भद्रपुर । झापा मेचीनगरदेखि गौरीगञ्जसम्मको एक सय ४४ किलोमिटर लामो खुला सिमानाको फाइदा उठाउँदै गलत मानिसहरू नेपाल प्रवेश गर्ने भएकाले त्यसतर्फ निगरानीका लागि थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल, नम्बर ३८ रिजर्भ गण हेडक्वार्टर पाडाजुङ्गीबाट एक सेक्सन टिम थप परिचालन गरिएको हो । बङ्गलादेशबाट भारत हुँदै रोहिङ्ग्या समुदायहरू नेपाल प्रवेश गर्न लागेको भन्दै पूर्वी नेपालको सीमासहितका नाकामा थप सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ । टोली पुरानो मेची पुल, भान्सा खोला, तुर्केनी, झापा, गौरीगञ्जलगायतका क्षेत्रमा परिचालन गरिएको हो । विशेषगरी टिमले पुरानो मेची पुलसहित दायाँ–बायाँ भान्सा खोला, तुर्केनी, नकलबन्दालगायतका खुला क्षेत्रबाट पैदलै नेपाल छिर्ने मानिसहरूप्रति निगरानी गर्ने जनाएको छ ।

गण २ झापाका प्रमुखको कमाण्डमा जिल्लाका नाकाहरूमा सुरक्षा बढाइएको सशस्त्र प्रहरी बल २ नम्बर गणका एसपी तुलबहादुर भण्डारीले बताए । रोहिङ्ग्यामात्र नभई तेस्रो मुलुकबाट आउने मान्छेको निगरानी गरिरहेको र हालसम्म त्यस्तो नागरिक भारततर्फ पनि फेला नपरेको एसपी भण्डारीले जानकारी दिए ।  गलत मान्छेको आवत–जावत भए नभएको हेर्ने तथा मुख्य मार्ग नभएर दायाँ बायाँ भएर नेपाल छिर्ने मानिसहरूको परिचयपत्र हेर्नेलगायतका काम गर्ने गरेको जनाइएको छ ।

मेची पुलमा भारततर्फबाट नेपाल आउने सबैको परिचयपत्र अनिवार्य हेर्ने गरिएको छ । शङ्कास्पद मानिस फेला परे तत्काल नियन्त्रणमा लिने जनाइएको छ । पछिल्लो समय बङ्गलादेशमा हिंसा बढेसँगै भारतको बाटो हुँदै नेपालमा बङ्गलादेशीहरू प्रवेश गर्न सक्ने सूचना आएपछि केही महिना अघिदेखि स्थानीय प्रशासनले सतर्कता अपनाएको हो ।

बङ्गलादेशमा तनावपछि नेपालको सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएसँगै थप सुरक्षाकर्मी परिचालन गरिएको एकजना प्रहरी अधिकृतको भनाइ छ । बङ्गलादेशमा देखिएको राजनीतिक सङ्कट र हिंसाका कारण भारतको बाटो हुँदै अवैधरूपमा बङ्गलादेशी नागरिक नेपाल प्रवेश गर्ने सम्भावना रहेको छ । त्यसलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा क्षेत्रमा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । बङ्गलादेशीहरू भारतीय नागरिक (बङ्गाली) बनेर अवैधरूपमा नेपाल छिर्ने गरेको घटना बेला–बेला सार्वजनिक हुँदै आएको छ ।