धरान । लामो विवादपश्चात् बनेको धरान उपमहानगरपालिका–८ स्थित टर्मिनलसहितको आधुनिक बसपार्क सञ्चालनका लागि दुई पटक ठेक्का आह्वान गरे पनि ठेक्का लाग्न सकेको छैन । कात्तिक २ र मङ्सिर ४ गते दुई पटक ठेक्का आह्वान गरे पनि कुनै पनि कम्पनीले बोलपत्रअनुसार ठेक्का नहालेको पाइएको छ । 

धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्विकाप्रसाद चौंलागाईंले दोस्रो पटक खोलिएको ठेक्का पनि नलागेको बताए । “पछिल्लो समय पनि ठेक्का लागेन”–उनले भने । दुई–दुई पटक एक महिना र पन्ध्र दिनको अवधि तोकेर ठेक्का आह्वान गर्दा पनि ठेक्का नलागेको हो । बसपार्क सञ्चालन समितिका प्रमुख व्यवस्थापक रहेका धरान उपमहानगरपालिका राजस्व महाशाखाका अधिकृत खगेन्द्रप्रसाद खतिवडाले भने, “दुई पटक ठेक्का आह्वान गर्दा पनि बोलपत्रअनुसार कुनै कम्पनीले ठेक्का हालेनन् ।” ठेक्का आह्वानअनुसार नहालेका कारण धरान उपमहानगरपालिकामा आइतबार अनौपचारिक छलफल भएको उनले बताए । “आज अनौपचारिकरूपमा छलफल भयो । कार्यपालिकाले बैठक बसेर निर्णय गर्छ”–उनले भने । 

२०८१ असार ३० गते सम्पन्न भएको बसपार्क हालसम्म सञ्चालनमा आउन नसकेको हो । बसपार्क सञ्चालनमा नआउँदा भौतिक संरचना जीर्ण बन्दै जाने यातायात व्यवसायीहरूले बताएका छन् । धरान उपमहानगरपालिकाको असार ३२ गते बसेको कार्यपालिकाको बैठकले ठेक्का आह्वान गर्ने निर्णय पारित गरेको थियो । सोहीअनुसार कात्तिक २ गते एक महिनाको समयावधि तोकेर ठेक्का आह्वान गरिएको थियो । ठेक्का आह्वान गर्दा बोलपत्र हाल्ने ठेकेदार कम्पनीले मूल्य अभिवृद्धि करसहित वार्षिक एक करोड ४१ लाख रुपैयाँ बुझाउनुपर्ने शर्त राखिएको थियो । जसमा प्रत्येक दुई वर्षपश्चात् १० प्रतिशतका दरले वृद्धि गरिनुपर्ने प्रावधान राखिएको छ । 

यस विषयमा ब्लाष्टकर्मीको जिज्ञासामा प्रमुख व्यवस्थापक खतिवडाले भने, “रकमको विषयमा कार्यपालिकाले निर्णय गर्ला । अब फेरि रिटेन्डर हुन्छ ।” तर, अहिलेकै अवस्थामा ठेक्का आह्वान भएमा ठेक्का नलाग्ने सम्भावना जीवित रहेको छ । कार्यपालिका बैठक कहिले बस्ने भन्ने पनि अन्यौल रहेको छ । किनकि धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) चुनावी अभियानका कारण देशदौडाहामा छन् । बसपार्क सञ्चालनको लागि व्यवस्थापन गर्न प्रमुखको जिम्मेवारी तोक्ने अधिकार पनि नगर प्रमुख साम्पाङलाई नै तोकिएको छ । गत कात्तिक २३ गते बसेको कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको थियो । त्यसयता कार्यपालिका पनि कहिले बस्ने भन्ने अन्यौलता कायम छ । तर खतिवडाले भने, “यही मङ्सिरभित्र बस्नुपर्ने हो । समयावधि त पुगिसकेको हो ।” 

राजनीतिक दलका नेताहरू ठेक्का नलागेमा धरान उपमहानगरपालिकाले नै सञ्चालन गर्नुपर्ने बताउँछन् । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध सङ्घीय लिम्बुवान प्रान्तीय मञ्चका महासचिव भूपेन्द्रसुन्दर लावतीले भने, “ठेक्का नलागेको हो भने धरान उपमहानगरले नै सञ्चालनमा ल्याउनुपर्छ । बसपार्क सञ्चालनमा नल्याउँदा भानुचोक क्षेत्रमा दुर्घटना बढिरहेको छ । जाम पनि भइरहेको छ । दुर्घटना बढिरहने हो भने त्यसको जिम्मा स्थानीय सरकारले लिनुपर्छ ।”

हालसम्म बसपार्क कसरी सञ्चालनमा ल्याउने भन्ने विषयमा ‘गुरुयोजना’ निर्माण गरिएको छैन । जसले गर्दा पनि डेढ वर्षसम्म अन्यौलतामा बितेको थियो भने अझै कहिले सञ्चालन हुने भन्ने अनिश्चितता रहेको जनाइएको छ ।