । यता शेयर धनीलाई अर्कै ।”
राईका अनुसार केन्द्र प्रसाईंको योजनामा अन्य शेयरधनीलाई जानकारी नदिई र विधिसम्मत प्रक्रिया मिचेर बगानको ८० रोपनी जग्गा बिक्री गरिएको उल्लेख गरे । शेयरधनी आङ्काजी शेर्पा र गोम्बा शेर्पाले सञ्चालक केन्द्र प्रसार्इंको योजनामा ‘माई होम माई गार्डेन’ शीर्षकमा सयौं व्यक्तिहरूबाट रकम असुल गरिएको भए पनि त्यसको कुनै पनि लगत नराखिएको खुलासा गरे । तत्कालीन अध्यक्ष किरण राईले एक पैसा पनि तलमाथि नगरेको प्रष्ट पारे । उनले आफ्नो जग्गा धितोमा राखेर उल्टो उद्योगमा लगाएको मान्छेले पैसा खायो भन्नु पूर्वाग्रही भएको बताए ।
“मूल कुरो भनेको हिसाबकिताब हो । जम्मै कुरा ठिकै छ । त्यस्तो गड्बडी गरेको छैन । गर्ने अवस्थाको पनि होइन हामी । त्यो उद्देश्यले लागेको पनि होइन । नेपालमै उद्योग गरौँ भनेर हामी लागेका हौं । मेरो झापामा भएको श्रीसम्पत्ति बैङ्कमा राखेर पैसा निकालेको छु” उनले फोनसम्पर्कमा भने, “सारा सम्पत्ति खन्याएर काम गरेको छु । म घोटाला गर्न बसेको हो र ?”
संस्थापक शेयरधनी बुद्धिबहादुर राई (बिबि राई) ले छानबिन गर्दा ९ करोड रुपैयाँभन्दा बढी रकम भ्रष्टाचार भएको दाबी गरे । छानबिन गर्न २०८० साल असार २३ गते गठन गरिएको ‘व्यवस्थापकीय सुझाव समिति–२०८०’ ले अध्यक्ष तथा कार्यकारी निर्देशकको नेतृत्वमा ९ करोड २१ लाख ६० हजार तीन सय ७५ रुपैयाँ बराबरको आय–व्यय अपारदर्शी देखिएको उल्लेख गरेको छ । राईको संयोजकत्वमा बनेको पाँच सदस्यीय समितिले कात्तिक १९ गते सञ्चालक समितिलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन अनुसार आ.व. २०७२/०७३ देखि आ.व. २०७८÷०७९ सम्म अध्यक्ष राई र कार्यकारी निर्देशक लामिछानेको नेतृत्वमा ९ करोड २१ लाख ६० हजार ३ सय ७५ रुपैयाँ बराबरको आय–व्यय अपारदर्शी देखिएको छ ।
“असोज १० गते हामीले प्रतिवेदन सकेको थियौँ । सञ्चालक समितिलाई कात्तिक १९ गते बुझायौँ । त्यहाँ ९ करोड २१ लाख ६० हजार तीन सय ७५ रुपैयाँ हिनामिना भएको देखिन्छ” उनले फोनसम्पर्कमा भने, “चिया बिक्री गरेको चाहिँ हिसाब नै लेखेको छैन । बिरुवाको बिक्री गरेको मात्रै देखाएको छ । दुई करोड १४ करोड रुपैयाँ श्रमिकलाई दिएको देखिन्छ । त्यो पनि श्रमिकलाई रकम दिएको हस्ताक्षर तथा ल्याप्चे पनि हानेको देखिँदैन । यसबारे सोध्दा जवाफै दिँदैन ।” २०५० असार २६ गते दर्ता भएको संस्थामा चार सय ९३ जना शेयर सदस्यहरू छन् । प्रतिवेदक राईका अनुसार काठमाडौँका साथीहरूले १४–१५ करोड बढी नीतिगत रूपमै अपचलन गरेको देखाएका छन् ।
कार्यकारी निर्देशक केदार लामिछानेले उनीहरूले दाबी गरेको कुरा नितान्त गलत रहेको बताए । उनले भने, “त्यो एकदमै नितान्त गलत हो । प्रमाणित गर्ने आधारहरू नै छैन ।” उनले उक्त विषयलाई कम्पनी रजिष्ट्रारको कार्यालयले पनि प्रमाणित नगरेको दाबी गरे । उनले छानबिन समिति नभई व्यवस्थापकीय सुधार समितिले आम्दानीलाई मात्रै हेरेर निर्णयमा पुगेको बताए । “आम्दानीलाई मात्रै हे¥यो, खर्च नहेरेपछि त आम्दानी आम्दानी मात्रै देखिने भो” उनले फोनसम्पर्कमा भने, “गतल आरोप हो । उहाँहरूलाई कम्पनी रजिष्ट्रारको कार्यालयले पनि साधारणसभा र सञ्चालक समितिले गर्ने विषयमा हामीले हेर्न मिल्दैन भनेर बोलिसकेको छ ।” यता उपत्यका संयोजक राईले कम्पनी रजिष्ट्रारको कार्यालयले साधारणसभाले गरेको निर्णयलाई खारेज गरिदिइसकेको बताए । “उच्च अदालतमा ३५ दिनभित्र जानू भनेर निर्णय आइसकेको छ । त्योअनुसार अर्को हप्ता हामी अदालतमा जाँदै छौँ” –उनले फोनसम्पर्कमा भने ।
यस्तै अध्यक्ष किरण राईले कम्पनी रजिष्ट्रारको कार्यालयले सभाले गरेको निर्णय खारेज गरेको भन्ने सुन्नमा आएको बताए ।
































