भदौ २३ र २४ गते भएको जेन जी विद्रोहले मानवीय र भौतिक क्षति आँकलनभन्दा बाहिरको रह्यो । चाडपर्वको मुखमै भएको यो विद्रोहमा नेपाल आमाका कोखहरु रित्तिए । मानवीय क्षतिसँगै भौतिक क्षति पनि अपूरणीय रह्यो । देशका भौतिक सम्पदासँगै कयौँ दस्तावेजहरु जले । जुन इतिहासको कालरात्रिको रुपमा लिन सकिन्छ । २००७ सालयताको क्रान्तिमा यस्ता भौतिक संरचना तथा सम्पदाहरुमा क्षति पुगेको थिएन । १० वर्षे सशस्त्र द्वन्द्वको समयमा पनि यति विघ्न घाटा देशले बेहोर्नु परेको थिएन । ३६ घण्टाको बीचमा भयो । यो क्षति हुनुमा देशको शासकहरुको रवैया र कार्यशैली नै मुख्य कारक बन्यो । त्यो क्षतिको तथ्य सङ्कलन भइरहँदा फेरि बाढीपहिरोको अर्को वितण्डा देखियो । यसले थप मानवीयसँगै भौतिक क्षति पनि गर्यो । कयौँ स्थानहरुमा अहिले पनि बाटोघाटो तथा सडकहरु खुल्न सकेका छैनन् ।

असार, साउनका बेलामा पर्नुपर्ने पानी असोजको बेलामा परिदिँदा त्यसले राम्रैसँग क्षति पु¥यायो । शोकका बेलामा चाडबाड मानिरहेका नेपालीहरु थप अर्को शोकमा परे । दशैँलाई नै खल्लो बनायो । सबैभन्दा बढी इलाम जिल्लामा क्षति भोग्नु प¥यो । जहाँ मानवीय क्षति मात्रै हैन, भौतिक क्षति पनि आँकलन गरेभन्दा कयौँ गुणा बढी थियो । गतवर्ष पनि असोजका बेलामा परेको पानीले राम्रैसँग क्षति पुर्याएको थियो । यस वर्ष पनि असोजमै अविरल वर्षा भएका कारण अधिकांश क्षेत्र जलमग्न बन्यो । विशेषगरी वर्षा सिजनमा पर्नुपर्ने पानी असोज महिनामा परिदिँदा जलवायु परिवर्तनको असर कुन रुपमा देखिइरहेको छ भन्ने चित्रण गरेको छ । यो बेलामा किसानले मुरी उब्जाउ गर्ने बेलामा आएको यो किसिमको वर्षाले किसानलाई पनि खल्लो बनाइदियो । तराईका झापा, मोरङ, सुनसरीदेखि पश्चिमका जिल्लाहरुमा डुबानको समस्या विकराल छ । यसबाट पहाडी जिल्ला पनि अछूतो छैन । त्यस क्षेत्रमा वर्षाका कारणले भूस्खलन र पहिरो निम्त्याएको छ ।

यसले मानिसको दैनिक जीवनलाई नै तहसनहस बनाएको छ । उल्लासमय वातावरणमा रमाउनुपर्ने बेलामा मानिसहरु आफ्नो सुरक्षाका लागि दौडधूप गर्नुपर्ने अवस्थामा पुगेका छन् । कतिपय मानिसहरु आफ्नो गाउँघरबाट विस्थापित बन्न पुगेका छन् । दशैँका बेलामा पालमुनि बसेर दशैँ मनाउनुपर्ने बाध्यता छ । एक प्रकारले जनजीवन नै तहसनहस बनाएको छ । विगत वर्षहरुभन्दा यो वर्ष सरकारले केही सचेत गराएको थियो । टाढाटाढा यात्रा गर्नमा रोक लगाएको थियो । भूस्खलन हुने क्षेत्रहरुको पहिचान गरेको थियो । भलै रोक्न सक्ने अवस्था थिएन । सरकारले आफ्नो तर्फबाट केही गर्न खोजेको भए पनि पर्याप्त चाहिँ थिएन । मन्त्रीहरुले मानवीय क्षति नै नभएको भनी जिकिर गरिएको समाचारहरु बाहिरिएका थिए । तर यथार्थमा त्यस्तो थिएन । इलाममा मात्रै ३ दर्जनभन्दा बढी मानिसहरुको ज्यान गइसकेको थियो । मौसममा आएको फेरबदललाई केही आँकलन गरे पनि भनेजस्तो र सोचेअनुरुपको काम हुन सकेको थिएन ।

पछिल्लो समय जलवायु परिवर्तनको असरलाई मध्यनजर गर्दै नेपालले पाइला चाल्नुपर्ने देखिएको छ । अनियमित वर्षाले क्षति पु¥याउने अनुमान गरेर सोहीअनुसारको काम गर्न जरूरी देखिएको छ । समयमै यसको गहिराइलाई बुझेर ठोस कदम चालिएन भने भविष्यमा यो समस्या अझ विकराल बन्न सक्ने देखिन्छ । यसको दिगो समाधानका लागि दीर्घकालीन कदमहरु चालिनुपर्छ । त्यसका लागि दिगो पूर्वाधार निर्माणमा जुट्नुपर्छ । नदी तथा खोला किनारहरुमा स्थायी तटबन्ध निर्माण गर्नेदेखि लिएर पहिरो प्रभावित क्षेत्रहरुको पहिचान गरेर वृक्षरोपण गर्ने कामहरु तुरून्त थालिनु पर्छ । मौसम पूर्वानुमान प्रणालीलाई अझ बलियो र विश्वसनीय बनाउनुपर्छ । किसानको बालीको सुरक्षालाई ध्यान दिनुपर्छ । त्यसका लागि बिमा सुविधा सहज रुपमा उपलब्ध गराउनेतर्फ पाइला चाल्नुपर्छ । जनचेतना तथा जलवायु परिवर्तनको असरबारे सकेसम्म बढीभन्दा बढी जानकारी तथा चेतनाको विकास गर्न आवश्यक छ । स्थानीय समुदायलाई विपद् जोखिम न्यूनीकरणको तालिम तथा स्थानीय ज्ञानको प्रयोगलाई बढीभन्दा बढी प्रयोगमा ल्याउन आवश्यक छ । यस्ता कार्यहरु नगर्ने हो भने थप क्षति भोग्नुपर्ने देखिन्छ । यसकारण पनि समयमै सचेत भई दिगो योजना बनाउनेतिर लाग्नु नै अहिलेको लागि श्रेयष्कर हुन्छ ।